प्रहरीका अनुसार नौवस्ता-४ का वीरबहादुर सुनारले आफ्नी पत्नी कल्पनाले सामान्य वादविवादमा कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिए। दुवै जनालाई बोलाएर छलफलपछि मिलापत्र भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीले बताएका छन्।
दुईवटा घटना भने पत्नी माइत गएर बेवास्ता गरिएको सम्बन्धमा छन्। जाजरकोट, पजारु-७ का २२ वर्षीय नरेन्द्र
न्यौपानेले पत्नी खड्कसरा माइती घर कोहलपुरमै बस्ने गरेकाले पीडित भएको बेहोरासहितको निवेदन दिए। दुवै पक्षलाई बोलाएर छलफल चलाए पनि उनीहरूबीच सहमति हुन नसकेको प्रहरीले जनाएको छ।
त्यस्तै रझेना-२ का रविलाल शर्माले पनि पत्नी सरस्वती माइतीमै बस्ने गरेको उल्लेख गर्दै निवेदन दिएका छन्। त्यसमा विपक्षी फेला नपरेको डिएसपी शाहीले बताए। घरेलु हिंसाका सिकार पुरुषसमेत हुने गरेको तर, उनीहरू घटना बाहिर ल्याउँदा आफ्नो आत्मसम्मानमा चोट पुग्ने डरले प्रहरीसमक्ष खुलेर आउन नसकेको बताइन्छ।महिलामाथि हुने घरेलु हिंसाका अधिकांश घटना भने मिलापत्रमा गएर टुंगिने गरेका छन्। एक वर्षको अवधिमा इलाका प्रहरी कार्यालय कोहलपुरमा घरेलु हिंसाका ६४ वटा निवेदन दर्ता भएकोमा ४५ वटा घटना मिलापत्रमा टुंगिएको प्रहरीले जनाएको छ।
६ जनाले श्रीमान्माथि कारबाहीका लागि निवेदन दिए पनि अर्को पटक फेरि सम्पर्कमा नआएको देखिएको छ। पीडितले निवेदन दिएपछि पीडकपक्ष स्थानीय व्यक्तिको सम्पर्कमा जाने र निवेदकलाई फकाएर-फुल्याएर समझदारीमा ल्याउने गरेकाले त्यस्तो भएको हो। यस्ता मुद्दाको मनसाय पारिवारिक मिलापसमेत कायम गर्नु रहेकाले मिलापत्रमा जोड दिइने प्रहरीको भनाइ छ।