साप्ताहिक संवाददाता
कन्जुमर इलेक्ट्रोनिक्स शो
अमेरिकाको लस भेगासमा सन् १९६७ देखि नै कन्जुमर इलेक्ट्रोनिक्स शो अर्थात् सिइएसको आयोजना हुँदै आएको छ । यो यस प्रकारको विश्वकै ठूलो इभेन्ट हो, जुन वर्षको सुरु अर्थात् जनवरी महिनामै सम्पन्न हुन्छ । यो वर्ष पनि गत जनवरी ६ देखि ९ सम्म सीइएस प्रदर्शनी सम्पन्न भयो । त्यसमा इलेक्ट्रोनिक्स र कन्जुमर टेकका विश्वका ठूला-ठूला कम्पनीले भाग लिन्छन् र विश्वका अत्याधुनिक ग्याजेटहरू प्रदर्शित गरिन्छन् । सिइएसमा हाई पर्फमेन्स अडियो, लाइफस्टाइल इलेक्ट्रोनिक्स तथा गि्रन टेक्नोलोजी पनि प्रदर्शित हुन्छन् । यो वर्ष यो मेलामा विभिन्न वस्तु सम्बद्ध इन्टरनेट, स्मार्ट होम, सेन्सर तथा वेरेबल प्रविधिले धेरैको ध्यान खिच्यो । १८ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त कन्भेन्सन सेन्टरमा ३ हजार प्रदर्शक सहभागी थिए ।
म्याकवल्र्ड आइवल्र्ड
एप्पल कम्पनीका पछिल्ला प्रविधिका बारेमा जानकारी राख्न चाहनेहरूका लागि अमेरिकाको सान फ्रान्सिस्कोमा म्याकवल्र्ड आइवल्र्डको आयोजना हुन्छ । यसवाट एप्पलका भावी उत्पादनका सम्बन्धमा अनुमान गर्न सकिन्छ । यहाँ ६० भन्दा बढी वर्कसप र फिल्म फेस्टिभलका साथै लाइभ म्युजिकसमेत प्रस्तुत हुन्छ । यो इभेन्टमा लगभग २५ हजार दर्शकले भाग लिन्छन् । यद्यपि यसपटक भने यो सम्मेलन हुनेछैन ।
गुगल आई/ओ
प्रत्येक वर्ष गुगलले अमेरिकाको क्यालिफोर्नियामा गुगलसँग सम्बन्धित प्रदर्शनी आयोजित गर्छ, जसलाई गुगल आई/ओ भनिन्छ । यसमा खासगरी गुगलले उत्पादन गरेका र उत्पादन गर्ने सम्भावना भएका विभिन्न सफ्टवेयर तथा हार्डवेयर प्रदर्शन गरिन्छ । यो वर्ष आगामी मे महिनामा यसको आयोजना हुँदैछ ।
मोबाइल वल्र्ड कांग्रेस
आगामी मार्च २ देखि ५ सम्म स्पेनको बार्सिलोनामा मोबाइल वल्र्ड कांग्रेसको आयोजना हुँदैछ । यसमा लगभग १ लाख सहभागी हुन्छन् । यो कांग्रेसमा आगामी दिनमा मोबाइल प्रविधिमा के हुदैछ र त्यसले हाम्रो जनजीवनमा कस्तो असर पुर्याउँछ भन्ने विषयमा हार्डवेयर, सफ्टवेयर तथा एप्स प्रयोग गरी विज्ञहरूद्वारा विभिन्न किनोट स्पिच उपलब्ध गराइन्छ । मोबाइल उद्योगका लागि यो एउटा महत्त्वपूर्ण गन्तव्य हो । गत वर्ष विभिन्न १ हजार ९ सय कम्पनीले ९४ हजार वर्गमिटर क्षेत्रफलमा दर्शकहरूलाई विभिन्न नयाँ प्रविधिमार्फत मनोरञ्जन प्रदान गरेका थिए । विश्वभरका ३ हजार ४ सय भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो प्रदर्शनीका वारेमा जानकारी प्रदान गरिरहेका हुन्छन् ।
सेबिट
जर्मनीको ह्यानोभरमा हुने सेबिट प्रत्येक वर्षको मार्च महिनामा हुन्छ । यो वर्ष मार्चको १६ देखि २० सम्म यो प्रदर्शनी हुँदैछ । ४ लाख ५० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो प्रदर्शनी स्थललाई संसारकै सर्वाधिक ठूलो डिजिटल, आइटी र टेलिकम्युनिकेसन इभेन्ट मानिन्छ । यो वर्ष ७ लाख दर्शक यसमा सहभागी हुने अपेक्षा गरिएको छ । यसलाई सेबिट प्रो, सेबिट ल्याब, सेबिट लाइफ तथा सेबिट गभर्मेन्ट गरी चार भागमा विभाजन गरिएको छ ।
कम्प्युटेक्स ताइपेइ
