कैद र जरिवाना भएका व्यक्ति नभएको पुष्टि भएपछि पुनरावेदन अदालतको आदेशमा आइतबार चेतुराम कारागारमुक्त भएका छन् । अदालतको फैसला कार्यान्वयनका लागि परिचालन भएको टोलीले उनलाई चैताको नामबाट पक्राउ गरी अदालत पठाएको थियो । कोहलपुरका चैतालाई बाँके जिल्ला अदालतले २०६० कात्तिक २४ गते वन मुद्दामा ७ महिना कैद र १७ हजार ५ सय ५० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । चैता त्यसयता फरार रहँदै आएका छन् ।
फरार चैताको नामबाट चेतुलाई पक्राउ गरिएपछि पुनरावेदन अदालत नेपालगन्जमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो । अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपाने र अवधबिहारीप्रसाद सिन्हाको संयुक्त इजलासले उनलाई गैरकानुनी तरिकाले कारागारमा राखिएको ठहर गर्दै रिहा गरेको हो । 'अदालतबाट कैद सजाय र जरिवाना भएका व्यक्ति र पक्राउ गरी कारागारमा राखिएका व्यक्तिको नाम, ठेगाना तथा तीनपुस्ता नमिलेपछि रिहा गर्ने आदेश दिइएको हो,' अदालतका रजिस्टार दिलप्रसाद सापकोटाले भने- 'चेतुराम कारागारमुक्त भैसकेका छन् ।' पक्राउपछि उनलाई १७ हजार ५ सय ५० रुपैयाँ जरिवानासमेत तिर्न लगाइएको थियो ।
वनकटवा गाविस कार्यालयले चेतुराम पेडारीकै स्थानीय बासिन्दा भएको र कहींकतै बसाइँसराई नगरेको सर्जमिन पेस गरेपछि अदालतले नागरिकता, जिल्ला अदालतको कैद र जरिवाना असुलीको रेकर्ड तथा तीनपुस्ते खुल्ने कागज मागेको थियो, तर पक्राउ गर्ने टोलीले भने चेतुराम पक्राउ परेकै व्यक्ति भएको दाबी गर्दै आएको थियो ।
अदालतबाट रिहा गर्ने आदेश भएपछि चेतुराम घर फर्किर्एका छन् । उनले दुई सातासम्म अनावश्यक रूपमा कारागार बस्नुपरेको गुनासो गरेका छन् । 'म होइन भन्दाभन्दै पक्राउ गरेर अदालत लगियो । त्यहाँ जरिवाना पनि तिर्न लगाइयो । जेल पनि पठाए,' उनले भने, 'नाम मिलेकै कारण अनावश्यक दु:ख पाइयो ।'