के गर्ने ?
- कतिपय परीक्षार्थी प्रश्नपत्र हातमा पर्ने बित्तिकै उत्तर लेख्न थाल्छन् । यसरी उत्तर लेख्दा कहिल्यै अंक प्राप्त हुँदैन । अत: पहिले प्रश्नको मागलाई ठीकसँग बुझ्नुपर्छ, फेरि त्यसको महत्वपूर्ण भागलाई रेखांकित गरेपपछि मात्र उत्तर लेखन आरम्भ गर्नुपर्छ ।
- प्रश्नसँग सम्बन्धित विशिष्ट शब्द जस्तो कि विवेचना, विश्लेषण, आलोचनात्मक समीक्षा आदिलाई पनि बुझ्नुपर्छ । यी शब्द उत्तरको रूपरेखा सुनिश्चित गर्न सहायक हुन्छन् ।
- जुन प्रश्नको उत्तर परीक्षार्थीलाई थाहा हुन्छ त्यसमा उनीहरू शब्दसीमाको ख्याल गर्दैनन् र जहिले पनि बढी लेख्छन् । यसको प्रभाव अन्य प्रश्नमाथि पर्छ । त्यसैले शब्दसीमाको पालन आवश्यक छ जसले गर्दा सबै प्रश्नको सन्तुलित उत्तर दिन सकियोस् । शब्दसीमाको पालन नगर्दा अंक पनि काटिन्छ ।
- परीक्षामा कुनै पनि विषयको राम्रो प्रस्तुतिका लागि आवश्यक छ- त्यसको बोधगम्यता । एउटा प्रभावशाली उत्तरमा विषयको तथ्यात्मक जानकारी मात्र पर्याप्त हुँदैन अपितु त्यसमा स्पष्टता, विचारमा सम्बद्धता, विश्लेषण, क्रमबद्धता र प्रवाह आदि हुनु आवश्यक छ । कतिपय अवस्थामा कुनै प्रश्नको उत्तर जान्दाजान्दै पनि त्यसको सुरुवात कसरी गर्ने ? भन्ने भ्रम देखापर्छ । त्यसैले कुनै पनि प्रश्नको उत्तर लेख्नु पूर्व सबैभन्दा पहिले त्यसको प्रारूप बनाउनुपर्छ । उत्तर लेख्दा एउटा राम्रो भूमिका, मुख्य भाग र निष्कर्ष आदि उल्लेख हुनुपर्छ ।
- लोकसेवा आयोगको परीक्षामा भाषामा राम्रो पकड भएका परीक्षार्थीले सधैं राम्रो प्रदर्शन गर्छन् । भाषाको विविध प्रयोगलाई बुझ्नुपर्छ । जुन शब्दको व्याकरणीय शुद्धतामा द्विविधा छ त्यहाँ कुनै पर्यायवाची शब्द प्रयोग गर्नु उपयुक्त हुन्छ । परीक्षामा यथासंभव सरल र सहज भाषा नै प्रयोग गर्नुपर्छ । भाषालाई अलंकारिक बनाउनुभन्दा सम्प्रेषणीयताको गुणमा ध्यान दिनुपर्छ ।
- आफ्नो उत्तरलाई अरुभन्दा भिन्न देखाउन यथासम्भव ग्राफ, मानचित्र र महत्वपूर्ण पंक्तिलाई रेखांकित गर्ने जस्ता कार्य गर्नुपर्छ । उत्तरलाई प्रासंगिक बनाउन त्यसलाई समसामायिक घटनासँग जोडेर पनि देखाउन सकिन्छ ।
- यदि प्रश्नको स्वरूप निबन्धात्मक छ भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । निबन्धमा शब्दको संख्या वा त्यसको लम्बाइ होइन अपितु त्यसको सटीक प्रस्तुतीकरण महत्वपूर्ण हुन्छ । त्यसैले यसमा भाषा, विचार, स्पष्टता, क्रमबद्धतालाई वा लेखनमा प्रवाह आदिको ख्याल राख्नुपर्छ ।
- परीक्षाका लागि निर्धारित समय महत्वपूर्ण हुन्छ । धैर्यपूर्वक प्रश्नपत्र हेर्नुपर्छ र यो निर्णय लिनुपर्छ कि कुन-कुन प्रश्न हल गर्नुछ । सबै प्रश्नको उत्तर लेखिसकेपछि २० देखि २५ मिनेटको समय केही तथ्यात्मक गल्ती सुधारका लागि छुट्याउनुपर्छ ।
- सबैभन्दा महत्वपूर्ण कुरा धैर्य र सहजता हो । पूरै तयारीका बावजुद परीक्षामा केही प्रश्न यस्ता आउँछन् जुन अनपेक्षित हुन्छन् । यस्तो अवस्थामा धैर्यपूर्वक आफूले जानेको प्रश्न हल गर्नुपर्छ र त्यसपछि कठिन प्रश्नतर्फ बढ्नुपर्छ ।
के नगर्ने ?
१. प्रश्न पढ्न हतार
२. शब्दसीमाको उल्लंघन
३. अलंकारिक भाषाको प्रयोग
४. कम अंकभार भएको प्रश्नको उपेक्षा
५. निबन्धात्मक प्रश्नविना प्रारूप लेख्नु
६. अनिवार्य प्रश्नको उपेक्षा
७. ठूलोठूलो अनुच्छेद लेख्नु
८. समयसीमाको ख्याल नगर्नु
९. जे मन लाग्यो त्यही लेखिदिने प्रवृत्ति
१०. परीक्षा हलमा तनावग्रस्त रहनु हुँदैन
विवेचना/ विश्लेषण गर्नुहोस् :
विषयको विभिन्न पक्षको के, किन, कसरी आदिका आधारमा पड्ताल गर्नु ।
समीक्षा/आलोचना गर्नुस् : यस्ता प्रश्नमा विषयको समग्र जानकारी दिँदै त्यसको सकारात्मक पक्षलाई उद्घाटित गरेर मात्र नकारात्मक पक्ष देखाउनुपर्छ ।
मूल्यांकन गर्नुहोस् : यसमा विषयको महत्व अथवा त्यसको विशिष्टतालाई ध्यानमा राख्दै आफ्नो राय (धारणा) स्पष्ट पार्नुपर्छ ।
स्पस्टिकरण : दिइएको विचार अथवा तथ्यलाई सुल्झाएर लेख्दै त्यसमा निहित अर्थ खोल्नु ।
महत्व बताउनुहोस् : विषयमा निहित विशिष्टतालाई अगाडि ल्याउनु ।
प्रासंगिकता : वर्तमान सन्दर्भमा विषयवस्तुको मूल्यांकन गर्नु ।
परीक्षण गर्नु : प्रश्नको विभिन्न पक्षलाई उजागर गर्दै त्यसको सत्यता वा असत्यताको जाँचपड्ताल गर्नु ।
विशदीकरण : व्याख्या तथा वर्णनको समुचित समन्वय गरेर उत्तर लेख्नु ।