साप्ताहिक संवाददाता
देउडामा नाचे राजेश
बैतडी- नायक राजेश हमाल देउडा गीतमा नाचेपछि दर्शकले तालीको गड्गडाहट्ले उनलाई साथ दिए । गत शनिबार बैतडी सांस्कृतिक महोत्सवको दोस्रो दिन बैतडी पुगेका नायक हमाललाई देउडा गायक महेश औजीले देउडा गीतमा नचाएका हुन् । देउडामा मात्र होइन, अर्का लोकगायक रामजी खाँणले पनि मोडल सुस्मिता बमसँगै राजेशलाई नचाउन भ्याए । गायिका मन्जु पौडेलले उद्घोषण र गीतमार्फत दर्शकलाई मख्ख बनाएकी थिइन् । महोत्सवमा अष्ट्रिचका साथै होची महिला मञ्जु घिमिरेलाई पनि अवलोकनका लागि राखिएको थिए । हास्य टेलिश्रृखला मेरी बास्सैका चर्चित पात्र बैतडी बाजे -राजेश नाथ) ले पनि दर्शकलाई प्रसस्तै हँसाए । उक्त अवसरमा देउडा गायक पुष्पा बोहरालगायत सीमावर्ती सहर पिथौरागढबाट आएका कुमाउनी कलाकारहरूले गीत एवं नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा स्थानीय कलाकारले छलिया नाच, गौरा संस्कृति, दमाहा बाजा आदिमा आ-आफ्नो प्रतिभा देखाए । कला संस्कृति र पर्यटन विकासका लागि बैतडी उद्योग वाणिज्य संघको आयोजनामा मेलौली, पाटन र गोकुलेश्वरमा पनि यस्तै महोत्सव सञ्चालन भएका थिए ।
खगेन्द्र अवस्थी
जंगल फेस्टिभल
पोखरामा नितान्त नौलो जंगल फेस्टिबल प्रारम्भ भएको छ ।
पोखरास्थित शान्ति वन क्षेत्रमा यो साहसिक महोत्सवले मनोरञ्जन पारखीहरूलाई तानेको छ । परिचय नेपालले आयोजना गरेको महोत्सवमा विश्वप्रसिद्ध सर्कस काठमाडांैको प्रस्तुतिदेखि जंगल थिममा गरिएको फेसन शो, चितवनको थारु नृत्य, लोपोन्मुख जनजातिको जीवनशैली एवं संस्कृतिको लाइभ प्रस्तुतिदेखि राउटेको प्रस्तुतिसम्म हुनेछ । सात दिनसम्म चल्ने फेस्टिबलमा अष्ट्रिच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, याक, बाँदरका विभिन्न नयाँ प्रजातिदेखि १८ प्रजातिका चरा अवलोकन गर्न सकिनेछ । चितवनको हात्ती सफारीदेखि एउटा रुखबाट अर्को रूखमा झुन्डिएर खेलिने साहसिक खेल पनि महोत्सवको आकर्षण रहनेछ । कलाकार सुलेमान शंकर इकुदेखि जंगल थिमको फेसन शो पनि महोत्सवको आकर्षण हुनेछन् ।
प्रेम दिवसको अवसरमा फेस्टिबलमा जोडी नृत्य प्रस्तुत हुनेछ । दिनेश डिसीको उद्घोषण रहने महोत्सवमा इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम मल्ल, विनोद बानियाँ, कमल खत्रीदेखि कन्दरा ब्यान्ड, डिमोर्चा तथा बमबहादुर कार्कीसम्मले आ-आफ्नो
प्रस्तुति दिनेछन् ।
शिव शर्मा
परिकार महोत्सवमा
