साप्ताहिक संवाददाता
भृकुटीमण्डपबाट प्रारम्भ भएको कारको लस्कर सहरका विभिन्न भाग हँुदै धुलिखेल पुग्यो । ती कार धुलिखेलको बसपार्क नजिक पुगेर सडक छेउमा एक छिन रोकिए । ट्रायलका लागि राखिएजस्ता विभिन्न अवरोध पार गर्दै कार चालकहरू अगाडि बढे । यो पनि एक प्रकारको प्रतियोगिता नै थियो । रेसिङको भाषामा जिमखाना भनिने यो अभ्यास सबै प्रतियोगिका लागि अनिवार्य थियो । अन्त्यमा एउटा रिसोर्टमा पुगेर विभिन्न कार्यक्रमका बीच उक्त र्याली समापन भएको घोषणा गरियो ।
सन्दर्भ सातौं सिन्सियर सिटिजन मोटर र्यालीको हो । नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन -नासा) तथा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलले संयुक्त रूपमा आयोजना गरेको उक्त मोटर र्यालीले ड्राइभिङमा रुचि राख्नेहरूका लागि एउटा नयाँ आयाम थपेको छ ।
योभन्दा अघिल्लो साता पनि यस्तै प्रकारको अन्तर्राष्ट्रिय मोटर र्याली सम्पन्न भएको थियो । 'फर नेचर, एड्भेन्चर एन्ड कल्चर' भन्ने नाराका साथ भारतको उडिसाको जगन्नाथपुरीबाट प्रारम्भ भएको उक्त इन्डो-नेपाल मोटर र्यालीलाई नेपाल र भारतको सरकारी पक्षको समेत सहयोग थियो । नेपालको नासा र भारतको कलिंग मोटर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालित उक्त मोटर र्याली उडिसाको भुवनेश्वर, झारखण्डको राँची, विहारको पटना र जोगबनी हँुदै नेपाल प्रबेश गरेर बिराटनगर, धरान, बर्दिबास, सिन्धुली हुँदै धुलिखेल आइपुगेर प्रथम लेगका रूपमा सम्पन्न भएको थियो । दोस्रो लेगमा उक्त मोटर र्याली काठमाडौंबाट पोखरा, लुम्बिनी, धनगढी हँुदै भारतको नयाँ दिल्लीमा पुगेर गत मार्च ८ का दिन सम्पन्न भएको थियो । उक्त मोटर र्यालीमा २५ चालकका साथै नेभिगेटर, मेकानिक्स तथा अन्य गरी ८३ जना सहभागी थिए ।
केही समय यता सडक यातायातका क्षेत्रमा ड्राइभ टुरिज्म भन्ने शब्द निकै प्रचलित छ । गत बर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आउँदा पनि यो शब्द उच्चारण गरेका थिए । त्यस यता नेपालका व्यवसायीहरूसमेतले यो शब्दलाई प्रचारमा ल्याउन खोजिरहेका छन् । नेपालका धेरै ठाउँमा मोटर पुग्न सक्छ । सरकारी तथ्यांकले पनि डोल्पा र हुम्लाबाहेक अन्य सबै जिल्लामा मोटर बाटो पुगेको देखाएको छ । अब विदेशीहरूसमेत नेपालका सबै स्थानमा ड्राइभिङ गरेरै पुग्न सक्छन् । इन्डो-नेपाल मोटर र्यालीको अवसरमा पनि यो शब्द प्रयोग भएको थियो । नासाका महासचिव गोविन्द भट्टराई नेपाल र भारतका बीचमा धर्म, संस्कृति र परम्पराका आधारमा विकसित भएको सम्बन्धलाई ड्राइभ टुरिज्मको माध्यमले अझै नयाँ उचाइमा पुर्याउन सकिने विश्वास ब्यक्त गर्छन् । विस्तारै यसले दक्षिण एसियाली आकार ग्रहण गर्ने अपेक्षा समेत छ । यो कुरालाई नेपालका लागि भारतका राजदुत रञ्जित रेले समेत पुष्टि गरेका छन् । राजदूत रेले यही अवसरमा यस प्रकारको र्यालीलाई सार्क र उप-क्षेत्रीय तहमा समेत विस्तार गर्न सुझाव दिएका थिए । भारत, भुटान, बंगलादेश र नेपालका बीचमा यस प्रकारको र्याली आयोजना गर्न सकिने र यसका लागि अभ्याससमेत भैरहेको भट्टराईले बताए ।
आगामी साता रेसमाण्डु
