कुनै दिन फेसबुकमा यही स्टाटस हालेको थिएँ । लाइक, कमेन्ट र सेयरका भीडहरूबीच इन्बक्समा एउटा यस्तो सन्देश आयो, 'सुबिन दाइ, अर्थोक सब ठीक छ, तर यो कसाई भन्ने शब्द चित्तै बुझेन । यसले कसाईहरूको मानहानि भयो । तपाईंको जात पो ठूलो हो र केही लाग्दैन । म सानो जातमा जन्मिएँ । मेरो के दोष ?'
ओहो ! लेख्ने बेलामा यस्तो कहाँ सोचियो त ? फेरि यो सानो र ठूलो जातको के अर्थ ? देश उही सय वर्षको युगभन्दा एक इन्च पनि अघि बढ्न नसकेकै हो त ?
मेरो उद्देश्य कुनै समुदायलाई चोट पुर्याउने कदापि थिएन । त्यसो त यो स्टाटसमा कसाईलाई एउटी कठोर प्रेमिकासँग तुलना गरेको देखिन्छ, तर मेरो बुझाइले मसँग बेइमानी नगरेको भए त्यो प्रतिक्रिया कठोर प्रेमिकासँग तुलना गरिएको थिएन । आपत्ति थियो 'कसाई' शब्दसँग । कसाई जातिको अपमान भयो । कथित सानो जातको अवहेलना भयो ।
मैले जवाफ लेखेर पठाएँ, 'भाइ, मलाई कसाईसँग कुनै आपत्ति छैन, कसैको पेसाप्रति आपत्ति छैन । मलाई कुनै पनि जातिसँग वा समुदायसँग आपत्ति छैन । जात भन्ने सिस्टम नै मलाई खराब लाग्छ भने यो सानो र ठूलो जातको कुरा कहाँबाट आयो ?' धेरै थोक भन्न मन थियो ।
एकपल्ट बृहत् नेपाली शब्दकोश पल्टाएर हेरेँ । कसाईको अर्थ थियो, 'प्राय: मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति ।'
मेरो आशय खालि यति थियो, कसाईले मासु टुक्र्याएझैं मेरो मन टुक्र्यायौ । फोकस मासु टुक्र्याउने क्रियासँग थियो । मैले विम्बमा कुरा गर्न खोजेको थिएँ । मासु र फलफूलको व्यापार गरेर हामीलाई यथेष्ट प्रोटिन तथा भिटामिन सप्लाई गर्ने विक्रेता वा उसको जातिप्रति नकारात्मक टिप्पणी कसैले किन गरोस् ? यो सब हाम्रो बुझाइ हो ।
अर्को घटना पनि त्यस्तै भयो । मैले एउटा उपन्यास लेखेको थिएँ, 'समर लभ' । त्यसमा पानीपुरी बेच्ने भैय्याहरू लेखिएको थियो । दाइ वा भाइलाई भैय्या भनिन्छ भन्ने कुरा मैले बच्चैदेखि सुने-बुझेको थिएँ । हिन्दी चलचित्रले त्यही सिकायो । यद्यपि एकजना मधेसी मित्रले अपमान गरेको भन्दै खुबै विरोध गरे । मैले भने एकदमै सफा नियतले लेखेको थिएँ, तर शब्दमा नियतको गन्ध आउँदो रहेछ ? भन्नेको नियतको पनि कुनै मतलब हुँदो रहेनछ । नियत खालि सोच्नेले कुन नियतले सोच्छ ? त्यति मात्र हुँदो रहेछ ।
कुनै पनि नाम, पेसा वा नाता सानो वा ठूलो हुँदैन भन्ने कुरा हामीले अझै बुझेर पनि मनन गर्न सकिरहेका छैनौं । हेपाइ वा अपहेलना व्यवहारमा देखिन्छ भने संगतबाट पनि थाहा पाइन्छ । यहाँ एउटै जातकाले आफ्नै जातकालाई हेपिरहेको छ । जात, थर भनेको बोलाउने अथवा चिन्ने नाम वा संकेतभन्दा बढी केही होइन । सार्की होस्, दमाईं होस्, लिम्बू, राई, क्षेत्री, बाहुन जोसुकै होस् । क,ख,ग ले विस्थापित गर्दिए हुन्छ । सबैभन्दा ठूलो कुरा कर्म नै हो भन्ने छर्लङ्गै देखिइसकिएको छ । नभए सोमपाल कामीलाई हेपेर क्रिकेट खेलमै प्रवेश दिइन्नथ्यो होला । आज सारा नेपाली सोमपाल कामीमाथि गर्व गर्छन् । उनको जातकाले मात्र गर्व गर्ने होइन । विमल घर्तीमगर देशको खेलाडी हो । घर्ती समुदायको होइन । कसले भन्न सक्छ उनीहरूलाई सानो जातको मान्छे भनेर ?
त्यसैले मलाई के लाग्छ भने, सबैभन्दा कमजोरी हामी आफूले आफूलाई कसरी मूल्यांकन गर्छौं भन्ने हो । मलाई फेसबुकमा प्रतिक्रिया दिने भाइले आफैंले आफूलाई सानो जातको र मलाई ठूलो जातको भनेको पटक्कै चित्त बुझेन । जबसम्म हामी आफैंलाई आफ्नो नजरमा महान बनाउन सक्दैनौं, अरूले कसरी इज्जत देला ? सबै समुदायलाई सबै चाहिन्छ । हामी सबै देश नाम गरेको घरको इँटा हौँ । एउटा इँटा निस्किँदा मात्र पनि देश थोते हुन्छ । हामी सब उस्तै हौं, एउटै हौं । सबैको महत्त्व उत्तिकै छ । देशको मन्त्री भइटोपलेको मान्छे र गाउँमा हलो जोतिरहेको किसान दुवै देशका उत्तिकै नागरिक हुन् । एउटा फरक पक्कै निकाल्न सकिएला— मन्त्रीले अलोकप्रिय काम गर्छ र डरले साथमा सिपाहीहरू लिएर हिँड्छ । किसान लोकप्रिय काम गरेरै स्वतन्त्र छ, सन्तुष्ट छ ।
त्यसैले त भनेको कर्म नै मान्छेको सबैभन्दा ठूलो पहिचान हो । महाकवि देवकोटाले त्यसै भनेका होइनन्— मानिस ठूलो दिलले हुन्छ, जातले होइन ।