झापा— माघको चिसोसँगै दमकमा तन्नेरीहरूबीच गायिका इन्दिरा जोशीको चार्म बेग्लै थियो । दमक परिकार महोत्सवमा झुल्किएकी इन्दिराले गीत मात्र के गाउन थालेकी थिइन्, दर्शकहरूबाट वान्स मोरको वषर्ा नै भयो । उक्त महोत्सवमा गायक कमल खत्री, गिरीश खतिवडा, बोकेदार्ही, प्रकाश ओझा, सुरेन्द्र केसी मुलासाग आदि कलाकारसँगै स्थानीय कलाकारहरूको प्रस्तुति पनि आकर्षक थियो । महोत्सवमा स्थानीय धिमाल परिकार, नेवारी परिकारसँगै हस्तकला तथा घरेलु उत्पादनका स्टलहरूसमेत राखिएका छन् ।
युवराज विवश
६ ब्यान्डको प्रस्तुति
काठमाडौं— पश्चिमा 'लुक्स' र म्युजिक रुचाउने तन्नेरीहरूले ठमेलको पर्पल ह्याज रक बार ६ घण्टासम्म निरन्तर गुन्जाए । नेपाली अन्डरग्राउन्ड डटकमले आफ्नो वाषिर्कोत्सवका अवसरमा आयोजना गरेको 'द अन्डरग्राउन्ड गिग' मा नेपाल र भारतका चर्चित ६ वटा रक ब्यान्डले ६ घण्टासम्म 'ह्याभी रक मेटल' मार्फत स्टेज तताएका हुन् । फ्रेगमेन्ट ब्यान्डले आफ्नो पहिलो प्रस्तुति दिएपछि प्रारम्भ भएको कार्यक्रममा 'बि्रज नट ब्रोकन' का साथै मुम्बइबाट आएका कलाकारहरूले मेटल संगीतमार्फत स्टेज तताएका थिए । साँगुरो तथा अँध्यारो कोठामा ह्याभी साउन्ड सिस्टमले कार्यक्रमलाई पूर्ण मनोरञ्जक बनाएको थियो । मिडियामार्फत सार्वजनिक हुन कमै रुचाउने अन्डरग्राउन्ड ब्यान्डहरूको उक्त प्रस्तुतिमा विदेशी पर्यटकहरू पनि रमाएका थिए । संगीतप्रति युवाहरूको रुचि र अदृश्य रूपमा रहेका ब्यान्डहरूको कला प्रस्तुत गर्न कार्यक्रम आयोजित गरिएको कार्यक्रम संयोजक प्रितुस मुनकर्मीले बताए ।
युवराज गौतम
इन्टर कलेज आर्डेन्ट
यतिबेला दुई दर्जनभन्दा बढी कलेज अध्ययनरत पोखरेली युवायुवतीहरू आफ्नो व्यक्तित्व निखार्न, आत्मविश्वास तिखार्न र आफ्ना कमी-कमजोरीलाई सुधार्न व्यस्त छन् । उनीहरूको यो व्यस्तता ब्लु रेज प्रोडक्सनको आयोजनामा सम्पन्न हुने 'इन्टर कलेज मिस्टर एन्ड मिस आर्डेन्ट-२०१५' का लागि हो । फागुन ८ गत हुने ग्रान्ड फिनालेका लागि सहभागीहरू विभिन्न विधामा प्रशिक्षणहरू लिइरहेका छन ।
तुलसीपुर महोत्सव
तलसीपुरमा आयोजित मध्यपश्चिम कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार महोत्सवमा दर्शकहरू विभिन्न सांस्कृतिक रमझममा झुमेका छन् । रामजी खाँण, पशुपति शर्माजस्ता लोकगायकको प्रस्तुतिमा दर्शकहरू निकै रमाएका देखिए । महोत्सवमा शालु गौतमको बेली डान्स र पार्वती राईको नृत्यले पनि दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गर्यो । डान्स इन्डिया डान्सको समूह नृत्य मेलाको मुख्य आकर्षण रह्यो ।
महोत्सवको आकर्षणका रूपमा देखिएको शंखेकीराको अचार, ढिग्री, अनदीको रोटी, गंगटा, माछा तथा बंगुरको सेकुवा आदि परिकारले पनि पर्याप्त प्रशंसा पाएको थियो । भोलि फागुन २ गतेसम्म सञ्चालन हुने यो महोत्सव ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा ३ करोड रुपैयाँभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सव अवधीमा हेलिकप्टरबाट राप्ती अञ्चलभित्रका पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
