सन् २००९ मा सर्च इन्जिनका रूपमा विकास भएको सगुनलाई थप परिमार्जन गरी पुनः सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही सातामै यसमा खाता खोल्नेहरूको संख्या २ लाखभन्दा बढी पुगिसकेको छ । लगइन वा एड गरेका आधारमा अन्य साइटहरू स्वयंले पैसा पाउने व्यवस्था हुने भए पनि सगुनले प्रयोगकर्तालाई पनि साझेदारका रूपमा अघि सारेको संस्थापक गोविन्द गिरी बताउँछन् ।
सुविधाहरू
सगुन अन्य सोसियल नेटवर्कहरूको तुलनामा फरक छ । फेसबुक, टि्वटर, ह्वाट्सएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङको विशेषता पनि यसमा प्राप्त गर्न सकिन्छ । यसमा रहेको 'माई सेक्रेट' नामक फिचरबाट आफ्ना गोप्य कुरा, तस्बिरहरू परिवारका सदस्य एवं आफ्नो समुदायका साथीहरूलाई बाँड्न सकिन्छ । आफ्नो दैनिकीलाई सेडयूलमा राखेर पोष्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समूह व्यवस्थित गरेर टेक्स्ट, तस्बिर र स्टिकरहरू आदान-प्रदान गर्न सकिन्छ । सगुनबाट पठाइएको तस्बिर तथा सूचना सेयर हुनासाथ डिलिट हुन्छ । यो साइट मार्फत् तीनवटा तस्बिरलाई एउटै तस्बिर बनाई सेयर गर्न सकिन्छ भने यसमा उपलब्ध अल इन वान पेज महत्वपूर्ण मानिन्छ । गि्रटिङ, क्यालेन्डर जस्ता अत्यावश्यक फिचर पनि यसमै भएकाले एउटै पेजबाट भेराइटी फिचर बनाउन सकिन्छ । सगुन डटकम प्रयोग गर्दै गएपछि अन्य धेरै सुविधा क्रमशः उपयोग गर्न पाइन्छ ।
खाता खोल्ने तरिका
अन्य सोसियल साइटहरूजस्तै यसलाई ओपन गरिसकेपछि यसभित्र गएर सगुनको आधिकारिक सदस्य बन्न सकिन्छ । अन्य सोसियल नेटवर्कमा साथी नबनेको भए 'साइन अप'मा गएर नयाँ युजर नेम र पासवर्ड राखेर यसको सदस्य बन्न सकिन्छ । फेसबुक, टि्वटरमा सदस्य बनिसकेको भए फेसबुक, टि्वटरमा गएर 'कनेन्ट विद फेसबुक वा टि्वटर'मा गएर क्लिक गरी सदस्य बन्न सकिन्छ । खाता खोलेपछि अन्य नेटवर्कमा भएका साथीहरूलाई रिक्वेस्ट पठाएर साथी बनाउन सकिन्छ ।
पैसा प्राप्त गर्ने उपाय
सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुन्छ । त्यो क्रमशः बढ्दै जान्छ । साइटमा भएका फिचरहरू प्रयोग गर्दै जाँदा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुँदै जान्छ । बैंकमा जम्मा भएको पैसा क्यासचाहिँ लिन पाइँदैन । जम्मा भएको रकमबाट निश्चित समयपछि सगुनका सूचीकृत विक्रेता कहाँ गएर सामान खरिद गर्न सकिन्छ । यो साइटलाई सोसल स्मार्ट कार्डका रूपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन भएको यो कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्नका साथै उपहार पठाउन सहयोग गर्छ । सूचीकृत विक्रेताकहाँ गएर सबैभन्दा पहिले यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलरबराबरको पुरस्कार पनि प्राप्त गर्न सक्छन् ।
अबका योजना
सगुन डटकमका संस्थापक गोविन्द गिरीले 'लङ ट्रम भिजन' बनाएर तीव्र रूपमा कामहरू अघि बढाइरहेको बताएका छन् । उनले यस्तो अनौठो र 'विग डि्रम' लामो समयको अध्ययन पश्चात तय गरिएको जिकिर गरेका छन् । विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूले उपयोग गरिरहेका चल्तीका सोसियल साइटहरूका लागि सगुन डटकम केही वर्षमै दरिलो प्रतिस्पर्धीका रूपमा देखापर्ने उनको दाबी छ । गिरीका अनुसार अन्य साइटहरू प्रयोग गरेबापत प्रयोगकर्ताहरूले पैसा भुक्तान गरिरहेका छन्, तर सगुनले प्रयोगकर्ताहरूमार्फत कमाएको नाफा साझेदारी गर्ने काम गरिरहेको छ ।
