साप्ताहिक संवाददाता
नेपालमा स्पाइस कम्पनीले निर्माण गरेको एन्ड्रोइड वान बिक्री गर्न थालिएको हो। यसमा दुईवटा थ्रिजी सिम प्रयोग गर्न सकिन्छ। यो फोनमा ४ दशमलव ५ इन्चको डिस्प्ले, १ दशमलव ३ गिगाहर्जको क्वार्डकोर प्रोसेसर तथा एन्ड्रोइड ४.४.४ किटक्याट अपरेटिङ सिस्टम आदि सुविधा छन्। यसलाई भविष्यमा आउने एन्ड्रोइडको लालिपप भर्सनमासमेत अपगे्रड गर्न सकिनेछ। यसको पछाडि ५ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरा छ। कम्पनीका अनुसार यसमा १० जिबी स्पाइस क्लाउड र १५ जिबी गुगल ड्राइभ गरी २५ जिबी स्टोरेज क्षमता छ। यो फोनको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ।
केही समयपहिले भारतमा एन्ड्रोइड वान फोन उपलब्ध गराइएको थियो। गुगल र उसका हार्डवेयर पार्टनर माइक्रोम्याक्स, स्पाइस र कार्बन मिलेर उक्त स्मार्टफोन तयार पारेका थिए। गुगलले भारतबाटै यस प्रकारको स्मार्टफोन उपलब्ध गराउन थालेको हो। यो गुगल र भारतीय बजारका लागि समेत महत्वपूर्ण थियो। एन्ड्रोइड वान नाम दिइएपछि कतिपय व्यक्ति यसको नामलाई लिएर अझै पनि झुक्किन्छन्। गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम पहिलेदेखि नै धेरैले प्रयोग गरिरहेका थिए। त्यसैले धेरैले एन्ड्रोइड वान र एन्ड्रोइड फोनबीच फरक छुट्टयाउन सक्दैनन्।
गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडलाई धेरै फोन कम्पनीले प्रयोग गरिरहेका छन्। त्यस्ता कम्पनीका स्मार्टफोनलाई एन्ड्रोइड फोन भनिन्छ। गुगलले नेक्सस सिरिजका विभिन्न स्मार्टफोन बनाए पनि अरूको तुलनामा लोकप्रिय हुन सकेका छैनन्। यो अवस्थामा गुगल र अन्य विभिन्न कम्पनी मिलेर एउटा प्रोग्राममा सम्झौता गरेका छन्। उक्त सम्झौताअनुसार थोरै मूल्यमा उच्च गुणस्तरीय स्मार्टफोन निर्माण गरिएका हुन् र तिनै स्मार्टफोनलाई एन्ड्रोइड वान नाम दिइएको हो। गुगलले आफ्नो अभियानका लागि भारतीय मोबाइल उत्पादक कम्पनी माइक्रोम्याक्स, कार्बन र स्पाइससँग सहकार्य गरेको छ। गुगलले तोकेको डिजाइन र मापदण्डअनुसार ती कम्पनीले मोबाइल फोन उत्पादन गरेका हुन्।
एन्ड्रोइड वानमा रेगुलर भर्सनको एन्ड्रोइड सिस्टम प्रयोग गरिएको छ। यसमा प्रयोग गरिएको अतिरिक्त कस्टमाइजेसनका कारण लो-इन्ड हार्डवेयर पनि प्रयोग गर्न उपयुक्त हुन्छ। त्यसबाहेक यसमा अन्य कम्पनीले प्रयोग गर्ने अर्थात थर्ड पार्टी युजर इन्टरफेस वा अनावश्यक फिचर हुँदैनन्। यसमा गुगलले नै निर्माण गरेको एन्ड्रोइड भर्सन प्रयोग गरिएको छ। गुगलले यसमा आफ्नै हार्डवेयर तथा सफ्टवेयर प्रयोग गरेको छ।
वातावरणमैत्री "ई-वेस्ट व्यवस्थापन" अभियान
