साप्ताहिक संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा डिफेन्डर सन्दिप राईले पहिलो नजरमै लक्ष्मी सुब्बाप्रतिको मायाबाट आफूलाई डिफेन्ड गर्न सकेनन्। खेलाडी साथीमार्फत लक्ष्मीसँग परिचित सन्दिप पहिलो नजरमै लक्ष्मीको मायामा फसे। बारम्बारको फोन कुराकानी र भेटघाटपछि एक अर्काको मायामा फसेको यो जोडी प्रेममा परेको पनि तीन वर्ष भैसकेको छ।
दीपक / आयषा
नेपाली खेलकुदमा चर्चित जोडीको नाम आउँदा तेक्वान्दो खेलाडी दीपक विष्ट र आयषा शाक्यको नाम सधैं अग्रपंक्तिमा हुन्छ। लगातार चार पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दीपकले करिब चार वर्षअघि ६ वर्ष लामो प्रेमसम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका थिए। दक्षिण एसियाली खेलको तेक्वान्दोमा स्वर्ण पदक जितेका आयषा र दीपकको १८ महिनाको छोरा पनि छ। खेलका क्रममा नै चिनजान भएका उनीहरूले लामो समय देशका लागि खेले। त्यही क्रममा उनीहरू एक-अर्कासँग नजिकिएका थिए।
शदिना / सोबिन
बास्केटबलकी खेलाडी शदिना श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएको दुई वर्ष भयो। एक्वाउटिस ९ब्अअयगतष्ह० ब्यान्डका गायक सोविन श्रेष्ठसँगको वैवाहिक जीवनमा रमाइरहेकी दिना आफ्नो एरेन्ज लभ म्यारिज भएको बताउँछिन्। घरबाट मागी विवाहका लागि प्रस्ताव आएपछि उनीहरूबीच भेट भयो। त्यही भेटघाटका क्रममा उनीहरू नजिकिए र ३ महिनापछि विवाह बन्धनमा बाँधिए।
विकास / बलु
ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठले ब्युटिसियन बलु प्रधानसँगको डेढ वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेको पनि दुई वर्ष भयो। बलु आफ्नी दिदीसँग कक्षा आठ देखि एउटै कक्षामा पढ्ने भएकाले विकासले उनलाई सानैदेखि चिन्थे। उमेर बढ्दै गएपछि उनीहरू नजिकिए। फोनवार्तासँगै भेटघाटले तीव्रता पाएपछि उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो।
चाहना / बुद्ध
उसुकी उदीयमान खेलाडी चाहना लामाको विवाह भएको करिब एक वर्ष भयो। १९ वर्षको कलिलो उमेरमै वैवाहिक जीवनमा बाँधिएकी चाहनाको प्रेम प्रसंग अलि भिन्नै छ। अध्ययनका लागि जापान पुगेका बुद्ध लामा लामो समयदेखि फेसबुक साथी भए पनि च्याट भने हुने गरेको थिएन तर पछि अचानक उनीहरूबीच च्याट सुरु भयो। दुवै एक अर्कासँग नजिकिए। त्यसको एक वर्षपछि बुद्ध नेपाल आए कलेजको छुट्टीमा। दुवैले भेट्ने निर्णय गरे। दुई महिनाका लागि नेपाल आएका बुद्ध र चाहनाको भेटघाटले तीव्रता पायो र दुवै एक अर्काको प्रेममा परे। त्यही दुई महिनाबीच उनीहरू विवाह गर्ने निर्णयमा पुगे र वैवाहिक जीवनमा बाँधिए।
नविता / राकेश
टेबल टेनिसका खेलाडी राकेश महर्जन अझै खेलाडी हुँदाहुँदै पनि स्कुलमा खेलाडीहरूलाई टेबल टेनिस सिकाउँथे। त्यहीँ विद्यार्थी थिइन् नविता। त्यहीं टेबल टेनिस सिकाउने क्रममा दुवै नजिक भए। राकेशलाई नविता निकै मन परिन् र उनले प्रपोज पनि गरे। जसलाई नविताले स्वीकार गरिन्। ९ वर्ष लामो प्रेमसम्बन्धलाई उनीहरूले एक वर्षअघि वैवाहिक जीवनमा परिणत गरे।
परीक्षा / प्रदीप
भलिबल सुन्दरी परीक्षा गुरुङले गत मंसिरमा बि्रटिस आर्मी प्रदीप गुरुङलाई आफ्नो जीवनसाथी बनाइन् अर्थात प्रदीपसँगको करिब तीन वर्ष लामो प्रेमलाई अन्ततः विवाहमा परिणत गरिन्। दाइका साथी प्रदीपसँग उनको करिब चार वर्षअघि चिनजान भएको थियो। फोनमा कुराकानी र भेटघाटका क्रममा उनीहरूबीच प्रेमले जरो गाडी सकेको थियो।
शरद / निशा
नेपाली क्रिकेट टिमका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरको प्रेम प्रशंगको चर्चा निकै हुने गरेको छ। शरदको प्रेमको चर्चा हुनुको प्रमुख कारण उनकी प्रेमीका नायिका निशा अधिकारी हुनु पनि हो। केही समय पहिले नायिका निशाले शरदसँगको प्रेमको खुलाशा आफ्नो फेसबुकमार्फत गरेकी थिइन्।
प्रस्तुती: कौशल अधिकारी