दृष्टिविहीन महिलाहरूलाई प्रतिरक्षा तामिल किन चाहियो ?
हिजोआज महिला हिंसा उत्कर्षमा छ । सबै महिलाले आफ्नो रक्षा गर्ने यो विधि सिक्नैपर्छ । म आफू दृष्टिविहीन भएका कारण बाटो कटाइदिने बाहानामा मैले केही यौन हिंसाको संकेत पाएँ । मजस्ता धेरै महिलालाई यस्ता समस्याबाट मुक्ति दिलाउन यस्तो तालिम दिएकी हुँ । यो तालिम लिएपछि ममा जुन आत्मविश्वास पलायो, त्यसैले पनि आज म रातविरात जहाँ पनि हिँड्न सक्छु, निर्धक्क काम गर्न सक्छु ।
दृष्टिविहीनप्रति नेपाली समाजको धारणा कस्तो पाउनुभएको छ ?
दृष्टिविहीन हुनेबित्तिकै आममानिसले हामीलाई धेरै कमजोर मान्दा रहेछन् । जब म बाटोमा हिँडिरहेकी हुन्छु, मानिसहरू 'विचरा यो केटीलाई किन यसरी भिडभाडमा छाडेका होलान् । कस्ता आमाबुवा रहेछन्' भनेर गाली पनि गर्छन् । जबकि म त्यसो भनेर कटाक्ष गर्नेहरूभन्दा बढी सक्षम छु । आफ्नो खुट्टामा उभिएकी छु, पढेलेखेकी छु । आफ्नो संस्था हाँकिरहेकी छु । समाजले भने हाम्रा बारेमा भिन्न धारणा राख्दो रहेछ । कहिलेकाहीँ त अरूले यस्तो काम कसरी गरेकी होला भन्दा पो मैले ठूलो काम पो गरेकी क्या हो भन्ने घमन्ड पनि पलाउँछ । धेरै अघि जान चाहने मान्छेलाई त यस्तो कुराले हानि गर्छ नि ।
आखिर दृष्टिविहीन हुनु एउटा अपाङ्गता हो । यसले जीवनमा केही फरक त पार्छ नै, होइन र ?
यो सबल दृष्टि भएकाहरूको सोच हो । हो, आँखा नदेख्दा केही कुरामा अरुको सहयोग लिनुपर्छ । संसार नै एक अर्काको सहयोगबाट चलेको छ । तपाईं एक्लै केही पनि गर्न सक्नुहुन्न । प्रत्येक दिन, अझ भनौं प्रत्येक समय केही न केही सहयोग अरूबाटै लिइरहेको हुन सक्छ । त्यतातिर दृष्टि नदिँदा दृष्टिविहीन वा अन्य अपाङ्ले अरूबाट सहयोग लिएको महसुस हुन्छ ।
तैपनि सबल दृष्टिको तुलनामा दृष्टिविहीनहरूलाई बाँच्न गाह्रो छ । गाह्रो यसकारण होइन कि उनीहरू कमजोर छन् । गाह्रो यसकारण कि उनीहरूलाई समाजले कमजोर मान्छ । घरबाट किन निस्कने, किन पढ्ने, किन जागिर खाने, किन रातविरात हिँड्ने भनेर प्रश्न गर्छ । विशेष गरी महिलाले यस्ता समस्या भोग्नुपर्छ ।
तपाईंले कहिलेदेखि दृष्टिविहीन भए पनि म कमजोर छैन भन्ने मान्नुभयो ?
जब मैले प्रथम श्रेणीमा एसएलसी गरें, विभिन्न किसिमका तालिम लिन थालें, त्यसपछि मभित्रको शक्ति थाहा भयो । म जे पनि गर्न सक्ने रहेछु भन्ने भावना आयो । हुन त बुवाले मलाई कहिल्यै तिमी कमजोर छौ भन्ने भावनाको विकास हुन दिनुभएन । उहाँले नै काठमाडौंबाट गाउँमा ब्रेललिपि ल्याएर मलाई अक्षर चिनाउनुभयो । ब्रेललिपिमा पनि शिक्षा दिने व्यवस्था भएको गोरखाको अमरज्योति माध्यमिक विद्यालयमा भर्ना गराउनुभयो । परिवारले पनि मलाई धेरै सहयोग गर्यो । त्यसैले म कमजोर छु भन्ने कहिल्यै महसुस भएन । अरूले विचरा भनेको देखेपछि भने म आफैंलाई अचम्म लाग्थ्यो । पछि अन्य दृष्टिविहीनको संगत गरेपछि, दृष्टिविहीनहरूलाई हुने ठूला-ठूला समस्या थाहा हुन थाल्यो ।
तपाईंलाई भीडभाडमा बाटो काट्दा, सुन्दर दृश्य वा सपनाको कुरा गर्दा आफू दृष्टिविहीन भएकोमा दु:ख लागेन ?
