फेसन बजारमा उनलाई चिनाउन कुनै विशेषणको खाँचो पर्दैन । विश्वसुन्दरी युक्ता मुखीको पहिरन डिजाइन गरेर होस् वा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड स्थापित गरेर, उनले फेसनको क्षेत्रमा दर्बिलो उपस्थिति जनाइसकेका छन् ।
विश्वकै भाषामा 'यो आफैंमा ग्ल्यामरस पेसा/व्यवसाय' हो । त्यसैले त उनले टिपटप देखिनुपर्छ । 'दिनभर कति साथी भेटिन्छन्, कति कार्यक्रममा जानुपर्ने हुन्छ' विश्व भन्छन्- 'हरबखत चिटिक्क भएर बस्नुपर्ने हुन्छ ।' आफंै फेसन डिजाइनर भएपछि पहिरनप्रति सजग हुनैपर्यो । क्याजुअल लगाउने कि, र्फमल ? कार्यक्रम र मौसमअनुसार उपयुक्त पहिरन छनौट गर्न सक्नुपर्छ ।
सामान्य दिनहरूमा उनी प्राय: क्याजुअल वेयरमै ठाँटिन्छन् । जिन्स र टिसर्ट बढी आरामदायक लाग्छ, उनलाई । विश्व पहिरन छनौट गर्दा आफ्नो शारीरिक बनौट, रंग तथा गुणस्तरमा ध्यान दिन्छन् । विश्व भन्छन्- 'मलाई सुहाउँदो लाग्ने पहिरन मात्र लगाउँछु ।'
उनी पहिरनसँग जुत्ताको कम्बिनेसन मिलाउन पनि माहिर छन् । विश्वलाई पहिरनअनुसार जुत्तामा विविधता चाहिन्छ । त्यसैले त उनको कलेक्सनमा थरी-थरीका दर्जनौं जोडी जुत्ता छन् । छोटो केसलाई ब्रान्डेड जेलले स्पाइकी लुक्समा सजाउँछन् । उनको साथमा चस्मा छुट्दैन । अर्मानी वा पोलिसमध्ये कुनै चस्मा लगाएकै हुन्छन् । त्यसो त विश्व घडीको पनि सौखिन हुन् । उनीसँग विभिन्न ब्रान्डका घडी छन् ।
विश्व ड्रेसअपमा मात्र सजग छैनन, स्वास्थ्य र तन्दुरुस्तीप्रति पनि उत्तिकै सचेत रहन्छन् । बिहान उठेपछि केही समय ध्यानमा बस्छन् । यद्यपि बिहान सबेरै उठ्ने बानी भने छैन । अक्सर उनी ७-८ बजे ओछ्यान छाड्छन् ।
९ बजेसम्म उनलाई फ्रेस हुनै लाग्छ । फ्रेस भैसकेपछि ब्रेकफास्ट लिन्छन् । ब्रेकफास्टमा अन्डाको सेतो भाग, सोयाबिनको दूध र फलफूल हुन्छ । त्यसपछि टाटाको इन्डिका मान्जामा हुइँकदै ताहाचलस्थित 'विश्वज क्रिएसन'मा पुग्छन् । त्यहाँ उनी पहिरन डिजाइन गर्नेदेखि नयाँ प्रोजेक्ट तय गर्नेसम्मका काममा खटिन्छन् । भेटघाट, भलाकुसारीमा पनि उनको धेरै समय व्यतीत हुन्छ ।
मध्यान्हतिर उनी खाना खान्छन् । खानामा उनलाई चिकेन ब्रेस्ट तथा बोइल भेजिटेबल मन पर्छ । दही, हरियो सलाद पनि उनको खान्कीमा नछुट्ने परिकार हुन् । 'मलाई खसीको ग्रेभी बढी स्वादिलो लाग्छ,' विश्व भन्छन् । जमघटमा मदिरा पिए पनि त्यसप्रति उनको खासै आशक्ति छैन । राति हुने कार्यक्रममा उनी त्यति सहभागी हुँदैनन् । किनभने त्यो समय उनले परिवारका लागि छुट्याएका छन्, खासगरी छोराका निम्ति ।
उनलाई खाना पकाउने काममा भने जाँगर चल्दैन । बरु, सप्ताहन्त परिवारसहित कुनै रेस्टुराँ पुग्छन् । काठमाडौं आसपासको रिसोर्टमा रात बिताउन पनि उनलाई आनन्द लाग्छ । उनी प्राय:जसो गोकर्ण रिसोर्ट पुग्छन् ।
विश्व घुमघाम गर्न औधी रुचाउँछन् । यदाकदा विन्दास लङ ड्राइभमा निस्कन्छन् । त्यसो त उनी किनमेलका पनि सौखिन हुन् । 'मलाई सपिङ साह्रै रमाइलो लाग्छ,' विश्व भन्छन्- 'त्यसैले मेरो घरका हरेक सामग्री फेरिइरहेका हुन्छन् ।' उनी मुड चलेका बेला चलचित्र हेर्न मल्टिप्लेस पुग्छन् । प्राय: हिन्दी र नेपाली चलचित्र हेर्ने विश्व राति घर फर्किएपछि केही समय टेलिभिजन हेर्छन् । उनलाई जिटिभीबाट प्रसारण हुने 'रोडिस' विशेष मन पर्छ ।
विश्व साँझ ५ बजेपछि घर र्फकन्छन् । घरमा केही बेर विश्राम गरेर नजिकैको सोल्टी होटल पुग्छन्, जिमका लागि । त्यही स्पा लिन्छन् । त्यहाँबाट र्फकदा रातको ८ बजेको हुन्छ । रातको खानामा उनी फलफूल र सुप खान्छन् । करिब २ घन्टा कम्प्युटरमा बिताउँछन् । ग्याजेट्सप्रति खासै रुचि नभए पनि उनीसँग एप्पलको म्याकबुक प्रो, म्याकबुक एयर तथा आइप्याड छ । विश्व सामसुङको एस फाइभ मोबाइल बोक्छन् ।