साप्ताहिक संवाददाता
आमेश : मलाई कुराउने तिम्रो पुरानो बानी आज पनि दोहोरियो होइन ?
नीता : तिमीलाई थाहा छ नि काठमाडौंको ट्राफिक जाम । झन् आज त एउटा नयाँ चलचित्रको कथा सुन्ने दिन । म आधा घण्टा ढिला भएँ...सरी ल !
आमेश : सरी भन्नुपर्दैन, कहिलेकाहीं मैले पनि कुराएकै त हो नि...सुन न भ्यालेन्टाइन डे त पर्सि नै पो रहेछ, कसरी मनाउने ?
नीता : भ्यालेन्टाइन डेमा त तिमी र म र्याम्पमा क्याटवाक गर्दै छौ नि, तिमीलाई थाहा छ ?
आमेश : अलि अलि थाहा छ । विस्तृतचाहिं तिमीबाटै सुन्नु छ । बरु आज केही रोमान्टिक कुराकानी गरौं न ।
नीता : हुन्छ...ल भन न त तिमीलाई हामीले पहिले मनाएका भ्यालेन्टाइन डेहरूको सम्झना कत्तिको छ ?
आमेश : हामीले विगत तीन वर्षदेखि मनाउँदै आएको भ्यालेन्टाइन डेको रमाइलो मेरो स्मृतिमा ताजै छ ।
नीता : अघिल्ला भ्यालेन्टाइन डेमा हामीलाई कसैले सँगै देख्ने हुन् कि, हाम्रा बारेमा कुरा काट्ने हुन् कि भन्न डर थियो तर यसपटक त खुल्मखुल्ला भ्यालेन्टाइन डे मनाउनुपर्छ ।
आमेश : अब त हाम्रो प्रेम सम्बन्धका बारेमा सबैलाई जानकारी छँदैछ नि ! बरु भन न, हाम्रो पहिलो भेट कहिले भएको थियो ?
नीता : करिब चार वर्षअघि एउटा सांस्कृतिक कार्यक्रममा भएको होइन ? तिम्रो र मेरो परिचय विद्यालयका एक शिक्षकले गराइदिएका थिए ।
आमेश : म उक्त कार्यक्रममा गीत गाइरहेको थियो । तिमीचाहिं त्यहाँ के गर्दै थियो नि ?
नीता : म नृत्य गर्ने तयारी गर्दै थिएँ । साँच्चै, हामी मध्ये को पहिले बोलेको हो ?
आमेश : मलाई त नीता ढुंगाना भन्ने नायिका छिन् भन्ने कुरा पनि थाहा थिएन । त्यही पहिलो भेटपछि नै तिमी नायिका हौ भन्ने थाहा भयो ।
नीता : आम्मा हो र...तिमीले मेरो नाम नै सुनेका थिएनौ ? कस्तो छुच्चो ?
आमेश : म्युजिक भिडियो खेल्छौ भन्ने थाहा थियो तर चलचित्रमै नायिकाको भूमिका निर्वाह गरेको भन्ने कुुराचाहिं थाहा थिएन ।
नीता : त्यो दिन हामीले धेरै कुराकानी नै गरेनौं नि ?
आमेश : त्यो दिन त सामान्य चिनजानमात्र गरियो ।
नीता : चिनजानका क्रममा मोबाइल नम्बर, फेसबुक प्रोफाइल आदान-प्रदान गर्नचाहिं भ्याएका थियौं है ।
आमेश : पहिलो भेटमै मलाई तिमीसँग मित्रता गाँस्नुपर्छ जस्तो लागेको थियो, त्यसैले फेसबुकमा पनि मैले नै तिमीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।
नीता : फेसबुकमा एड भएपछि त हो नि हाम्रो चिनजान राम्रोसँग भएको ।
आमेश : वास्तवमा हामी दुईलाई असाध्यै नजिक ल्याउने कामचाहिँ फेसबुकले नै गर्यो । घन्टौं कुराकानी गर्न थालेपछि हामीले आफ्ना धेरै कुरा सेयर गर्यौं । हामी फेसबुकमार्फत क्लोज फ्रेन्ड भैसकेका थियौं ।
नीता : हाम्रो दोस्रो भेट कालीमाटीको तिम्रै घरमा भएको होइन ? तिमीले मलाई घरमा बुवा आमालाई भेट्न, खाना खान बोलाएका थियौ । तिम्रो घरमा आएर तिम्रो परिवारका सबै सदस्यसँग भेटेपछि म तिमीप्रति अझ बढी आकषिर्त भएकी थिएँ ।
आमेश : हो त...तिमी मेरो घर आएपछि नै हो तिमीलाई मेरा ममी-ड्याडी इन्टे्रस्टिङ लागेको, मेरा ममी-ड्याडीलाई तिमी इन्टे्रस्टिङ लागेको ।
नीता : दुई हप्तापछि एउटा समारोहमा तिमीले पुन: मलाई आफ्नो घर बोलाएका थियौ नि...दोस्रो पटक आउँदा त म एउटा कुराले सरप्राइज भएँ नि !
आमेश : कस्तो कुरा हो ?
नीता : तिम्रो मम्मीले दिनु भएको पुराना तस्बिरको एल्बम हेर्दै जाँदा केही पुराना तस्बिरले मलाई सरप्राइज दिएका थिए । मैले ती तस्बिरका बारेमा जिज्ञासा राखेपछि तिमी पनि त आश्चर्यमा परेका थियौ नि !
आमेश : हो त....हामी बाल्यकालदेखिकै साथी रहेछौं भन्ने कुरा एउटा तस्बिरबाट थाहा पाएपछि तिमी र म मात्र होइन हाम्रो घरका सबै सदस्य आश्चर्यमा परेका थिए ।
नीता : आम्मै...हो त.....तिमी र म त बच्चैदेखिका साथी पो त ? हाम्रो त बाल्यकालमै भेट भैसकेको रहेछ । हामीले एउटै चौरमा सँगसँगै खेलिसकेका रहेछौं । मैले तिम्रो घरको उक्त एल्बम नहेरेको भए त यो कुरा थाहै नहुने रहेछ ।
आमेश : त्यो फोटोमा तिम्री दिदी र मेरी माइजू सँगै हुनुहुन्थ्यो । दिदी र माइजू कसरी सँगै हुनुभयो भन्ने कुरा खोज्दै जाँदा हाम्रो भेट बाल्यकालमै भएको रहेछ भन्ने कुरा प्रमाणित भएको होइन त !
नीता : मेरो काका र बुवासँग तिम्रो बुवाको चिनजान पहिले नै भएको रहेछ ! मैले आफ्नो बाल्यकाल काठमाडौंको लगनमा बिताएकी थिएँ । तिम्रो मामाको छोरा मेरो राम्रै साथी हुनुहुन्थ्यो । साथीको फुपूको छोरा भएपछि तिमी पनि मेरो साथी बन्न पुगेका थियौ । तिमी र म एउटै विद्यालयका सहपाठी त थिएनौं तर एउटै टोलमा खेल्ने साथीचाहिं थियौं ।
आमेश : हो त...वास्तवमा लगनमा मेरा मामा-माइजूहरू जुन घरमा बस्नुहुन्थ्यो, तिमी पनि त्यही घरमा बस्थ्यौ । म मामा घर जाने-आउने क्रममा तिमीसँग भेट भएको हो तर सानैमा भेटेकाले पछि त्यो कुरा सम्झनामा आएन । मेरो घरको एल्बममा फोटो हेरेपछि मात्र हामीलाई यो कुरा स्मरण भएको हो । तिमीलाई बाल्यकालमा मसँग सम्बन्धित के¬-के कुरा सम्झना छ भन त ?
नीता : मलाई तिम्रो अनुहार त याद आउन सकेको छैन तर तिम्रो दाइको अनुहारचाहिं सम्झना छ ।
आमेश : साँच्चै नीता, हाम्रो सम्बन्ध त कुनै चलचित्रको काल्पनिक कथाजस्तो पो छ हैन ?
