साप्ताहिक संवाददाता
कुनै समय वास्तविक नाम मीना घिमिरेका रूपमा चलचित्र नायिका हुन संघर्षरत सुमिनाले साप्ताहिकको पहलमा सुमिना नामबाट साइबरसंसार डटकममा तस्बिर खिचाएपछि उनी निर्देशक ज्ञानेन्द्र देउजाको नजरमा परेकी थिइन् । निर्देशक देउजाको चलचित्र 'छविलाल कञ्जुस छैन' सुमिनाको पहिलो चलचित्र हो, तर प्रदर्शनको हिसाबले पहिले रिलिज भएको चलचित्र 'दुलही' को सफलतापछि उनी धेरै चलचित्रकर्मीको नजरमा परिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको थिएन । राम्री र अभिनय एवं नृत्य आदि विधामा पारंगत नायिकाका रूपमा राम्रो छवि बनाउँदै गएकी सुमिनाले पछिल्लो समय 'अप्रिल फुल', 'नाइन ओ क्लक', 'लभ फरेभर', 'स्टार' जस्ता चलचित्रमार्फत कामुक नायिकाको छवि बनाउने असफल प्रयत्न गरिन्, जसका कारण उनले केही विवादको सामना पनि गर्नुपर्यो । विवाहको कुरा चलेदेखि नै सुमिनाले अब चलचित्रमा काम नगर्ने उद्घोष गरिसकेकी छिन् । यसअर्थमा 'माला' सुमिनाको अन्तिम चलचित्र हुनसक्छ ।