अमेरिकी दूतावास युवा परिषद्ले वातावरणमैत्री 'ई-वेस्ट व्यवस्थापन' अभियान प्रारम्भ गरेको छ। 'ई-वेस्ट व्यवस्थापन अभियानको नेतृत्व गरिरहेका अनिल आचार्य भन्छन्— 'हामीले घर र अफिसमा बिग्रिएर वा काम नलाग्ने भएर थन्किएका विद्युतीय फोहोरहरू वातावरणमैत्री हिसाबमा रिसाइकल गरेर पुन: प्रयोगमा ल्याएका छौं। त्यसबाहेक विभिन्न समुदायका युवाहरूलाई प्रशिक्षण दिएर रोजगारीका लागि प्लेटर्फम तयार पारेका छौं। ग्रामीण भेगमा रहेका स्कुल तथा पुस्तकालयमा ई-लाईब्रेरी स्थापना गर्न पुन: प्रयोगमा आएका कम्युटर, ल्यापटप, प्रिन्टिङ मेसिन एवं टेलिफोनजस्ता सामग्रीहरू नि:शुल्क प्रदान गरिनेछ।
यो अभियानअन्तर्गत घर र अफिसमा बिग्रिएर वा काम नलाग्ने भएर थन्किएका विद्युतीय सामग्रीलाई वातावरणमैत्री हिसाबले इन्जिनियरहरूको सहकार्यमा रिसाइकल गरेर ग्रामीण भेगका स्कुल, लाइब्रेरी, युवा क्लब एवं समुदायमा नि:शुल्क प्रदान गरिनेछ। अभियानको सुरुवात गर्न विभिन्न स्कुल, अफिसहरूबाट बिग्रिएर कम्युटर, ल्यापटप, प्रिन्टिङ मेसिन, टेलिफोन तथा टेलिभिजन आदि संकलन गरिएको थियो।
'नेपाली समाज विकासमा सक्रिय भएर लागेका विभिन्न समुदाय र पेशासँग आबद्ध युवाहरूले विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। 'ई-वेस्ट व्यवस्थापन' त्यसैअन्तर्गतको एक हो। पूर्वदेखि पश्चिमसम्मका युवाहरू परिषद्मा रहेर एक-अर्कासँग सहकार्य गरिरहेका छौं। यसले युवाहरूमा नेतृत्व विकास, आत्मविश्वास र क्षमता अभिवृद्धि गरेको छ,' अमेरिकी दूतावास युवा परिषद्की स्मृति ढुंगानाले बताइन्।
संकलन गर्ने काम सिध्याएपछि महिला, दलित, अल्पसंख्यक एवं शारीरिक असक्षमता भएकासहित १४ जनालाई प्राथमिकतामा राखेर सिटिइभिटीबाट औपचारिक कक्षासमेत सञ्चालनमा ल्याइएको छ। 'प्रशिक्षार्थीहरूलाई अहिले प्रशिक्षणका दौरान सिटिइभिटीले कोर्स प्रदान गरिरहेका छौं। यो अभियानमा सहभागि भएर उनीहरूले उद्यमशील तालिम हासिल गर्नेछन्,' प्रशिक्षक कमल खत्रीले बताए।
'ई-वेस्ट व्यवस्थापन' अभियानमा प्रशिक्षण लिइरहेकी प्रशिक्षार्थी शर्मिला श्रेष्ठले यसले शिक्षा र अवसर सिर्जना गरेको अनुभव सुनाइन्। 'ई-वेस्ट व्यवस्थापन' अभियानअन्तर्गत मैले विद्युतीय सामग्रीहरूलाई पुन:प्रयोगमा ल्याउन सकिने विभिन्न सीप सिक्न पाएकी छु। अहिले सिकेका कुरालाई भविष्यमा प्रयोग गर्न सक्छु भन्ने विश्वाससमेत छ, -श्रेष्ठले बताइन्।
टि्वटरको भिडियो
टि्वटरले अब आफ्नै भिडियो प्लेटर्फम बनाउने घोषणा गरेको छ। यसले हाल प्रचलित गुगलको युट्युबसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। 'टि्वटर भिडियो प्लेटर्फम' नामक उक्त साइटमा १० मिनेटसम्मका भिडियो हेर्न सकिनेछ, यद्यपि फाइल साइजमा भने कुनै सीमा निर्धारण गरिएको छैन। यसमा एमपी फोर तथा एमओभी फाइल पनि अपलोड गर्न सकिनेछ, तर युट्युब वा अन्य कुनै भिडियो साइटबाट लिइएको भिडियोलाई भने यसले सपोर्ट गर्नेछैन। कम्पनीका अनुसार भिडियो ड्यासबोर्डबाट भिडियो अपलोड गर्न सकिनेछ, तर कुनै अन्य समयका लागि सेड्युल गर्ने सुविधा भने उपलब्ध हुनेछैन।