आगामी साता रेस इन काठमाडौं अर्थात रेसमाण्डुका नाममा विभिन्न क्षमताका मोटरसाइकल रेसरहरूबीच प्रतियोगिता हुँदैछ । यो एक प्रकारको ट्रयाक रेसिङ हो । करिब १ सय युवायुवतीको सहभागिता रहने रेसमाण्डुमा आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
टीडीएस र जिमखाना
टाइम, डिस्ट्यान्स र स्पिडको छोटकरी रूप हो— टीडीएस । कुनै पनि प्रतिस्पर्धात्मक रेसिङ वा र्याली गर्दा यही सिद्धान्त अपनाइन्छ । वास्तबमा छिटो वा स्पिडमा कुद्नु मात्र रेसिङ वा र्याली होइन भन्ने यसले प्रमाणित गर्छ । रेसिङ वा र्यालीका क्रममा सडक सुरक्षाका लागि जनचेतना जगाउने काम पनि गरिन्छ । त्यसैले यसले निश्चित समयमा निश्चित दूरी पार गर्न निश्चित गति हुनुपर्छ भन्ने सन्देश दिन्छ ।
त्यसैगरी रेसिङ वा र्यालीका क्षेत्रमा भने जिमखानाले फरक अर्थ दिन्छ । रेसिङ वा मोटर र्यालीमा जिमखाना एउटा नयाँ शब्द हो । एफआइएले हालै यसलाई प्रयोगमा ल्याउन थालेको छ । रेसिङको प्रारम्भिक बिधालाई जिमखाना भनिन्छ । यो अंग्रेजी शब्द हो । यो ट्रयाक रेसिङको पहिलो र आधारभूत विधा हो । जिमखानामा ट्रयाकमा रेसिङ अभ्यास गर्न गर्न सकिन्छ । यसमा मोटरसाइकल वा गाडी कति डिग्रीमा घुमाउने, ब्रेक अनि एक्सिलरेटर कसरी र कुन अवस्थामा लगाउने तथा कति स्पिडमा कुदाउने भन्ने अभ्यास गरिन्छ ।
मोटरिङ र टुरिङमा आकर्षण
यातायातका माध्यमबाट धेरै टाढा छैनन् । भारत मात्र होइन, अन्य देशसँग पनि नेपालको सडक पहुँचलाई बलियो बनाउन सकिन्छ ।
नेपालकै सन्दर्भमा पनि सडक यातायात निकै उपयोगी हुनसक्छ । हामी मुस्ताङ धेरै टाढा भएको अनुभव गर्छौ, तर यो सडक दूरीको हिसाबले त्यति टाढा छैन । बरु त्यहाँ पुग्ने सडक र बीचको वातावरणलाई व्यवस्थित बनाउनु आवश्यक छ । आज संसारमा विकसित मोटरिङ र टुरिङको लहर नेपालमा पनि छाएको छ । मानिसहरू दिनभरि काम गरेर लगभग एक घण्टा गाडीमा ड्राइभ गरेर आनन्दसँग घर पुग्छन् । भारतको नोयडा र गुडगाउँ यस्तै कन्सेप्टमा विकसित भएका सहर हुन् । नेपालमा पनि काठमाडौंमा दिनभरी काम गरेर बेलुका ड्राइभिङ गर्दै बनेपा, धुलिखेल, नुवाकोट, धादिङ आदि स्थानमा गएर बास बस्न चाहनेहरू प्रशस्तै हुन सक्छन् । यस प्रकारको मोटरिङ र टुरिङको आकर्षण नेपालमा पनि बढिरहेको छ । यसका साथमा मोटर स्पोर्ट्सका विभिन्न बिधा समेत विकसित हँुदै जाने सम्भावना प्रबल छ । यी सबैका कारण ड्राइभ टुरिज्म नेपालका लागि आम्दानीको एउटा नयाँ स्रोत बन्न सक्छ ।
गोविन्द भट्टराई, महासचिव, नासा
उपेन्द्रको ह्याटि्रक
नासाले आयोजना गरेको मोटर र्यालीमा सहभागी भएर उपेन्द्र प्याकुरेलले लगातार तेस्रो पटक प्रथम स्थान हासिल गरे । गत वर्ष काठमाडौंदेखि लप्सीफेदीसम्मको मोटर र्याली तथा धुलिखेलसम्मको अर्को मोटर र्यालीमा पनि उनले प्रथम स्थान हासिल गरेका थिए । प्रथम स्थान प्राप्त गरेपछि प्याकुरेलले भने- 'मनमा एक प्रकारको चुनौती पनि थियो, पहिलो नै हुन पाइए हुन्थ्यो भन्ने भावना पनि । टिडिएस सिस्टमलाई राम्रोसँग आत्मसात गर्नुपर्ने अवस्था पनि थियो ।'
केही म्युजिक भिडियो र सिरियलमा समेत अभिनय गरेका उपेन्द्र मोडलिङ पनि गर्छन् । उनले मेघा वाटर टि्रटमेन्टसमेत सञ्चालन गरिरहेका छन् । लङ ड्राइभ र फोटो सुट गर्न रुचाउने उपेन्द्र पेरोडुवाको भिभा कारमा यात्रा गर्छन् । उपेन्द्र महिनाको दुई-चार पटक नै लङ ड्राइभका लागि निस्कन्छन् ।