नीता : त्यही त । पूरै फिल्मी छ तर वास्तविक कथामा आधारित चलचित्रजस्तो ।
आमेश : पहिलो र दोस्रो भेटपछि नै हामीले एक-अर्कालाई मन पराउन थालिसकेका थियौं । सानैदेखिको साथी भन्ने कुरा थाहा पाएपछि त हामी यति नजिकियौं कि छुटाउनै गाह्रो पर्ने स्थिति आयो ।
नीता : हो...हामीले एक-अर्कालाई असाध्यै मन पराइसकेका थियौं । म आमेशलाई असाध्यै माया गर्छु । म आमेश बिना बाँच्न सक्दिनँ भन्ने कुरा मनमा आइसकेको थियो, तर पनि मलाई 'आई लभ यू...आमेश' भनेर प्रपोज गर्नचाहिँ लाज लाग्यो ।
आमेश : मलाई थाहा छ....तिमीले मायाका तीन शब्द बोल्न नसकेपछि मैले नै 'आई लभ यू नीता...' भनेको हुँ ।
नीता : तिमी कति छुच्चो ..त्यो कुरा तिमीले मलाई भेटेरै भन्न सक्थ्यो नि । फेसबुकको म्याजेसमा पो...आई लभ यू लेखेर पठाएको ।
आमेश : भेटेर भने पनि फेसबुकबाट भने पनि म तिमीलाई माया गर्छु...भन्नु थियो, जसोतसो भनें ।
नीता : प्रेममा परेपछि, एक-अर्काबीच आकषिर्त भएपछि त्यो फर्मालिटी पूरा गरिरहनुपर्छ जस्तो लाग्दैन । त्यसैले पनि हामीले एक-अर्कालाई आई लभ यू भन्न ढिला गरेका हौं ।
आमेश : तिमीले मन पराउँछौ भन्ने कुरा मलाई थाहा थियो, म तिमीलाई अझ बढी मन पराउँछु भन्ने कुरा तिमीलाई थाहा थियो, त्यसैले पनि 'म तिमीलाई माया गर्छु' भनिरहनु नपरेको हो ।
नीता : तिमीलाई त मैले गायक तथा संगीतकारका रूपमा पो चिनेकी थिएँ ।
आमेश : अभिनय गर्ने सपना हुँदाहुँदै मैले संगीतबाट करियर थालनी गरेको हो नि त ।
नीता : तिमी त्यो दिन स्टेजमा गीत गाउन नआएको भए सायदै हाम्रो भेट हुन्थ्यो ?
आमेश : तिमीसँग भेट हुनुअघि म संगीतमा संघर्ष गरिरहेको थिएँ । म आफैं गीत बनाउँथें, गाउँथें । म चलचित्रको संगीतकारका रूपमा अघि बढ्न चाहन्थें, चलचित्रका निर्माता तथा निर्देशकहरू अभिनयको प्रस्ताव राख्नुहुन्थ्यो ।
नीता : तिमीले त यसअघि यो कुरा मलाई बताएकै थिएनौ ?
आमेश : मौका नै पाएको थिइनँ नि त...आज रोमान्टिक डेटिङ गरौं भन्ने विचार गरेर आएको त कहाँ करियर र संघर्षको कुरा पो हुन थाल्यो ।
नीता : चलचित्र 'तँ म र ऊ' मा चाहिं तिमी कसरी सहभागी भयौ नि ?
