टेलिभिजन सो दिया और बाती हममा मुख्य भूमिका निर्वाह गरिरहेकी दीपिका सिंह अर्थात् सन्ध्याले गत साता आफ्ना को-एक्टर अनस रसिद अर्थात् सुरजलाई पूरा युनिटका सामु थप्पड बर्साएकी छिन् । सिरियल छायांकनका क्रममा एक्कासि उनीहरूबीच ठूलो आवाजमा भनाभन भएपछि सबैको ध्यान त्यसतर्फ आकषिर्त भएको थियो । सूत्रका अनुसार पछिल्लो समय दीपिका अनसलाई थप्पड हान्ने अवसर खोजिरहेकी थिइन् । केही दिन पहिले दीपिकाले अनसमाथि गलत तरिकाले छोएको आरोप लगाएकी थिइन् । मौका खोजिरहेकी दीपिकाले फेरी त्यस्तै किसिमको क्रियाकलाप भएको भन्दै अनसमाथि थप्पड बर्साइन्, जबकि त्यही दिन शीर्ष कलाकारबीच समझदारीको वातावरण बनाउन प्रोडक्सन युनिटका एक वरिष्ठ व्यक्तिले उनीहरूलाई मेकअप रुममा बोलाएर छलफल गरेका थिए । यी दुई शिर्ष कलाकारबीच लामो समयदेखि खटपट चल्दै आएको थियो । खासमा दिया और बातीका एक्स डाइरेक्टर तथा दीपिका सिंहका वास्तविक श्रीमान रोहित राज गोयललाई अनसकै कारणले सोबाट निकालिएको थियो । अनसले दीपिकाले थप्पड हानेको भन्दै सिन्टा एसोसिएसनमा मुद्दा दर्ता गराएका छन् ।पागल फ्यान
कोही कसैको कतिसम्म फ्यान हुनसक्छ, भन्ने कुरा अहिलेका डाइहार्ट फ्यानहरूले देखाउने गरेका छन् । यस्तै एक उदाहरण हुन्— ३१ वर्षीय एडम डेनियल । अमेरिकाको क्यालिफोर्नियामा बस्ने एडम चर्चित पप गायिका म्याडोना जर्बजस्त फ्यानका रूपमा देखापरेका छन् । म्याडोना प्रति पूर्ण रूपमा समर्पित एडमले म्याडोनाजस्तै देखिन दर्जनौं पटक प्लाष्टिक सर्जरी गराइसकेका छन् । यस क्रममा उनले करिब १ करोड रुपैयाँ सकेको बताइन्छ । एडम म्याडोनाकै शैलीमा पहिरन लगाउँछन् । त्यतिमात्र होइन, म्याडोनाकै स्टाइलमा पछिल्लो १२ वर्षमा उनले ४ हजारभन्दा बढी शो गरिसकेका छन् । उनको एउटै चाहना छ— जसरी हुन्छ म्याडोनाजस्तो देखिनु । यसका लागि जतिसुकै पैसा खर्च होस् वा स्वास्थ्यमा जुनसुकै प्रतिकुल असर नै परोस उनी पछि हट्दैनन् ।