लामो समयदेखि मधुमेयका बिरामी गीतकार तथा संगीतकार शुक गुरुङको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । गुरुङकी श्रीमती जुनाका अनुसार गत पुस १९ गतेदेखि गुरुङको मृगौला र कलेजोमा पनि समस्या देखिनुका साथै उनले दृष्टिसमेत गुमाएका छन् । 'आँखैमा झलझली', 'छेक्यो छेक्यो', 'भाइटीकामा भेट्न', 'नरोए आमा', 'दोबाटोमा' तथा 'आँखाहरू' गीतका यी सर्जकले 'इशारा', 'इशारा-२', 'इशारा-३', 'निवेदन', 'सूचना' तथा 'विरानो माया' सहित १० वटा गीति एल्बम सार्वजनिक गरिसकेका छन् । उनको उपचारमा पोखराका संगीतकर्मी सन्तोष कोन्मेको नेतृत्वमा नगद १ लाख २९ हजार तथा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले १ लाख १४ हजार ९० रुपैयाँ हस्तान्तरण गरेका छन् ।