देश घुम्ने योजना कसरी मनमा आयो?
म सेप्रेट नामक गैरसरकारी संस्थामा जागिर खान्थें। उक्त संस्थाले धनकुटा, ललितपुर, काभ्रे र दोलखालाई केन्द्रमा राखेर गरिबीले थिचिएका महिला एवं विपन्न परिवारलाई आय आर्जन कसरी गर्ने भनेर सिकाउँथ्यो, तर मैले संस्थाले गरेको लगानी सदुपयोग भैरहेको देखिनँ। जागिर खाएको १३ वर्षमध्ये मैले ११ वर्ष फिल्डमा काम गरें। हाम्रो देशमा यति धेरै पढेलेखेका मानिस छन्, ज्ञानी पनि छन् तर विदेशका मानिसले हामीलाई यसो गर, उसो गर भनेर सिकाइरहेका छन्। यसरी अरूको कुरा नै सही भनेर काम गर्नुभन्दा देश र समाज बुझेर आफैंले केही गर्न सकिन्छ भनेर जागिर छाडें। अहिले आफैं अध्ययन गर्न नेपालका गाउँघर र पहाड हिँड्न थालेको हुँ। त्यतिले नपुगेर विदेशमा कसरी काम गरिरहेका छन् भन्ने कुरा सिक्न पनि धेरै ठाउँ पुगें।
यसरी हिड्दा देश बुझियो भन्ने लाग्छ?
भूगर्भविद् टोनी हेगेन विदेशी हुन्, उनले नेपालका सबै क्षेत्र घुमेर नेपालका बारेमा धेरै राम्रा योजना दिएर गए। अर्का विद्वान् हर्क गुरुङले नेपालका लागि नयाँ-नयाँ भिजन दिए। उनकै योजनामा हिडेर हामीले नेपाललाई यहाँसम्म ल्याऔं। तैपनि हामीले उनीहरूले भनेका धेरै कुरा लागू गर्न सकेका छैनौं, किनभने यहाँ विदेशीहरूको पनि आफ्नै स्वार्थ छ। नेताहरूको पनि आफ्नै स्वार्थ छ। बिनास्वार्थ हिँड्ने हो भने देश बुझ्न सकिन्छ। मैलेचाहिँ बुझें भन्ने लाग्छ।
तपाईंले बुझेको नेपाल कस्तो छ? किन आजसम्म नेपालको विकास हुन सकेन?
नेपालीहरूमा आफ्नो ठाउँमा दु:ख नगर्ने, विदेशमा जति पनि दु:ख गर्ने बानी छ। यो एउटा कारण हो। अर्को, पढेलेखेका मानिसहरू विदेशीको स्वार्थमा विभिन्न एनजिओ खोलेर बसेका छन्। उनीहरूमा विदेशीको पैसामा सुखमय जीवन बिताउने बानी परेको छ। उनीहरूका सबै नीतिका पछाडि कुनै न कुनै स्वार्थ हुन्छ। त्यो नबुझी सबै कुरा स्वीकार गर्दा हामीलाई धेरै असर पारेको छ। मुख्य कुरा, अहिलेको संसार आर्थिक कुरामा अडिएको छ। जबसम्म आर्थिक क्रान्ति हुँदैन, कुनै पनि क्रान्ति पूरा हुँदैन। हाम्रा नेताहरू आर्थिक एजेन्डामा कुरा गर्दैनन्, खालि राजनैतिक परिवर्तनका लागि मात्र क्रान्तिको कुरा गर्छन्। जबसम्म राजनैतिक दलहरू आर्थिक एजेन्डामा केन्दि्रत हुँदैनन्, तबसम्म नेपालको विकास सम्भव छैन। हामी पछाडि पर्नुको मुख्य कारण यही हो। मैले गाउँ-गाउँ घुमेर धेरै जनासँग धेरै किसिमका प्रश्न सोधेको छु, उनीहरूको कुरा सुनेको छु। म त कुनै पार्टीको होइन, ममा कुनै स्वार्थ पनि छैन। यसरी स्वतन्त्र भएर हिँड्दा वास्तविक कुरा थाहा हुन्छ। गाउँका मानिसलाई काम चाहिएको छ। उनीहरूलाई दुई छाक राम्रोसँग खान र सन्तानलाई पढाउन पाए हुन्थ्यो भन्ने चिन्ता छ।
तपाईंका सबै पुस्तक हेर्दा ती सबैमा कसरी धनी हुने, नेपाल कसरी बनाउने भन्ने कुरा मात्र छ। यस्ता कुरा कतिले पढ्छन्, कतिले लागू गर्छन्?