भोलि सिंगिङ स्टार
भोलि शनिबार भ्यालेन्टाइन डेका दिन 'एसबीएससी सिंगिङ स्टार सिजन- २' को फाइनल हुने भएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था विराटनगरले आयोजना गर्ने उक्त प्रतियोगितामा २० जना फाइनल चरणका लागि छनौट भएका छन् ।
सिंगिङ स्टारको यो संस्करणको फाइनलमा सिर्जना कार्की, नेहरीका बराल, अंकिता उदास, दिव्या गिरी, प्रिया उपाध्याय, नवीन पौडेल, श्रेया राजवंशी, निरुता न्यौपाने, निलेस ढुंगाना, सुशान्त रेग्मी, रितेश तिम्सिना, पंकज सापकोटा, सुधाश्रेया दवाडी, शिना भण्डारी, रोसन रिजाल, रोशन सुनार, रिस्ता गुरुङ तथा रचित घिमिरेले प्रतिस्पर्धा गर्दैछन् ।
अनिल श्रेष्७
कपिलवस्तु डान्स आइडल
चौथो कपिलवस्तु डान्स आइडलमा वाणगंगा नगरपालिका-१३ बनगाईका रविन अधिकारी विजेता घोषित भएका छन् । १४ जनालाई पछि पार्दै अधिकारीले उपाधि जितेका हुन् । आइडलमा दोस्रो र तेस्रो क्रमश: सोनम शाही र शीतल थापा घोषित भए ।
डान्स चितवन डान्स
चितवन- सोसिजेनस मिडियाको आयोजनामा सोमबार राति सम्पन्न डान्स चितवन डान्सको फाइनल प्रतिस्पर्धाबाट एन्जिलिना बराइली विजयी भएकी छिन् । ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । १४ वर्षमुनिका बीच भएको प्रतिस्पर्धामा अनन्ता पन्त दोस्रो तथा जिया जोशी र रितिका श्रेष्ठको जोडी तेस्रो भए ।
उता १४ वर्षभन्दा माथीको उमेरका बीच भएको प्रतिस्पर्धामा अस्मिता सेञ्चुरी प्रथम भइन् भने राजकुमार विक र गोविन्द विकको जोडी दोस्रो भयो । सुनिल विक भने तेस्रो घोषित भए । कार्यक्रममा रामकृष्ण ढकालले गीत गाएर मनोरञ्जन प्रदान गरे । हास्यकलाकार रवि डंगोल, पूर्ण थापा तथा जितु नेपालले समसामयिक विषयमा प्रहसन प्रस्तुत गर्दै दर्शकहरूलाई हँसाए । त्यस्तै भुवन प्यासी, उपेन्द्र गोरखाली, सुरेश लामाले गीत मार्फत दर्शकहरूलाई नचाए । डान्स चितवन डान्सका दुवै समूहका विजेतालाई १-१ लाख नगद प्रदान गरिएको थियो ।
विमल खतिव८ा
टीकापुरमा तेरिया
जीटीभी लिटिल डान्स आइडल तेरिया मगर थारु पहिरनमा देखा परेपछि दर्शकले ताली बजाएर स्वागत गरे । माघ २५ गते टीकापुरमा सम्पन्न स्थानीय फूलबारी एफएमको वाषिर्कोत्सवमा प्रमुख अतिथिका रूपमा निम्त्याइएकी तेरियाले उक्त अवसरमा नृत्य प्रस्तुत गरेर दर्शकहरूको मन जितेकी थिइन् ।
गणेश चौधरी
सम्पन्न भयो कपिलवस्तु महोत्सव
