साप्ताहिक संवाददाता
सांगीतिक रूपमा कत्तिको व्यस्त हुनुहुन्छ ?
यतिबेला म संगीतमा मात्र सक्रिय छु । भर्खरै सार्वजनिक भएको गीत तथा म्युजिक भिडियोको प्रमोसनका लागि पूर्वी नेपालको भ्रमण गरिरहेकी छु ।
नयाँ गीत कस्तो छ ?
'अन्माइदियौ...' गीतको भिडियो सार्वजनिक भएपछि अग्रज संगीतकर्मीहरूबाट बधाई पाइरहेकी छु । सञ्जु श्रेष्ठको शब्द तथा संगीतको यो गीत गाएपछि श्रोताहरूले 'रुवाउने खालको गीत गाउनु भएछ' भन्ने प्रतिक्रिया दिनुभएको छ ।
भिडियोको निर्देशन पनि आफैंले गर्नुभएछ ?
प्रयोगका लागि गरेकी हुँ । आफ्नो गीतको भावना प्रभावकारी ढंगले व्यक्त गरौं भन्ने उद्देश्यले निर्देशनमा समेत हात हालेकी हुँ । भिडियोबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु ।
सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ?
करिब आधा दशकदेखि संगीतलाई नै करियर बनाएर अघि बढेकी छु । ४ वर्षअघि 'जहिलेदेखि' शीर्षकको एकल एल्बम सार्वजनिक भएपछि म गायिकाका रूपमा सक्रिय भएकी हुँ ।
तपाईंका कतिवटा गीत श्रोताले मन पराएका छन् ?
'हृदय नै मेरो छुने' तथा 'जहिलेदेखि तिमीलाई' गीतले मलाई चिनाएको छ । अन्माइदियौ...गीतले मलाई थप पहिचान दिनेछ भन्ने कुरामा ढुक्क छु ।
भिडियो निर्देशनलाई निरन्तरता दिने कि नदिने ?
आफ्ना गीतको भिडियो आफैं निर्देशन गर्ने त छँदैछ, राम्रा गीतको भिडियो बनाउनुपर्यो भन्ने प्रस्ताव पाएँ भने पछि हट्दिनँ ।
अबको योजना ?
एउटा नयाँ एल्बम तयार पार्दैछु । पाश्र्व गायनमा पनि सक्रिय हुँदैछु । त्यसबाहेक संगीतकार राजु सिंहको संगीतमा गीत गाउँदैछु ।