माइक्रोसफ्टको ८४ इन्चको ट्याब्लेट
माइक्रोसफ्टले एउटा सानो कोठाको भित्ताजत्रो विशाल आकारको ट्याब्लेट बजारमा ल्याउन लागेको छ। ८४ इन्चको अल्ट्रा हाइडिफिनिसन 'फोर के स्क्रिन डिस्प्ले' सुविधा युक्त यो ट्याब्लेट अहिलेसम्मकै सबैभन्दा ठूलो ट्याब्लेट हो। सरफेस हब नाम दिइएको यो ट्याब्लेट सरफेस ट्याब्लेटकै विकसित रूप हो। ड्युल क्यामेरा, मोसन सेन्सर, ब्लुटुथ, वाइफाई आदि जडान गरिएको तथा मल्टिटच स्क्रिन सुविधा भएको यो ट्याब्लेट माइक्रोसफ्टको सबैभन्दा नयाँ विन्डोज टेन अपरेटिङ सिस्टमबाट चल्ने बताइएको छ।
'अल इन वान' विशेषता र सुविधा भएकाले यो डिभाइसलाई सेलफोन, पर्सनल कम्प्युटर, बिम प्रोजेक्टर, स्कुलकलेजको डिजिटल ह्वाइट बोर्ड, भिडियो कन्सफ्रेन्सिङ टुल, स्काइप च्याट, सिनेमा हेर्ने भिडियो, स्मार्ट टेलिभिजनलगायत जुनसुकै डिभाइसका रूपमा प्रयोग गर्न सकिन्छ। सरफेस हब ट्याब्लेट ५५ इन्च स्क्रिनको सानो आकारमा पनि उपलब्ध हुनेछ। यो ट्याब्लेटमा ब्लुटुथ, क्यामेरा, स्पिकर, वाइफाई तथा मोसन सेन्सर सुविधाहरू जडान गरिएको छ। अहिलेसम्म मूल्य नतोकिएको यो डिभाइस केही महँगो हुने अनुमान गरिन्छ।
— भोला
मेरो फोन (Samsung Galaxy S4) मा मल्टी विन्डोमा कसरी काम गर्न सकिन्छ? मैले केही दिनदेखि ल्यापटपमा हुने प्राय:जसो काम मोबाइलबाटै गर्ने गरेको छु।
उपासना, इमेलबाट
सामसुङका पछिल्ला संस्करणका फोनमा मल्टी विन्डो सबैभन्दा उल्लेखनीय सुविधा मानिन्छ। यो सफ्टवेयरलाई अहिलेसम्मकै अययभिकत सफ्टवेयर पनि भनिएको टिप्पणी पाइन्छ। यसलाई प्रयोग गर्न क्विक सेटिङमा जानुपर्छ। त्यहाँ पहिले मल्टी विन्डोलाई इनेबल गर्नुपर्छ। त्यसपछि आफ्नो फोनको नोटिफिकेसन बारलाई तल ड्रयाग गर्नुहोस्। त्यसपछि ब्लक आइकनलाई हिट गर्नुहोस्। उक्त ब्लक आइकन स्क्रिनको दायाँ भागमा माथि हुन्छ। यतिबेला मल्टी विन्डोको आइकन इनेबल भएको हुनुपर्छ। त्यसपछि मल्टी विन्डो बारहरूलाईसजिलै ट्यागल गर्न सकिन्छ। त्यो बारलाई स्क्रिनको कुनै पनि भागमा सजिलै डोर्याउन सकिन्छ। त्यसका लागि उक्त बारमा केही समयसम्म थिचिरहनुपर्छ। यहाँ अर्को उल्लेख गर्नुपर्ने कुरा भनेको मल्टी विन्डोले सबैजसो एप्सलाई समेट्न सक्छ, अर्थात् जुनसुकै एप्स पनि यसमा बसेर काम गर्न, खोल्न सकिन्छ। त्यस्तै मल्टी विन्डोमा कुनै एप चलाउन मन छैन भने त्यसलाई ड्रयाड एन्ड ड्रपद्वारा हटाउन सकिन्छ। त्यसका लागि पहिले मल्टी विन्डोको एडिट भन्ने अप्सन खोल्नुपर्ने हुन्छ।
डा. सुदन झा