सब टेलिभिजनको लोकप्रिय शो तारक मेहताका उल्टा चस्माका कलाकार जेठालाल अर्थात दिलीप जोशी पछिल्लो समयमा मोटाउँदै गएको शरीरका कारण तनावमा थिए । अहिले उनको तौल १० किलो घटेको छ । तौल कम गर्न जोशीले स्टि्रक्ट डाइटिङ सुरु गरेका थिए । हेल्दी एवं स्टि्रक्ट डाइटका कारण १० किलो तौल घटाउन सफल भएपछि जेठालाल दंग परेका छन् । हालैको एक अन्तर्वार्तामा जेठालालले भनेका छन्- 'व्यस्त सेड्युअलका कारण जिम जाने समय थिएन, यस्तो अवस्थामा स्टि्रक्ट डाइट लिने विशेषज्ञको सल्लाह ग्रहण गरें, यसले सोचेभन्दा राम्रो परिणाम दियो । जेठालाल अर्थात् दिलीपका अनुसार पछिल्लो समयमा उनले जंक फुड र सेटमा आउने खाना पूर्णत: वहिष्कार गरेका थिए । दिलीपका अनुसार अत्यधिक मात्रामा पानी पिएकाले पनि शरीरका विषालु तत्त्वहरूको वहिर्गमन सम्भव भएको हो ।
विलस्मिथको कमब्याक
अमेरिकी नायक एवं र्यापर विल स्मिथ पुन सांगीतिक क्षेत्रमा फर्कन चाहिरहेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा स्मिथले एल्बमको तयारीमा लागेको बताए । स्मरण रहोस्, सन् २००५ मा विलको अन्तिम एल्बम लस्ट एन्ड फाउन्ड सार्वजनिक भएको थियो । स्मिथका अनुसार उनका छोरा जेडनले पनि उनको कमब्याकका लागि सहयोग गरिरहेका छन् । छोरा जेडनले स्मिथलाई कसरी नयाँ शैलीको र्याप म्युजिकको काम गर्ने भनेर सिकाइरहेका छन् । नयाँ पुस्ताको मन जित्ने संगीतका लागि छोरासँगको सल्लाह अपरिहार्य भएको स्मिथले बताए । स्मिथ स्वयं १८ वर्षको उमेरमा गायन करियरमा प्रवेश गरेका थिए । हालसम्म उनका ८ वटा एल्बम सार्वजनिक भैसकेका छन् ।