रूपन्देहीको देवदहमा पहिलो पटक आयोजित प्रथम देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको रमाइलो आइतबार सम्पन्न भएको छ । फागुन १ गते प्रारम्भ भएको महोत्सवमा लोकदोहोरीका नारायण रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, नवीन पौडेल, रामजी खाँड, शिरीष देवकोटा, कुलेन्द्र विक, हुम गैरे, वैकुण्ठ महत, सपना गाहा, बालचन्द्र बराल, सीता रानाले लोकसंगीतपारखीहरूलाई छमछमी नचाए । यस्तै प्रमोद खरेल, शिव परियार, हेमन्त शर्मा, तिलकबम मल्ल, हिमाल सागरले सुगम एवं पप संगीतप्रेमी दर्शकलाई झुमाए । राजेश हमाल र जीवन शर्माको पनि प्रस्तुति रहेको महोत्सवमा हास्यकलाकार कुमार कट्टेल, अर्जुन घिमिरे, देवीराम पराजुली, विष्णुजी पाण्डे र पुरुषोत्तम भण्डारीले दर्शकहरूलाई पर्याप्त हँसाए । उक्त अवसरमा आयोजित प्रथम देवदह 'सिङगिङ आइडल' तथा 'डान्सिङ आइडल'को उपाधि क्रमश: सुनिल बारघरे र सन्जना गुरुङले जिते । गायनतर्फ २६ जना प्रतिपस्र्धीलाई पछि पार्दै केरवानीका सुनिलले उपाधि जितेका हुन् भने नृत्यतर्फ २१ जनालाई पछि पार्दै देवदह खैरेनीकी सन्जनाले उपाधि चुमेकी हुन् ।