मेरो १५ औं पुस्तक 'मेरो देश' मात्र पढ्ने हो भने पनि देश बनाउने सूत्र पाइन्छ। यसअघि समृद्धिका लागि कृषि, जीवन बदल्न चाहनेहरू, आर्थिक विकासका सवालमा जस्ता पुस्तकमा पनि मैले व्यक्तिलाई कसरी समृद्धितर्फ उन्मुख गराउन सकिन्छ भन्ने कुरा लेखेको छु। मेरो जोड कृषिमै छ। नेपालले कृषि, पर्यटन र जलविद्युत्मा मात्र ध्यान दिने हो भने पनि विकासमा ठूलो फड्को मार्छ। मैले आफ्नो अध्ययनको विषय कृषिलाई नै बनाएको छु।
तपाईंले कुन-कुन जिल्लामा विकासका के-कस्ता सम्भावना देख्नुभयो?
सम्भावना कहाँ छैन? एउटा सानो उदाहरण दिन्छु। जुनबेला सिंगापुर मलेसियाबाट अलग भयो, त्यो बेला त्यति एउटा उजाड टापु मात्र थियो। त्यो मलेसियाको फोहोर फाल्ने डम्पिङ साइट थियो। भोजपुरको मेरो गाउँ हेम्ताङभन्दा सानो ठाउँ, आज संसारकै महत्त्वपूर्ण व्यापारिक केन्द्र भएको छ। एक जना नेताले १५ वर्षमा त्यसको काया मात्र होइन, आत्मा नै परिवर्तन गरे। सबै ठाउँमा सबै कुराको सम्भावना छ। तै पनि कृषिमा ठूलो विकास गर्न सकिन्छ।
केही उदाहरण दिन सक्नुहुन्छ?
म पूर्वदेखि सुरु गर्छु। पाँचथर जिल्लामा टंक राईले अर्थोडक्स चिया उत्पादन गर्नुहुन्छ। उहाँले उत्पादन गरेको चिया दार्जीलिङ चियाको नाममा संसारभर पुग्छ। त्यसको विज्ञापन नेसनल जिओग्राफिक टेलिभिजनमा समेत देखिन्छ। उक्त चिया अहिले इलाम, धनकुटा, तेह्रथुम, संखुवासभादेखि गोर्खा र लमजुङसम्म फैलिएको छ। संसारभर यसको माग छ।
धनकुटामा एबोकाडो, उखु, आँप, लिच्ची र चिया फलिरहेको छ। एउटै जिल्लामा गर्मीमा हुने उखु, आँप र लिच्ची अनी जाडोमा हुने सुन्तला तथा एभोकाडो फल्नु अचम्म होइन? खोचमा गर्मी र टाकुरामा जाडो हुने भएकाले त्यस्तो सम्भव छ। काम गर्ने मानिस विदेशमा भएकाले ठूलो मात्रामा उत्पादन गर्न सकिएको छैन। धनकुटाका मृगेन्द्र गुरुङले तरकारी खेतीमा गरेको मेहनत देख्दा अचम्म लाग्छ। इलाममा शम्भु राईले उत्पादन गरेको च्याऊको माग उस्तै छ।
मध्यमाञ्चलका रसुवा तथा नुवाकोटमा पैसा फलिरहेको छ। त्यहाँ जलविद्यूतका २० वटा योजनामा काम भैरहेको छ। त्यहाँ उत्पादन हुने ट्राउट माछा काठमाडौंले माग गरेअनुसार पुर्याउन सकिएको छैन। काभ्रेमा किबी खेती फस्टाइरहेको छ। केही वर्षमै यसको उत्पादनले चीनको बजार पाउने छ। दोलखामा शिव भण्डारीले तीनतले खेती गरिरहेका छन्।
यो तीनतले खेती भनेको चाहिँ के हो?
तीनतले खेती भन्नाले रूखमा फल्ने एउटा उत्पादन, हाँगा वा काण्डमा अर्को उत्पादन र भुइँमा फल्ने अर्को तरकारी वा मसलाजन्य उत्पादन। यसको उदाहरण तराईमा अझै सजिलो गरी देख्न सकिन्छ। सुख्खा ठाउँमा आँप रोप्ने, आँपको रूखमा लहरामा फल्ने तरकारी वा मसला लगाउने र भुइँमा बेसार, सखरखण्डजस्ता उपज उत्पादन गर्ने। यसरी थोरै जग्गामा खेतीमा तीन थरीका उत्पादन एकसाथ गर्न सकिन्छ। यत्ति हो, विदेशमा दु:ख गर्ने मानिसले देशमा पनि त्यति नै दु:ख गर्छु भनेर तयार हुनुपर्छ।
देशभरिका किसानलाई भेटेर 'कृषिबाट करोडपति’ पुस्तक तयार पार्नुभएको रहेछ। अचम्मलाग्दा किसान को-को पाउनुभयो?