आमेश : त्यो चलचित्रबाट मलाई संगीतकारकै रूपमा प्रस्ताव आएको थियो । चलचित्रका निर्देशक लक्षु गौतमले मलाई अभिनयको जिम्मा दिनु भयो । अभिनयका लागि म तयार भएपछि नायिका को राख्ने भनेर सल्लाह भयो । त्यति बेला हामीबीच प्रेम सम्बन्ध गाँसिसकेकाले मैले नै 'नीता ढुंगाना' लाई लिउँ न...भनें ।
नीता : वास्तवमा चलचित्र 'तँ, म र ऊ' को छायांकनको अवधि त हाम्रा लागि डेटिङ गर्ने राम्रो माध्यम नै भएको थियो ।
आमेश : मुक्तिनाथ तथा मुस्ताङ क्षेत्रमा हिउँ परेको मौसममा तिमीसँग बिताएका क्षणहरू म कहिल्यै बिर्सन्नँ । हामी एक-अर्कालाई माया गर्छौं भन्ने कुरा चलचित्र युनिटले थाहा नपाओस् भनेर हामीले कम्ती नाटक गर्यौं त ?
नीता : हो त....काठमाडौंबाट बसमा यात्रा गर्दा हामी अलग-अलग सिटमा बसेका थियौं । बाटोमा एक-अर्कासँग कुराकानी समेत गरेनौं । छायांकनस्थलमा पुगेपछि मात्र सामान्य चिनजान भएजस्तो गरेको हैन त ?
आमेश : हो नि....तर हिउँका दृश्यमा छायांकन गर्ने क्रममा तिमी चिप्लिएर लडेका बेला म दौडेर उठाउन जाँदा, बेला-बेलामा चिया-कफीका बारेमा सोधिरहँदा चाहिँ हाम्रो सम्बन्धका बारेमा अलि-अलि शंका गर्नचाहिं थालिएको थियो ।
नीता : छायांकन प्रारम्भ नहुन्जेल त कसैले पनि शंका गरेनन्, तर मुक्तिनाथको त्यो चिसोमा आफ्नै प्रेमिसँग नबोली बस्न त कसरी सकिन्थ्यो र ? छायांकन सम्पन्न गरेर काठमाडौं फर्कने दिन त सबैले थाहा पाइहाले नि !
आमेश : मैलै नै बद्मासी गरेका कारण सबैले थाहा पाएका हुन् । मेरो वाकमेन सुन्दै इभिनिङ वाक गर्ने बानीले नै डुबाएको त हो नि ।
नीता : तिमीलाई काठमाडौं फर्कने बेलामा, त्यो पनि रात परेपछि वाकमेन सुन्दै अनकन्टार ठाउँतिर कसले जानु भनेको थियो भन त !
आमेश : बस आउन केही समय ढिला भएपछि म एकछिनका लागि ओरालो लागेको थिएँ । गीत सुन्दै अघि बढ्दा कहाँ हो कहाँ पुगेछु । फर्कन खोज्दा त बाटै भेटिन्न । मोबाइलमा नेटवर्क थिएन । माथि आउन कम्ति गाह्रो भयो त !
नीता : तिमीलाई मैले मेकअप आर्टिस्ट नन्दा अधिकारीको सहयोगमा कम्ती खोजिनँ । आमेश...आमेश...भनेर बोलाएँ, तिमीले सुने पो । बोलाउँदा-बोलाउँदा थाकेर एउटा पसलको कुनामा बसेर कसैले नदेख्ने गरी रुन थालें । झन्डै एक घण्टापछि तिमी मोबाइलमा कुरा गर्दै आएको देखेपछि दौडेर गएर तिमीलाई अँगालो हालेर रोएको देखेपछि त छायांकन युनिटका सबैले थाहा पाइहाले नि ।
आमेश : मुक्तिनाथदेखि काठमाडौं सम्मको यात्रा पनि रोमाञ्चक भयो है ?
नीता : जाँदा अलग-अलग सिटमा बसे पनि आउँदा एउटै सिटमा त्यो पनि एउटै ब्ल्यांकेट ओढेर गरिएको काठमाडौंसम्मको त्यो यात्रा त म कहिल्यै बिर्सन्नँ । काठमाडौंसम्मको त्यो यात्राले हामीलाई अझ बढी नजिक ल्याएको कुरा तिमी मान्छौ कि मान्दैनौ ?
