साप्ताहिक संवाददाता
कथा सुरु हुन्छ दक्षिण भारतबाट आएका स्वामी ज्ञानानन्द र तान्त्रिक लम्बकर्ण भट्टको सल्लाहअनुसार राजा प्रताप मल्लले आफ्ना चारै भाइ छोरालाई एक-एक वर्षका लागि राजा बनाउने निर्णय गरेपछि । राजाको निर्णयअनुसार पार्थिवेन्द्र, नृपेन्द्र र महिपतेन्द्र मल्लले एक-एक वर्षको शासन काल पाएपछि कान्छा चक्रवतर्ेेन्द्र मल्ल राजा भएको चार दिनमै बिते । उनकी आमा तथा आफ्नी कान्छी महारानी रुपमतीको चित्त बुझाउन राजाले रानीपोखरी खनाउनुका साथै ती रानीलाई राज्य सञ्चालनको सारा अधिकार सुम्पिदिए । कुरा यहीँनिर बिग्रियो । आफ्नी सौताले राजकीय अधिकार पाएपछि जेठी महारानी राजमतीलाई डाहा हुन्छ । राजा प्रताप मल्लले ती दुवै महारानीसँग कुचविहारबाट एकैसाथ डोला झिकाएर विवाह गरेको भए पनि उनीहरूबीचको सम्बन्ध त्यति राम्रो थिएन । त्यसमाथि राजाले कान्छी महारानीलाई अधिकार दिएपछि जेठी महारानीको पेट पोल्नु स्वभाविक थियो ।
डाहाले जलिरहेकी जेठी महारानीको घाउमा मल्हम लगाउन देखा पर्छन्- तत्कालीन काठमाडौंको सत्तामा हालीमुहाली गर्दै आएका काजी लक्ष्मीनारायण जोशी । काजीले आफूप्रति सद्भाव देखाएपछि जेठी महारानीको मनमा काजीमार्फत नै कान्छी महारानी र राजासमेतसँग रिस फेर्ने कुत्सित भावना जाग्न पुग्छ । यही क्रममा काजी र जेठी महारानी मनले मात्र होइन तनले पनि मिल्न पुग्छन् । उनीहरूको सम्बन्ध कतिसम्म गहिरो हुन पुग्छ भने जेठी महारानीको आदेशमा काजी लक्ष्मीनारायण जोशी राजाका विरुद्ध नै षड्यन्त्र गर्न थाल्छ ।
उनको दाउ राजा प्रताप मल्लको राज्यसत्ता नै उल्टाइदिने हदसम्म थियो भन्ने कुरामा इतिहासकारहरूमा मतभेद भए पनि उनको उपस्थितिले तत्कालीन काठमाडौंको राजनीतिमा निकै ठूलो तरंग ल्याएको थियो । सुसारेमार्फत् राजा प्रताप मल्लले जेठी महारानीसँगको सम्बन्ध र षड्यन्त्रका बारेमा चाल पाएपछि काजीलाई मृत्युदण्ड दिइन्छ । काजी लक्ष्मीनारायण जोशीले मृत्युदण्ड पाए पनि जेठी महारानीका बारेमा भने इतिहास मौन देखिन्छ ।