केही समस्या त पर्छ । कहिलेकाहीँ अरूको सहयोग पनि लिनुपर्छ । जहाँसम्म सुन्दर दृश्य वा सपनाको कुरा छ, हामी ती कुराको सौन्दर्य महसुस गर्न सक्छौं । मेरी एक जना साथी कान सुन्नुहुन्न तर गीतमा राम्रोसँग नाच्नुहुन्छ । यसको अर्थ के हो भने हामी सबै आफ्ना ठाउँमा कमजोर हुन्छौं, त्यो कमजोरी बिस्तारै हटाउन सकिन्छ । सबैले सबैकुरा प्राप्त गर्न सक्दैनन् ।
तपाईंले सरकारी जागिरमा नाम निकाल्नुभएको रहेछ, त्यो जागिर किन खानुभएन ?
मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । त्यसैले मैले पनि शिक्षा सेवा आयोगको परीक्षा दिएकी थिएँ । मैले उक्त परीक्षामा खुला, महिला र अपाङ्ग तीनवटै प्रतियोगितामा नाम निकालें । जागिर खानुअघि म केरलाको एउटा इन्स्टिच्युटबाट नेतृत्व विकाससम्बन्धी तालिमका लागि छानिएँ । मसँग दुईवटा विकल्प थिए, एउटा सरकारी जागिर खाएर आफ्नो जीवनलाई सबै क्षेत्रबाट सुरक्षित तुल्याउने । अर्को, विभिन्न किसिमको तालिम लिएर, आफ्नै संस्था खोलेर मजस्तै दृष्टिविहीनहरूको सेवा गर्ने । मैले आफ्नो मात्र भविष्य सुरक्षित पार्न चाहिनँ, मेरो थोरै मेहनत नेपालभरिका दृष्टिविहीन महिलाका लागि केही गर्न सकिन्छ भने किन नगर्ने भन्ने मनमा आयो । त्यसैले अहिले दोस्रो विकल्पमा काम गरिरहेकी छु ।
समाजसेवा गर्दा कस्ता अप्ठ्यारा सिर्जना हुँदैछन् । सबल जसरी काम गर्न गाह्रो छैन ?
अवश्य नै गाह्रो छ । गाह्रो छ भनेर आफ्ना लागि मात्र सोच्ने कुरा आएन । काम गर्दै जाँदा मलाई के थाहा भयो भने, जुन जीवनमा जति चुनौती हुन्छ, त्यो जीवन त्यति नै रमाइलो हुन्छ ।
पाकेको सरकारी जागिर नखाँदा परिवारले केही भनेन ?
बुवाले बाहेक अन्य आफन्तहरूले जागिर खाएको भए राम्रो हुन्थ्यो । तिमीले सबल जस्तो खट्न सक्दिनौ भनेर सम्झाउनुभयो । बुवाले भने मेरो क्षमताको कदर गर्दै मेरो काममा सहयोग गर्नुभयो । आमा र बहिनीहरूले पनि साथ दिए ।
आफू राम्री छु भन्ने कुरा तपाईंलाई थाहा छ ?
थाहा छ । सबै मान्छे राम्रा हुन्छन् । म पनि राम्री छु ।
कसरी थाहा पाउनुभयो ?
बाटो हिँड्दा 'विचरा यति राम्री केटी, भगवान्ले किन ठगेका होलान्' भन्छन् । त्यो बेला मलाई कमजोर मात्र होइन, सुन्दर पनि भनिरहेको थाहा पाउँछु । कहिलेकाहीँ आफ्नो हात-गोडा तथा अनुहार छाम्छु र आफू राम्री भएको महसुस गर्छु ।
कुनै युवाले प्रेम प्रस्ताव राखेका छन् ? अथवा त्यस्तो संकेत गरेका छन् ?
कसले कस्तो व्यवहार गरिरहेको छ, त्यसबाट उसको आशय बुझिन्छ । केहीबाट कहिलेकाहीँ प्रेमको संकेत पाउँछु ।
आफ्नो खुट्टामा उभिनुभएको छ । अब त पढाइ पनि सकियो । विवाह गर्ने बेला भएन ?
भएको छैन । भर्खरै संस्थाबाट दुई ब्याच तालिम सकें । देशभरिमा दृष्टिविहीन महिलालाई सक्षम बनाउने अभिभारा बोकेकी छु । विवाह गरेर आफ्नो परिवार बनाउने कि अरूलाई सहयोग गरेर उनीहरूको जीवनमा खुसीयाली छर्ने ? भन्ने प्रश्न उठ्दा मेरो मनमा अरूलाई सहयोग गर्नुपर्छ भन्ने कुरा आउँछ । यसको अर्थ विवाह नै नगर्ने भन्ने होइन तर विवाह चुनौती पनि हो । मेरो संस्थाको लक्ष्य दृष्टिविहीन महिलाहरूका लागि आत्मनिर्भर बनाउन रोजगारमूलक तालिम दिने र उनीहरूमाथि हुनसक्ने हिंसा रोक्न सक्षम बनाउने हो । अहिलेका लागि त्यहि काममा गम्भीरतापूर्वक लागिरहेकी छु ।