साप्ताहिक संवाददाता
रहर
जनवादी गीतकी स्थापित गायिका निष्मा घिसिङले विधा परिवर्तन गर्दै लोक तथा आधुनिक गीतको एल्बम 'रहर' सार्वजनिक गरेकी छिन् । एल्बमका सातवटा गीतमध्ये एउटा गीत तामाङ भाषामा छ । चन्द्रकुमार दोङ, भरत लामा, दिपेश प्रधान, माइला लामा, विशाल स्याङ्तानको शब्द तथा संगीतको एल्बम रहरकी गायिक घिसिङले आधा दर्जन तामाङ चलचित्रमा पाश्र्व गायनसमेत गरेकी छिन् ।
खबरदार खबरदार
ज्ञानीकुमार खड्काको शब्द, संगीत तथा स्वरको राष्ट्रिय गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । नेपालको सिमानाको चर्चा गरिएको यो गीतमार्फत जंगे पिलरको हमलामा चिन्ता गरिएको छ भने चाँदनी, दोधारा तथा टिष्टासम्म पुगेर राष्ट्रियताको भावना कोरिएको छ । म्युजिक भिडियोको परिकल्पना टेलिभिजन पत्रकार प्रेम बानियाँले गरेका हुन् ।
दुख्छ मुटु कुटुक्क
गायिका भगवती उप्रेतीको छैटौं गीति एल्बम 'दुख्छ मुटु कुटुक्क' लाई सिँचाइमन्त्री एनपी साउदले शनिबार काठमाडौंमा विमोचन गरेका छन् । एल्बमका गीतमा गायिका उप्रेतीकै शब्द तथा संगीत सुन्न सकिन्छ । एल्बमको शीर्षक गीतमा गायिका उप्रेतीलाई गायक रामजी खाँडले साथ दिएका छन् ।
प्रियता लिएर आए रगुन
रगुन गुरुङले आफ्नो पहिलो एल्बम 'प्रियता' बजारमा ल्याएका छन् । लोकआधुनिक फ्लेभरको एल्बम प्रियतापछि गुरुङले अर्को एल्बमका लागि गीत तयार गरिरहेका छन् । पेसाले शिक्षक गुरुङले नौ वर्षअघि आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए ।