हङकङ सहर चिनियाँ नयाँ वर्षको रौनकमा चुर्लुम्मै डुबेको थियो । लामो बिदाका कारण फुर्सदिला भएका नेपालीहरूलाई 'एलजी नाइट' मनोरञ्जनको गतिलो खुराक बन्यो । मनले खाएका हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य 'मह' लगायत किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, नरेन्द्र कशांकार, मोहितवंश आचार्य, एडि्रन प्रधान देखि र्यापर समूह 'लाहुरे' का आशिष राना र गणेश परियारसहित डेढदर्जन कलाकारले लगातार दुईदिन युङ लङ थिएटर हल तताए । मुलुक जातीय द्वन्द्वमा फसे त्यसबाट निम्तिन सक्ने प्रभावका सम्बन्धमा सचेत गराइएको महको व्यग्ंयात्मक प्रहसन बाहुन बहादुर/नेवार बहादुरले मनोरन्जनसँगै गतिलो सन्देश दियो । महकै अर्को प्रहसन 'म डनको फोटो स्टुडियो' पनि उत्तिकै रुचाइयो, जसमा राजनीतिक संरक्षणमा मौलाएको गुण्डागर्दी र बेरोजगारीले युवाहरू विदेश पलाएन हुनुपरेको अवस्थाप्रति तिखो छेडखानी गरिएको थियो । किरण केसी र शिवहरि पौंडेलको प्रहसन 'बोर्डर चेकपोष्ट' समेत कम सन्देशमूलक थिएन । उक्त प्रहसनमा आफ्नो मुलुकभन्दा छिमेकमुखी हुने नेताहरूप्रति तिखो व्यंग्यवाण प्रहार गरिएको थियो ।
कार्यक्रमका उद्घोषक जितु नेपाल थिए । चिनियँा नयाँ वर्षमा नियमित आयोजना भएको एलजी सँाझमा 'लाहुरे' ले आफ्ना चर्चित गीत सुनाएर युवाहरूमा जोश भर्यो । लाइभ ब्यान्डसहित कार्यक्रमको अन्तिममा आएका एडि्रन प्रधानको समूहले अन्य गीतका साथै देशप्रेमको भावनाले ओतप्रोत 'यो मन त मेरो नेपाली हो...' गाउँदा पूरा हल जुरुक्कै उचालियो । जापानी कलाकारहरूको जोशिलो नृत्य कार्यक्रमको अर्को आर्कषण रह्यो ।