डान्स इन्डिया डान्सको लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर स्टेजमा आउनासाथ हुटिङ सुरु भयो— तेरिया हाई हाई। उनले नृत्य गर्दा युवायुवतीहरूले उनीसँगै नाचेर साथ दिए। लगत्तै लोकदोहोरी गायक खुमन अधिकारीले आफ्नो प्रस्तुतिमार्फत् महोत्सवलाई मनोरञ्जक बनाए। त्यसपछि भारतीय मुलका नेपाली युवा प्रशान्त तामाङले गाउन थाले— यो मन त मेरो नेपाली हो। गीत गाउन थालेपछि सयौं युवा युवा युवतीले तामाङलाई साथ दिएका थिए। उद्योग वाणिज्य संघ गुलरियाद्वारा आयोजित मध्यपश्चिम पर्यटन, कृषि, सांस्कृतिक एवं औद्योगिक व्यापार महोत्सवमा तेरियाको गीत र नृत्य हेर्न भारतबाट समेत ठूलो संख्यामा दर्शक आएका थिए।