अमेरिकाको गि्रन कार्ड छाडेर बाच्छी मात्र ज्ान्मने प्रविधि भित्र्याउने पीआर पौडेल, नवलपरासीका रवीन्द्रकुमार सहनी, पाल्पाका विष्णु अधिकारी, गुल्मीका धनबहादुर पुन, मुस्ताङका नरबहादुर हिराचन, बाग्लुङका गंगा थापा, कास्कीका भुर्जुङ खोलामा रेम्बो ट्राउट पाल्ने अमृत गुरुङ र लक्ष्मण गुरुङ अनि अर्घखाँचीको धोबेचौरमा चौरासी जना महिला मिलेर गरिएको गाई पालन देख्दा अचम्म लाग्यो। उनीहरूलाई काठमाडौंले चिन्दैन। उनीहरूलाई प्रचार पनि चाहिएको छैन, तर कृषिकर्मबाटै उनीहरू करोडपति भएका छन्।
तपाईं विदेशका धेरै कृषि र्फम घुम्नुभयो। सबैभन्दा अचम्मलाग्दो कृषि प्रणाली कहाँ पाउनुभयो?
भारतको पञ्जाब र हरियाणा कृषिबाटै माथि उठेका हुन्। तैपनि थाइल्यान्डको माछा पालनले मलाई छक्कै पार्यो। बैंकक सहरको बीचमा एउटा ठूलो नदी छ। त्यहाँ वाषिर्क लाखौं टन माछा उत्पादन हुन्छ, तर ती माछाको दाना भने पर्यटकलाई किन्न लगाइन्छ। पर्यटकहरूले ती माछा हेर्न दाना किन्नुपर्छ। दाना खान माछाको थुप्रो लाग्छ। यसले पर्यटकलाई मनोरञ्जन प्रदान गर्छ भने माछा पालकले अतिरिक्त दाना किन्नु पर्दैन। दैनिक हजारौं पर्यटकले किनेको दाना नै माछाका लागि धेरै हुन्छ। एउटा सानो सोचलाई व्यवस्थित गर्दा थाइल्यान्डले माछाबाट करोडौं भाट आम्दानी गरिरहेको छ।
स्वास्नी-छोराछोरी घरमा छाडेर १० औं वर्ष यसरी डुल्दा उनीहरू रिसाउँदैनन्?
जीवन कस्तो बाँच्ने भन्ने कुरा आफै हातमा हुँदो रहेछ। परिवारमा अलिअलि गुनासो त हुन्छ, तर बाँच्ने शैली नै यही भएपछि बानी पर्दाे रहेछ। मैले कसैलाई बिगारेको छैन। पैसा कमाएर दिन नसके पनि घरको सम्पत्ति मासेको छैन। किताब छाप्दै, बेच्दै डुल्छु। यसरी ज्ञान पनि आर्जन गर्दैछु, भोलिका दिनमा मेरो ज्ञान देशलाई पनि काम लाग्न सक्छ। यत्ति हो, देश-विदेश घुम्दा केही ऋण लागेको छ।
तपाईंले आममानिसलाई दिन खोजेको सन्देश के हो?
मैले एउटा कम्पनी खोलेको छु। त्यसैमार्फत पुस्तक बिक्री गर्छु। जति नाफा हुन्छ, त्यसबाट सरकारलाई कर तिर्छु। मेरो सन्देश के भने हरेक मानिसले बाँच्न आम्दानी गरिरहेको हुन्छ, तर कर तिर्दैन। सबै मानिसमा आ-आफ्नै रुचि हुन्छ। त्यसैअनुसार उनीहरू काम पनि गर्छन्। त्यो गर्न पाउनुपर्छ तर सँगै देशको नागरिक भएकाले कर पनि तिर्नुपर्छ। म थोरै आम्दानी गर्छु, मेरो ऋण छ भनेर कर नतिर्नु राष्ट्रप्रति बेइमानी हो। हामी ठूला-ठूला कुरा गर्छौं, तर नागरिकले गर्ने स-साना काम पनि गर्दैनौं। मेरा सबै काम यही कुरामा केन्दि्रत छन्।