साप्ताहिक संवाददाता
भ्रमणमा किम कार्दशिन
चर्चित सेलिब्रेटी किम कार्दशिनले फ्यामिली होलिडेका लागि मोन्टेनाको हिमाली क्षेत्र रोजेकी छिन् । यो यात्रामा उनका साथमा छोरी नर्थ र दुई बहिनी सहभागी थिए । किमका निकट पुरुषमित्र जोनेथन चेबनलाई पनि यात्रामा समेटिएको थियो । जोनेथन द डिस डटकमका फाउन्डर हुन् । प्राप्त जानकारीअनुसार किमले जोनेथनकै बर्थ डेका लागि उक्त होलिडे प्लान गरेकी थिइन् । यो रोमाञ्चक यात्राका क्रममा किमले छोरीका साथ स्किइङ गरेकी थिइन् । कालो कलरको स्की ज्याकेट लगाएर स्किइङ गरेकी किमले स्किइङ गर्न खुबै डर लाग्ने बताएकी थिइन्, तर पहिलो पटकमै उनले लामो समयसम्म स्किइङ गरिन् ।
लडिन म्याडोना
ब्रिट्स एवार्डमा प्रस्तुति दिइरहेकै बेला लोकप्रिय पप स्टार म्याडोना स्टेजमै लडिन् । स्टेजमा धमाकेदार प्रस्तुति दिइरहेकै बेला सहकलाकार साथीले म्याडोनाको ड्रेस कुल्चिएपछि उनी अचानक सन्तुलन गुमाउँदै लडेकी थिइन् । स्टेजमा पछारिए पनि कुशल प्रस्तोताका रूपमा म्याडोनाले पर्फमेन्स रोकिनन् । बरु जुरुक्क उठेर पर्फम दिन थालिन् । स्टेज म्यानेजमेन्ट टिम पनि उनी लडेपछि के गर्ने भनेर हडबडिएको थियो, तर स्थितिलाई स्वयं म्याडोनाले सम्हालिन् । म्याडोना लडेको खबरले उनका प्रशंसकहरू चिन्तित भएका थिए । म्याडोनाले टि्वट गरिन्-'परर्फम गरिरहेकै बेला मेरो ब्युटिफुल केपले गडबड गरिदियो, तर म बिलकुल ठीक छु, मलाई कुनै कुराले रोक्न सक्दैन, चिन्ता जाहेर गर्नुभएकोमा समस्त प्रशंसकप्रति आभारी छु ।'