साप्ताहिक संवाददाता
ऊ दाजु-भाउजूसँग बस्थ्यो । बेला-कुबेला भाउजूको व्यवहारले घरमा बस्नै नसकेको पीडा सुनाउँथ्यो । दाजुले हेला गरेको दु:ख कहन्थ्यो । दाजु धेरै पैसा कमाउँथ्यो । उ भाईलाई आफै जस्तो बन्ने दवाव दिन्थ्यो । यी कुरा सुनेपछि म कुनै सानोतिनो काम गरेर भए पनि छुट्टै बस्ने सल्लाह दिन्थें । ऊ भन्थ्यो, 'म भविष्यमा चर्चित हुन चाहन्छु । म सानोतिनो काम गर्ने मान्छे होइन ।'
लाग्थ्यो, ऊ काठमाडौंको वास्तविकतासँग परिचित छैन । सपनाको संसारबाट निस्कन उसलाई समय लाग्नेछ ।
एकदिन बिहानै उ मेरो डेरामा आइपुग्यो । बाङ्गोटिङ्गो कुरा नगरी सीधै भन्यो, 'म तपाईंजस्तै लेखक बन्न चाहन्छु । तपाईंजस्तै नाम कमाउन चाहन्छु ।'
मैले हाँसेर उडाएँ । 'मैले काम पनि सुरु गरिसकें । उसले गोजीबाट पट्याइएको पत्रिका निकाल्दै आफूले लेखेको समाचार देखायो । साँच्चै त्यहाँ उसको नाममा मनोरञ्जन समाचार छापिएको थियो ।
मलाई खुसी लाग्यो तर दु:ख पनि । किनभने उसले जुन पत्रिकामा लेख्न थालेको थियो, त्यसले उसलाई राम्रोसँग खान दिँदैनथ्यो । उसका लागि नाम छापिनुभन्दा पनि दाइसँग छुट्टएिर बस्ने जागिर चाहिएको थियो । मैले यही कुरा उसलाई सम्झाउन खोजें । उसले सुन्न चाहेन । फेरि एकपटक भन्यो, 'दाइ म नाम कमाएरै छाड्छु ।' मैले दोस्रो पटक उसको भ्रम तोड्ने प्रयास गर्न सकिनँ ।
करिब छ महिनापछि ऊ फेरि मेरो कोठामा झुल्कियो । उसैगरी भन्यो, 'दाइ, यो सानोतिनो समाचार लेखेर केही हुँदैन । मेरो फोटो पनि छापिँदैन । म सबैतिर चर्चा हुने काम गर्न चाहन्छु । सबैले पछिसम्म चिनिने हुन चाहन्छु ।' उसले कसरी चर्चित हुन सकिन्छ भनेर सल्लाह पनि गर्यो । मैले सम्झाएँ, 'तिमीलाई जागिर चाहिएको छ, यो चर्चित हुने कुरा गर्ने बेला होइन ।' उसले सुनेन । सम्भवत: नराम्रो मान्यो ।
त्यसपछि ऊ लामो समय हरायो । अरूबाटै सुनें, उसले नाटकको तालिम लिन थालेको छ । मैले सोचें, ऊ अझै सपनाको संसारमा छ । चुपचाप कुनै जागिर खानुपर्ने बेला ऊ कहिले पत्रकारिता, कहिले नाटक त कहिले गोष्ठीहरूमा अलमलिन थालेको छ ।
उसले केही नाटक खेल्यो, विवाह गर्यो र विदेश पनि गयो । मैले सोचें, विदेश गएर राम्रो गर्यो । अव पैसा कमाउनेछ । बल्ल सही मार्ग रोज्यो ।
म फेरि गलत सावित भएँ । ऊ केही समयपछि स्वदेश फर्कियो । उसको हातमा डलर होइन, नाटक पढेको सर्टिफिकेट थियो । मलाई उसको मुर्खतामा हाँसो उठ्यो । त्यो बेला पनि मलाई लाग्यो, मेरो टाढाको भाइ पर्ने यो केटो अझै सपनामै रुमल्लि रहेको छ ।
हिजोआज म गलत भएको छु । उसले सिल्पी थिएटर खोलेको छ र आफूले सोचेजस्तै चर्चित व्यक्ति भएको छ ।
उसको नाम हो— घिमिरे युवराज ।