आमेश : अवश्य मान्छु । तिमीलाई एउटा कुरा थाहा छ, तिमीले गर्दा म यो क्षेत्रमा आएको भन्ने हल्ला चलेको रहेछ । वास्तवमा त्यस्तो होइन नि ।
नीता : वास्तवमा मलाई त तिम्रो र मेरो सम्बन्धका बारेमा कसैलाई भन्न मनै थिएन । चलचित्र क्षेत्रमा चोखो मायामा समेत नकारात्मक टीकाटिप्पणी गरिन्छ, त्यही भएर मैले हाम्रो सम्बन्धलाई गोप्य राख्न चाहेकी थिएँ, तर मुक्तिनाथ क्षेत्रको मौसम नै यति रोमान्टिक भैदियो कि छायांकन युनिटमा हाम्रो सम्बन्धका बारेमा धेरैले जानकारी पाए ।
आमेश : उक्त चलचित्रबाट हामी एकअर्का बिना हामी बस्न नसक्ने रहेछौं भन्ने कुरा प्रमाणित भयो । चलचित्र 'फूलैफूलको मौसम तिमीलाई' मा अनुबन्धित भएपछि त हाम्रो सम्बन्धले अझ गति लियो ।
नीता : धेरैलाई के लागेको छ भने 'फूलैफूलको मौसम तिमीलाई' मा पनि मैले तिम्रो नाम सिफारिस गरेकी हुँ । वास्तवमा त्यस्तो होइन । तिम्रो र मेरो सम्बन्धका बारेमा निर्देशक दिनेश डिसीलाई सबै जानकारी थियो । 'तँ, म र ऊ' को छायांकनमा निर्देशक डिसीले तिमीलाई भेट्नुभयो । तिम्रो अभिनय मन पराउनुभयो । 'फूलैफूलको मौसम तिमीलाई' मा मेरो जोडी तिमीसँगै सुहाउँछ भनेर उहाँ आफैंले तिमीलाई मुख्य नायकको भूमिकाका लागि प्रस्ताव राख्नुभएको हो ।
आमेश : निर्देशक दिनेश डिसीले मलाई जिम गरेर ज्यान बनाउनुपर्छ । कलेजको विद्यार्थीको भूमिकामा मात्र बस्नु हुँदैन । उहाँ तिमी हिरो नै बन्नु पर्छ भन्दासमेत मैले 'फूलैफूलको मौसम तिमीलाई' मा अभिनय गर्दैछु भन्ने थिएन । एक दिन अचानक एसएमएस पठाएर 'आमेश आई एम डुइङ अ रोमान्टिक मुभि विद यू' भन्नुभयो । उक्त एसएमएस आएपछि तिमी र मैले खुसीयाली साटासाट गरेको थियौं ।
नीता : यो चलचित्रको छायांकनमा त अझ यति रमाइलो भयो कि तिमी र म प्रेमी-प्रेमिकाकै भूमिकामा छौं । चलचित्रका थुप्रै दृश्यमा हामीले एक-अर्कालाई फूल दिएका छौं । आमेश तिमीलाई मेरो के-के कुरा मन पर्छ ?
आमेश : मलाई तिम्रो हरेक कुरा मन पर्छ । तिम्रो बानी, बोली, अनुहार, केश...सम्पूर्ण नीता ढुंगाना नै मन पर्छ । ल भन त तिमीलाई चाहिं मेरो के-के मन पर्छ ?
नीता : तिमीलाई थाहा छ, हरेक केटी मान्छेको एउटा सपना हुन्छ । उसको प्रेमी एउटा राम्रो केटा होस्, त्यही प्रेमी पछि गएर श्रीमान् होस् । माया गर्ने होस्, हरेक इच्छा पूरा गरोस् । मलाई, मेरो विचारलाई र मेरो मनलाई बुझोस् । मैले पनि त्यस्तै सपना देखेकी थिएँ । बिपनामा आमेश पाएँ । आमेशमा मैले त्यही कुरा पाएँ । तिमीसँग संगत गरेपछि मलाई तिम्रो केयर गर्ने बानी असाध्यै मन पर्यो । म के कुरामा खुसी हुन्छु, के कुरामा दु:खी हुन्छु । मलाई के-के मन पर्छ, के-के मन पर्दैन भन्ने कुरामा तिमीले ध्यान दिएको असाध्यै मन पर्छ । योभन्दा पनि ठूलो कुरा तिम्रो व्यक्तित्व नै मलाई आकर्षक लाग्छ ।
नीता : ल भन त आमेश अब हाम्रो यो सम्बन्ध कसरी अघि बढ्छ ?
