साप्ताहिक संवाददाता
युवा सेलिब्रेटी जोडी :
आश्मा डिसी टिभी फिल्मीमा कार्यक्रम सञ्चालन गर्छिन् । एउटा कार्यक्रम निर्माणको सिलसिलामा निर्देशक नारायण पुरीका नायक छोरा संयम पुरीसँग एक दिन बिताउँदा ती दुई एकअर्काको प्रेममा परे । त्यसपछिका दिनहरूमा संयम र आश्मा दुवैले निर्धक्क एक-अर्कालाई दुनियाँका सामू असल प्रेम जोडीका रूपमा उभ्याएका छन् । उनीहरूको प्रेममा अभिभावकहरूले पनि साथ दिएका छन् ।
चलचित्र नगरीमा अर्को एउटा हिट सेलिब्रेटी जोडी छ, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी र मोडल तथा अभिनेता अनुपविक्रम शाहीको जोडी । चलचित्रमा गत वर्ष नै डेब्यु गरेका उनीहरूको प्रेम आश्मा र संयम जत्तिकै खुल्लमखुल्ला छ । विशेषगरी उनीहरू फेसबुकमा आफूहरू साथै रहेको तस्बिर सार्वजनिक गरिरहन्छन् अनि कार्यक्रमहरूमा पनि साथै देखिन्छन् । चलचित्रमा एकसाथ नदेखिए पनि उनीहरूको रोमान्सको चर्चा सहकर्मी साथीहरू पनि गरिरहन्छन् ।
बेलाबखत विवादमा तानिरहने निशा अधिकारीले एक्लो जीवनमा अहिले क्रिकेटर शरद भेषवाकरको साथ पाएकी छिन् । फेसबुकको रिलेशनसिप स्ट्याटसमा 'सिंगल' लेखिए पनि निशाले फेसबुकमा शरदका लागि लेखेका स्टाटस र यी दुईबीचको निकटताबाट उनीहरूको प्रेम 'खुल्लमखुल्ला' भैसकेको छ । मिस नेपालकी प्रतिस्पर्धी हुँदै टेलिभिजन जक्की बन्न पुगेकी मोडल, टेलिभिजनकर्मी तथा नायिका अकेशा विष्टले अभिनय गरेको पहिलो चलचित्र 'जिन्दगी रक्स'ले व्यवसायिक सफलता पाएन, तर उक्त चलचित्रबाटै नायक भएका मोडल तथा नायक सौरम तुलाधरसँग भने अकेशाको प्रेम खुल्लमखुल्ला रूपमा देखियो । सुरुमा चलचित्रको प्रचारका लागि उनीहरूबीच प्रेम रहेको मानिए पनि चलचित्र हलबाट उत्रिएको केही साता भैसक्दा पनि उनीहरू एक-अर्का नजिक नै देखिन्छन् ।
सुदर्शन थापालाई चलचित्रका निर्देशककै रूपमा चिनिन्छ । केही वर्षअघिसम्म उनलाई नायिका सुष्मा कार्कीको प्रेमीका रूपमा पनि चिनियो । यी दुईले त्यतिबेला यति धेरै 'खुल्लमखुल्ला' प्रेम गरे कि पछिल्लो पटक सुष्माको रक गायक नरेन शाहीसँग 'ब्रेकअप' भैसक्दा पनि केही मानिस सुदर्शन र सुष्मा अझै प्रेममा छन् भन्ने भ्रममा देखिन्छन् । सुदर्शनलाई यतिबेला अघोषित रूपमा नायिका पूजा शर्माको प्रेमी मान्न थालिएको छ । सुदर्शन नायक रहेको चलचित्र 'अझै पनि' की नायिका पूजा निर्माणाधीन 'चंखे, शंखे, पंखे'मा पनि उनकै नायिकका रूपमा देखा पर्दैछिन् । नायिका भएर देखा पर्नु पेसागत पाटो होला, तर दुई चलचित्रको निर्माण अघिदेखि नै यी दुईबीच खुल्लमखुल्ला प्रेम रहेको कुराको साक्षी धेरै छन् ।
नायिका नम्रता श्रेष्ठले पनि केही समयअघिसम्म फेसबुकमा आफ्नो रिलेसनसिप स्ट्याटसमा प्रेम घलेको नाम उल्लेख गरेकी थिइन्, पछि हटाइन् । फेसबुकमा उनको उक्त खुल्लमखुल्ला प्रेमको चर्चा अहिले पनि गरिन्छ । नम्रताले हालै आफ्नो पनि सेयर रहेको रेस्टुराँ एटिकलाई लाजिम्पाटबाट टंगाल सारेकी छिन् । अत्याधुनिक शैलीको उक्त रेस्टुराँ बसेको घर घलेकै भएको बताइन्छ । यसबाट आफ्नो प्रेम लुकाउन रिलेसनसिप स्टाटसबाट घलेको नाम हटाइए पनि उनीहरूबीच अहिले पनि राम्रो सम्बन्ध रहेको स्पष्ट हुन्छ ।
एकताका चलचित्र क्षेत्रमा नायिका ऋचा शर्मा र विनय श्रेष्ठको खुल्लमखुल्ला प्रेमको निकै चर्चा हुन्थ्यो । अहिले 'ब्रेकअप'पछि उनीहरू आ-आफ्नो बाटो लागेका छन् । चलचित्र क्षेत्रमा यस्ता उदाहरणीय जोडी अरू पनि छन्, तर सबैले आफ्नो प्रेम सम्बन्धलाई खुल्ला रूपमा व्यक्त गरेका छैनन् । बाँकी भने खुल्लम खुल्ला प्रेम गर्दै भन्दै छन्— तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, दुनियाँको कामै यही हो, जति जल्छन्, जल्न देऊ.. ।