साप्ताहिक संवाददाता
भारतमा एक जना सायर थिए— सायर लुधियानवी। उनले एउटा सायरी लेखेका छन्— शाहजहाँ, ताजमहल बनाके तुमने उडाया है मजाक हम गरिवोका प्रेमका।
अर्थात् शाहजहाँले त्यो बेला नै करोडौं रुपैयाँ राज्यकोषको पैसा खर्च गरेर ताजमहल बनाएका थिए। उनले २८ देशबाट बहुमूल्य ढुंगा बटुलेर त्यसलाई शोभायमान तुल्याए। २१ वर्ष लगाएर निर्माण गरिएको ताजमहलमा प्रत्येक दिन १ हजार व्यक्तिले काम गरेका थिए। विश्वका उत्कृष्ट कालिगढहरूले त्यसलाई आजको रूपमा ढाले। यत्रो भव्यता अनि खर्चगराइ देखेर सायर लुधियानवीले भनेका छन्, 'ताज महल प्रेमको प्रतीक त होला, तर त्यसले गरिबको प्रेमको अपमान गरेको छ। के प्रेम प्रदर्शन गर्ने वस्तु हो?'
०००
शाहजहाँ बादशाह जहाँगीर पछि मुगल साम्राज्यको उत्तराधिकारी भएका थिए। आश्चर्य त के भने शाहजहाँले मुमताजका प्रेमीलाई मृत्युदण्ड दिएर सत्ताको बलमा मुमताजसँग विवाह गरेका हुन्। मुमताजको वास्तविक नाम अन्जुमन बानो थियो। अर्काले राखेको जुठो नाम भन्दै उनले नाम परिवर्तन गरी मुमताज राखे। प्रेम गर्ने मानिसले अर्काका प्रेमीलाई मार्न लगाएर उसँग विवाह गर्छ? उसको पुरानो नाम परिवर्तन गर्छ? प्रेम स्वतन्त्रता हो कि बन्धन?
०००
जुनबेला मुमताज शाहजहाँकी पत्नी भएर दरवार भित्रिइन्, त्यति बेलासम्म शाहजहाँले दुईवटासँग विवाह गरिसकेका थिए। प्रेम गर्नेले विवाह किन गर्नुपर्यो, त्यो पनि दुईवटी सौतामाथि? ठिकै छ, दुईवटी विवाह गरेपछि मुमताजसँग शाहजहाँको मन बस्यो रे, त्यस्तो हुन सक्छ। आश्चर्यत तब हुन्छ, जब शाहजहाँले मुमताजसँग विवाह गरेपछि पनि अरु तीनवटी महिलासँग विवाह गरेको कुरा इतिहासमा पढ्नुपर्छ। यो मुमताजसँगको प्रेमको अपमान होइन?
०००
मुमताजले शाहजहाँबाट १३ वटा सन्तान जन्माइन्। मुमताज शाहजहाँकी प्रेमिका हुन् कि उनको यौन खेलौना? प्रेममा बसिभूत हुँदा यौनसम्बन्ध अचानक घट्न सक्छ। मुमताजको मृत्युको कथाले मन अझ द्रवित बनाउँछ। मुमताजको मृत्यु शाहजहाँको १४ औं सन्तान जन्माउन नसकेको प्रसव पीडाका कारण भयो। एउटी महिलाको यो भन्दा दारुण अवस्था के हुन सक्छ? यस्तो अवस्थामा शाहजहाँले पश्चात्ताप गर्दै बनाएको ताजमहललाई कसरी प्रेमको प्रतीकका रूपमा लिन सकिन्छ?
०००
शाहजहाँले त्यत्रो खर्च जुटाएर ताजमहल बनाए अनि मुमताजको शवलाई त्यहीँ 'दफन' गरे, तर पीडा त्यो बेला हुन्छ जब उनले ताजमहल बनाउने उत्कृष्ट कालिगढहरूको हात काटिदिए। ती कलाकारले अर्को ताजमहल बनाउन नसकून् भनेर उनले त्यसो गरेका थिए। प्रेम गर्ने व्यक्ति कलाप्रेमी पो हुन्छ। जो नयाँ कला निर्माण नहोस् भन्ने चाहन्छ र निर्दयपूर्वक कलाकारको हात काटिदिन्छ, त्यस्तो व्यक्ति कसरी प्रेमी हुनसक्छ?