साप्ताहिक संवाददाता
कम समयमा धेरै थोक पढ्नु छ । पढेको कुरा दिमागमा घुसेन भने आफ्नो क्षमतामै शंका गर्न मन लाग्छ, अनि सुरु हुन्छ तनावको खेती । हामी चाहन्छौँ एकचपटक पढेकै भरमा सबै दिमागमा घुसोस्, तर त्यो सम्भव छैन । एकदमै थोरैमात्र मान्छे हुन्छन् जसलाई एकपटक पढेकै भरमा सबै दिमागमा घुस्छ । प्रत्येक मान्छेको आ-आफ्नै क्षमता हुन्छ । अरूसँग आफूलाई कहिल्यै तुलना गर्नु हुँदैन । फेरि यो सब हाम्रो पढ्ने तरिकामा पनि भर पर्छ । हामीकहाँ सजिला कुरालाई पनि अप्ठ्यारो बनाएर पढ्ने चलन छ । अप्ठ्यारा कुरालाई सजिलो बनाउन सक्नुपर्छ । केही सामान्य कुरामा ध्यान पुर्याइयो भने मात्र पनि राम्रो अंकमा उत्तीर्ण हुन सकिन्छ ।
- एककोहोरो पढिरहनुभन्दा पनि पढेको कुरालाई किताब वा कापी छोपेर सम्झने प्रयास गर्ने वा लेख्ने प्रयास गर्ने । यसरी आफूले पढेको कुरा हामी हिँडिरहेका बेला, खाना खाने बेला वा ट्वाइलेट गएका बेला पनि सम्झिन सक्छौँ । सम्झने प्रयास गर्दा कतै बिर्सिएजस्तो भयो भनेँ, तुरुन्त किताब वा कपी खोलेर हेर्ने ।
- दिनमा एकपटक -सकेसम्म बेलुकी) नजिकका साथीभाइ भेट्ने र आफूले दिनभरि पढेको कुरालाई एक्स्प्लेन गर्ने । भनिन्छ, ८० प्रतिशत ज्ञान मान्छेले आफूले जानेको कुरा अरूलाई बुझाएर प्राप्त गर्छ । यसो गर्दा पढेको कुरा बिर्सने चान्स एकदमै कम हुन्छ । सकेसम्म त विचार मिल्ने साथीहरूको समूह तयार गरेर पढ्नु उपयुक्त हुन्छ ।
- आफूले जे पढिरहेको छ, त्यही टपिकबाट एक्जाममा प्रश्न आउँछ भन्ने विश्वाश लिएर पढ्ने । कतिपय विद्यार्थीले हरेक टपिक पढ्ने बेलामा, 'यसबाट त नआउला' भन्दै लापर्वाही गरेको पाइन्छ ।
- प्राय: विद्यार्थीहरूमा एक्जामको प्रेसर लिएर रात-रातभरि निद्रा माया मारेर पढ्ने बानी हुन्छ । शरीरलाई चाहिनेजति निद्रा पुगेन भने पढाइ अझ बिग्रन्छ । रातभरि पढिएको छ भने, दिउँसो चैँ मज्जाले सुत्दा हुन्छ ।
- पढ्दा निद्रा लाग्ने समस्या छ भने पेट अटेसमटेस हुने गरी नखाऊँ । बेला-बेलामा चिसो पानीले मुख धुने । चिया वा कफी पनि निद्रा भगाउने उपाय हुन सक्छ । पढ्ने बेलामा मुखमा चकलेट वा चुइगम हाल्ने हो भने त्यसले पनि निद्रा लाग्ने समस्यामा केही कमी ल्याउँछ ।
- अति आवश्यक सूत्र छन् भने देखिने गरी भित्तामा टाँस्ने । बारम्बार एउटै कुरा देख्दा त्यसको सम्झना भैरहन्छ ।
- मिल्ने जति कुरालाई आफ्नो अनुकूलको सूत्रमा वा सर्ट र्फममा वा कोड भाषामा ढालेर पढ्ने ।
- दिमागमा घुसिरहेको छैन भने जबरजस्ती नपढ्ने । त्योभन्दा राम्रो आफूलाई के गर्न मन लागिरहेको छ, पहिल्याउने अनि केही समय रिफ्रेसमेन्ट लिने । एक्जाम छ भन्दैमा जतिबेला पनि हातमा किताब लिएर बस्नुपर्छ भन्ने छैन ।
- हाम्रो खराब बानी के छ भने हामी एक्जाममा मात्र पढ्छौँ । यसले ठूलो भार पर्छ । सुरुदेखि नै थोरै-थोरै पढ्दै जाने हो भने, एक्जामका बेला अनावश्यक लोड हुँदैन ।
- किताब हेर्दा आँखा दुख्यो भने आवाजसहित पढ्ने र मोबाइलमा रेकर्ड गर्ने अनि त्यसलाई बारम्बार सुनिरहने । यसरी तयार भएको अडियो बुक बाहिर हिँड्दा पनि सुन्दै हिँड्न सकिन्छ ।
- धेरै तनाव नलिने । हामी फेल हुन चाहँदैनौँ । तनावको प्रमुख कारण पनि त्यही हो । एउटा परीक्षामा असफल हुँदैमा जिन्दगी सकिँदैन । कहिलेकाहीं फेल भएर पनि धेरै कुरा सिकिन्छ । कम्तीमा पास हुनुको महत्व थाहा हुन्छ । त्यसैले फेल भइएला कि भन्ने भय पालेर नपढौँ ।
— सुविन