जून महिनाको २ देखि ६ तारिखसम्म ताइवानमा हुने कम्प्युटेक्स ताइपेई एसियाको सर्वाधिक ठूलो कम्प्युटर एक्जिविसन हो । यो वर्ष कम्प्युटेक्सले ३५ औं संस्करण सम्पन्न गर्नेछ । यो वर्ष पनि प्रदर्शनीमा विभिन्न प्रतिष्ठित कम्पनी, विशेषज्ञ, पत्रकार तथा सार्वजनिक जीवनका महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहनेछ । गत वर्षको प्रदर्शनीमा स्मार्टफोन र ट्याब्लेट मार्केट तथा नयाँ प्रविधिले अटोमोबाइलको बजारमा पारेको प्रभावका सम्बन्धमा जानकारी प्रदान गरिएको थियो ।
आइडिइएफ
फ्रान्सको केन्समा जून महिनातिर हुने आइडिइएफ अर्थात् इन्टर्याक्टिभ एन्ड डिजिटल इन्टरटेनमेन्ट फेस्टिभल वास्तवमा भिडियो गेम व्यवसायीहरूका लागि आकर्षक इभेन्ट हो । यो वर्ष आगामी जून ३० देखि जुलाई २ सम्म यो प्रदर्शनी हुँदैछ । केही वर्षमै यसले निकै लोकप्रियता कमाइसकेको छ । यसमा विश्वका प्रसिद्ध भिडियो गेम व्यवसायीहरू सहभागी हुन्छन् ।
सीटेक जापान
जापानको निप्पोन कन्भेन्सन सेन्टरमा हुने सीटेकलाई जापान लाइफस्टाइल एन्ड सोसाइटी, कि टेक्नोलोजीज तथा आइसिटी गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । गत वर्ष यसमा १ लाख ६० हजार दर्शक सहभागी थिए । यसमा प्रविधिले इनर्जीका क्षेत्रमा पारेको असर तथा त्यसलाई समाज सुधारमा लगाउनुका साथै मोबिलिटीमा ल्याउनुपर्ने सुधारका वारेमा समेत छलफल हुन्छ । सीटेकले आधुनिक जापानी प्रविधि तथा त्यसले कन्जुमर, लाइफस्टाइल र बिजनेसका क्षेत्रमा पारेको असरका सम्बन्धमा बुझ्न मद्दत गर्छ ।
ग्लोबल ह्याकाथन
आगामी जुलाई २९ देखि अगस्ट १ सम्म दक्षिण कोरियाको सोलमा ग्लोबल ह्याकाथन हुँदैछ । यो प्रदर्शनीमा विश्वका प्रतिष्ठित ह्याकरहरू भेला हुन्छन् । यसमा सरकार, व्यवसायी तथा ह्याकरहरूले आपसी छलफल गरी विश्वका विभिन्न औद्योगिक परियोजना एवं विश्व व्यापारका बारेमा आउने विभिन्न प्रविधि सम्बद्ध अप्ठ्यारोपनका सम्बन्धमा निष्कर्ष निकाल्छन् । यसमा २ हजारभन्दा बढी समस्यामा छलफल गरिन्छ ।
आईएफए
आगामी सेप्टेम्बर ४ देखि ९ सम्म जर्मनीको बर्लिनमा हुने इन्टरनेसनल फन्कस्टेलङ बर्लिन (आईएफए) मा कन्जुमर इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेजका क्षेत्रमा विकसित पछिल्ला प्रविधिका सम्बन्धमा छलफल गर्नसम्बन्धित उद्योगी तथा सञ्चारकर्मीका साथमा क्रेता, विक्रेता एवं विशेषज्ञहरू भेला हुन्छन् । यसमा १ सयभन्दा बढी देशका व्यापारी सम्मिलित भएको पाइन्छ ।
आइबिसी
सेप्टेम्बर १० देखि १५ सम्म नेदरल्यान्डको एम्स्टर्डममा इन्टरनेसनल ब्रोडकास्टिङ कन्भेन्सन (आइबिसी) को आयोजना हुँदैछ । इलेक्ट्रोनिक मिडिया, व्यवस्थापक तथा व्यवसायीहरू भेला हुने यो प्रदर्शनी सन् १९६७ देखि नै वाषिर्क रूपमा सञ्चालन हुँदै आएको छ । यसमा डिजिटल सिनेमा, अटोमेटिक वर्कफ्लोज, हाइ रिजोल्युसन क्याप्चर र डिस्प्ले तथा अनलाइन कन्टेन्ट जस्ता टेक मिडिया क्रिएसनका क्षेत्रमा विकसित भैरहेका पछिल्ला प्रविधिका बारेमा जानकारी लिन सकिन्छ ।
ले वेब
फ्रान्सको पेरिसमा आगामी डिसेम्बर १० मा ले वेबको आयोजना हुँदैछ । अहिले भैरहेको डिजिटल उपलब्धिलाई विश्लेषण गर्दै प्रविधि र व्यापारको भविष्य कस्तो हुन्छ भन्ने विषयमा यहाँबाट धेरै कुरा थाहा पाउन सकिन्छ । यो सम्मेलन विभिन्न ब्रान्ड, टेक गुरु, कम्पनी स्टार्टअप र मिडिया भेला हुने, सिक्ने तथा आइडिया विकास गर्ने थलोका रूपमा सुपरिचित छ ।