समृद्ध नगरका लागि व्यवसायिकता, उत्पादनमा औद्योगीकरण आजको आवश्यकता' भन्ने नाराका साथ माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालित छैटौं कपिलवस्तु महोत्सवमा ३ करोड ५० लाख बराबरको कारोबार भएको बताइएको छ भने महोत्सवलाई २ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
महोत्सवमा अस्टि्रच, चौरी गाई तथा घडियाल गोही हेर्नेहरू बढी थिए । जिल्ल्ााको पर्यटन
प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तस्बिर प्रदर्शनीमा जिल्लाका सांस्कृतिक, पुरातात्त्विक एवं प्राकृतिक पर्यटकीय क्षेत्रहरूसँग सम्बन्धित २ सयभन्दा बढी तस्बिर राखिएका थिए ।
महोत्सवमा प्रशान्त तामाड, पशुपति शर्मा, बद्री पंगेनी, खुमन अधिकारी, प्रमोद खरेल, राधिका हमाल आदि कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने मनोज गजुरेल तथा निरु खडकाले हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।
मनोज पौ८ेल
उर्लाबारीमा रजिना
उर्लाबारी— मोरङको उर्लाबारीमा सञ्चालित उर्लाबारी रिमझिम महोत्सवमा गत शनिबार गायिका रजिना रिमालले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिन् । गायिका रिमालले आफ्ना एक दर्जन गीत गाएकी थिइन् । यसअघि गायक धिरज राई र गायिका प्रश्ना शाक्यले समेत महोत्सवमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् । माघ २१ गते प्रारम्भ भएको महोत्सव १५ दिनसम्म चल्नेछ ।
सरोज बस्नेत
क्लोजअप लभ फेस्ट
आफूले माया गर्ने मान्छेसँग यसपालिको भ्यालेन्टाइन डेलाई कसरी अविस्मरणीय बनाउने योजना बनाउनुभएको छ ? यसैका लागि क्लोज अप आउँदैछ वर्षकै एउटा प्रतीक्षित उत्सव क्लोज अप लभ फेस्ट लिएर- पहिलेको वर्षभन्दा पनि उल्लासमय र बृहत् कार्यक्रमका रूपमा ।
नेपालको अग्रणी टुथपेष्ट ब्रान्ड क्लोज अपले भ्यालेन्टाइन डेमा युवाजोडीहरूका लागि विशेष वातावरण बनाउन हरेक वर्ष विभिन्न प्रतियोगिता तथा खेलहरूका साथ क्लोज अप लभ फेस्ट आयोजित गर्दै आएको छ ।
यसको मुख्य कार्यक्रम १४ फेब्रुअरीमा सिभिल मलमा हुनेछ जहाँ दिनभर लाइभ ब्यान्ड, डिजे जोन, टारोट कार्ड रिडिङ, डान्स परफर्मेन्स, आफ्नो माया व्यक्त गर्न लाइभ लभ मेसेजिङजस्ता मनोरञ्जक कार्यक्रमहरू सम्पन्न गरिनेछन् । यो वर्ष यहाँ आउने जोडीहरूलाई थप मनोरञ्जन प्रदान गर्न द अग्लिज, अतृप्त ब्यान्ड, नीमा रुम्बा, इन्दिरा जोशी, सुवानी मोक्तान तथा धमेन्द्र सेवानले प्रत्यक्ष पर्फमेन्स दिनेछन् । उक्त अवसरमा कलेज फेस्टबाट छानिएका कलेजका टिमहरूले आ-आफ्नो प्रस्तुति दिनेछन् भने ग्राहकहरूले क्लोजअपलाई पठाएका मेसेजबाट छानिएका उत्कृष्ट ५ मेसेजले सामसङ ट्याब पनि जित्न सक्नेछन् ।