आमेश : आगामी ५ वर्ष हामी प्रेमी-प्रेमिकाकै रूपमा रहनुपर्छ जस्तो लाग्छ, किनभने चलचित्र 'फूलैफूलको मौसम' प्रदर्शन भएपछि म अभिनयमा व्यस्त हुनेछु भन्ने कुरामा ढुक्क छु । अहिले म २४ वर्षको भएँ, तिमी २२ । म २८ वर्षको हुँदासम्म तिमी २६ की हुन्छौं । त्यति बेला सम्ममा म पनि आफ्नो करियरमा स्थापित भैसकेको हुन्छु, तिमी पनि अझ लोकप्रिय हुन्छौं । त्यतिबेला विवाह गर्दा ठिकै होला, हैन त ?
नीता : आम्मामामा....अझै ५ वर्ष ? ५ वर्षपछि मात्र विवाह गर्ने ?
आमेश : त्यस्तो होइन...तिमी भन्छौ भने म भोलि नै विवाह गर्न तयार छु । मलाई थाहा छ तिमी नै अहिले विवाह गर्न हतार गर्दिनौ ।
नीता : मलाई थाहा छ... मैले त जोक पो गरेको ? विवाह भन्ने कुरा चानचुने होइन । विवाह अफेयरजस्तो पनि होइन । विवाह गर्नुअघि हामी राम्रोसँग आफ्नो खुट्टामा उभिनु अनिवार्य छ । यो कुरा तिमी र म दुवै जनाले बुझेका छौं ।
आमेश : ल भन नीता, भोलिको भ्यालेन्टाइन डे कसरी सेलिब्रेट गर्ने योजना बनाएकी छौ ?
नीता : मैले त सबै कुरा तिमीलाई नै छाडिदिएकी छु । बरु तिमी नै भन न तिमीले हाम्रो भ्यालेन्टाइन डे कस्तो बनाउने तयारी गरेका छौ ?
आमेश : मलाई थाहा थियो, भ्यालेन्टाइन डेलाई रोमान्टिक बनाउन मैले नै केही गर्नुपर्छ । यसपटकको भ्यालेन्टाइन डे प्रारम्भ भएकै बेला अर्थात् शुक्रवार मध्यराति १२ बजे नै तिमीलाई पुन: एकपटक प्रपोज गर्छु । मेरो जीवनमा तिमी कति महत्वपूर्ण छौ भन्ने कुरा पुन: एकपटक स्मरण गराउनेछु । त्यसपछि शनिवार बिहानै म तिम्रो घरमा रातो गुलाफसहित प्रस्तुत हुनेछु । त्यसपछि हामी चलचित्र हेर्न जान्छौं । दिउँसो एउटा रेस्टुराँमा खाना खान्छौं । दिउँसो कुनै एकान्त ठाउँमा बिताउँछौं । राति एउटा भ्यालेन्टाइन डे विशेष फेसन शोमा तिमी र म नै क्याटवाक गर्दैछौं । मध्यरात डिनर गरेर मात्र हामी छुट्टनिेछौं । तिमी मलाई साथ दिन्छौ होइन ?
नीता : अवश्य । तिमीले मलाई रातो गुलाफ दिएपछि म पनि तिमीलाई एउटा प्यारो उपहार दिनेछु । तिमीलाई दिने उपहार मैले दुई साताअघि नै किनिसकेकी छु ।
आमेश : उपहार....म पनि तिमीलाई त्यो दिन राम्रै सरप्राइज दिनेछु ।