वेरेबल टेक्नोलोजीसम्बन्धी प्रदर्शनीहरु
हाल प्रविधिका क्षेत्रमा वेरेबल टेक्नोलोजीले बाहुल्यता जमाउँदैछ । पछिल्लो समयमा प्रविधिका क्षेत्रमा चिनिएका गुगल, एप्पल, सामसुङ आदि कम्पनीले समेत यस्ता प्रविधि बजारमा ल्याउने क्रम जारी राखेका छन् । भविष्यमा वेरेबल टेक्नोलोजीले बजार कब्जा गर्ने सम्भावना बढेको छ । शरीरमा लगाइने घडी, फिटनेस ट्रयाकर मात्र होइन, नयाँ-नयाँ प्रविधियुक्त ग्याजेटहरू निर्माण भैरहेका छन् ।
वेरेबल डेभलपमेन्ट टेक्नोलोजी एक्स्पो जापान
जापानको रिड एक्जिविसनले आयोजना गर्ने यो प्रदर्शनीमा वेरेबल टेक्नोलोजी तथा त्यससँग सम्बन्धित सबै पक्षका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । गत जनवरी १४ देखि १६ सम्म पहिलो पटक आयोजित यो प्रदर्शनीमा १ हजारभन्दा बढी प्रदर्शक सहभागी थिए ।
वेरेबल टेक्नोलोजिज कन्फ्रेन्स, युरोप
आगामी फेब्रुअरी २ र ३ मा जर्मनीको म्युनिखमा सम्पन्न हुने यो कन्फ्रेन्समा वेरेबल टेक्नोलोजीका क्षेत्रमा भैरहेका पछिल्ला प्रविधिका बारेमा छलफल हुनेछ । प्रत्येक वर्ष हुने वेरेबल टेक्नोलोजी कन्फ्रेन्सको यो वर्ष १४ औं संस्करण हो । यसमा वेरेबल प्रविधिका विश्वस्तरका प्राविधिविज्ञहरू सम्मिलित हुन्छन् ।
द वेरेबल टेक्नोलोजी शो, लन्डन
आगामी मार्चको १० र ११ का दिन सम्पन्न हुने यो शो लन्डनमा हुनेछ । यसमा वेरेबल टेक्नोलोजी, मेडिकल पर्फमेन्स, स्पोर्ट एन्ड फिटनेस, स्मार्ट टेक्स्टाइल र फेसन, स्टार्ट अप थिएटर आदि विभिन्न ९ क्षेत्रका बारेमा छलफल तथा प्रदर्शनी हुन्छ ।
वेरेबल टेक्नोलोजी कन्फ्रेन्स, सान्ता क्लारा
यो कन्फ्रेन्स अमेरिकाको सान्ता क्लारामा आगामी मार्चको ९ देखि ११ तारिखसम्म हुँदैछ । यसमा विशेषगरी वेरेबल कम्प्युटिङ टेक्नोलोजीका बारेमा जानकारी प्रदान गरिन्छ । यसमा वेरेबल र त्यससँग सम्बन्धित व्यक्तिहरूका बीचमा नेटवर्क कायम गर्नुका साथै आगामी दिनमा हुने विकासका बारेमा जानकारी लिन सकिन्छ ।
वेरेबल टेक्नोलोजी लाइभ युरोप
यो प्रदर्शनी जर्मनीको बर्लिनमा अप्रिल २८ र २९ तारिखका दिन हुँदैछ । प्रदर्शनी वेरेबल टेक्नोलोजी, तिनको प्रयोग एवं व्यापारिक सम्भावनामा केन्दि्रत हुन्छ । यसमा २ सयभन्दा बढी स्पिकरले आफ्नो ज्ञान आदानप्रदान गर्छन् ।
स्मार्ट फेबि्रक्स एन्ड वेरेबल टेक्नोलोजी
यो प्रदर्शनी अमेरिकाको सान फ्रान्सिस्कोमा मे महिनाको ११ देखि १३ तारिखसम्म हुनेछ । यसमा पर्सेप्सन टेक्नोलोजी अन द बडी, मास कस्टमाइजेसन, थि्रडी प्रिन्टिङ, वेरेबलका लागि विभिन्न चुनौती आदिका बारेमा छलफल हुन्छ । स्मार्ट फेबि्रक्स तथा वेरेबल टेक्नोलोजीका बीचमा नेटवर्क कायम गर्न यो प्रदर्शनी निकै उपयोगी सावित भएको छ ।
वेरेबल टेक्नोलोजी एक्स्पो नेटवर्क
जून २ देखि ४ सम्म हुने यो एक्स्पोमा वेरेबल टेक्नोलोजीका बारेमा गहिराइका साथ छलफल हुन्छ । यसमा लाइभ डेमोसमेत गरिन्छ । अर्बौं डलर लगानी भएको यो उद्योगलाई यहाँ नजिकबाट अध्ययन गर्न सकिन्छ ।