टाइटानिक हिरोले आफूले लगाएको चस्मा खोलेर दिएका थिए, बर्दियाका एउटा सामान्य किसान भदई थारूलाई । तीन वर्षअघिसम्म भदईलाई त्यो चस्माको महत्व थाहा थिएन । जब थाहा पाए, त्यसलाई सामान्य मान्ने कुरै भएन । त्यसैले उनी यो चस्मा विशेष पर्व-उत्सवमा मात्र लगाउँछन् । अन्य समयमा खोलेर घरको दराजमा जतनले राख्छन् । दराजको साँचो उनकै खल्तीमा हुन्छ ।
२०६० साल फागुनको कुरा हो । बर्दियाको ढोढरी गाविसस्थित गौरी सामुदायिक वन उपभोक्ता समितिले घाँसपातका लागि खरखडाई खुल्ला गरेको थियो । उक्त सामुदायिक वनमा आबद्ध ढोढरी-९ का भदई पनि खरखडाईका लागि जंगल गए । घाँस काट््ने क्रममा झाडीमा रहेको बाघले उनीमाथि एक्कासि आक्रमण गर्यो ।
बाघको आक्रमणबाट उनको देब्रे आँखा गुम्यो । सधैंका लागि आँखा गुमाएका भदईलाई बाघ देखेर रिस उठनुपर्ने हो । 'तर मैले त्यसरी सोचिनँ । उसको आफ्नो बस्ने घरमा अतिक्रमण गरेकाले बिच्किएको अनुमान लगाए र त्यो दिनदेखि बाघको घर जोगाउने अभियानमा लागेको छु ।' उनले भने ।
हो, बाघ र त्यसको घर संरक्षण अभियानमा लागेका भदईलाई बाघ संरक्षण दूतसमेत रहेका टाइटानिक हिरोले उनको संरक्षणप्रतिको समर्पण देखेर बर्दिया आएका बेला आफूनजिक बोलाएर चस्मा दिएका हुन् । त्यसैले अमेरिकी ब्रान्ड स्यारेराको चस्मालाई उनले यति धेरै माया गरेका छन् ।
'बाघले आक्रमण गरेको ठाउँमा बेलायतकी एउटी सुन्दरीसँग फिल्म सुटिङ गर्ने अवसरसमेत पाएँ,' थारुले भने, 'राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धर आदि कलाकारसँगै बस्ने मौका मिल्यो ।' भदई चस्मा मात्र होइन, टाइटानिक हिरोको तस्बिरअंकित टि-सर्ट पनि लगाउँछन् ।