सगुनको पहिलो भर्सन सार्वजनिक भएपछि प्रयोगकर्ताको मनसाय बुझेर एडभान्स योजनाहरूको काम सुरु भैसकेको छ । तीन-तीन महिनामा भर्सनहरू चेन्ज हुनेछन् । अबको भर्सनमा कम्युनिटी इभेन्ट, मुडवेस कन्भर्सेसन, सिटी गाइड, मोबाइल एप्लिकेसनजस्ता सुविधाहरू थप गरिनेछ ।
सामसुङ मोबाइल एक्स्पो
आगामी चैत २७ गते सामसुङ ग्यालेक्सी-जे १ मोबाइल एक्स्पो-२०१५ प्रारम्भ हुँदैछ । 'नझुक्याउने पक्का पर्ने' ग्रान्ड अफरसहित काठमाडौंको सीटीसी मलमा सञ्चालन हुने उक्त मोबाइल एक्स्पोको मुख्य आयोजक सीटीसी मोबाइल बजार तथा मुख्य प्रायोजक सामसुङ मोबाइल हुन् । माइक्रोम्याक्स, कलर्स तथा जियोनीले सह-प्रायोजन गर्ने उक्त एक्स्पोको गोल्ड स्पोन्सर हुवावे मोबाइल हो भने ब्रोन्ज स्पोन्सर इन्टेक्स मोबाइल, आर्क मोबाइल, रेज मोबाइल तथा बिक्यु मोबाइल छन् । उक्त मोबाइल मेलाको को-स्पोन्सरका रूपमा स्पाइस, सोनी, पानासोनिक, कार्बन, वीनकम-फ्लाई, भिडियोकोन र डाइमन्ड मोबाइलले सहकार्य गरेका छन् भने बर्ड र सेल्कन मोबाइलले विशेष सहयोग गरेका छन् ।
निःशुल्क प्रवेशको व्यवस्था रहेको उक्त मोबाइल एक्स्पो वैशाखको पहिलो सातासम्म जारी रहनेछ । एक्स्पोमा हरेक घण्टा क्यासव्याक अफरमार्फत ५५ प्रतिशतसम्म छुट, हरेक मोबाइल खरिदमा स्क्र्याच कार्डमार्फत ८ देखि ५५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्रमार्फत ५ वटा मोबाइल वितरण गरिनेछ । एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई प्रवेशसँगै लक्की ड्रमा समावेश गराइने व्यवस्था मिलाइएको छ । यो मोबाइल एक्स्पोमा ३ लाखभन्दा बढी अबलोकनकर्ता पुग्ने विश्वास गरिएको छ । यो मोबाइल एक्स्पो-२०७१ म्ाा १ सयभन्दा बढी मोबाइल स्टलका साथै फुडकोर्ट, गेमिङ जोन तथा टच एन्ड फिल जोन पनि रहनेछन् । एक्स्पोमा १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका नेपालमा उपलब्ध सबैजसो कम्पनीका मोबाइल सेट उपलब्ध हुनेछ ।
एप्पलको मेगाप्याड
एप्पल कम्पनीले १२ दशमलव १ इन्च लामो तथा ८ दशमलव ७ इन्च चौडा डिसप्ले भएको 'आइप्याड प्रो' नामक मेगाप्याडका लागि काम गरिरहेको छ । मेगा आइप्याड प्रो यसअघिको ९ दशमलव ४ इन्चको डिसप्ले भएको आइप्याड एयर २ जस्तै डिजाइनमा तर त्योभन्दा ठूलो स्वरूपमा आउने कम्पनीले बताएको छ । आइप्याड एयर २ मा भएका सुविधा र फिचरहरू मेगाप्याडमा पनि दुरुस्तै राखिनेछ, तर मेगाप्याडमा स्पिकर र ब्याट्री चार्ज सिस्टम फरक किसिमको हुनेछ । मेगाप्याडमा चारवटा स्पिकर र ब्याट्री चार्ज हुने दुइटा 'पोर्ट' रहनेछन् । दुइटा मोडलमा उपलब्ध हुने मेगाप्याडमा स्टेरियो साउण्ड स्पिकरसमेत हुनेछ ।
कम्पनीलेे १२ दशमलव १ इन्चको मेगाप्याडलाई 'आइप्याड प्रो' नाम दिएको छ भने १२ दशमलव ९ इन्चको मेगाप्याडलाई आइप्याड एयर प्लस प्रो नाम दिइएको छ । शून्य दशमलव २७ इन्च मोटो मेगाप्याडमा ए-९ प्रोसेसर राखिनेछ । एप्पलको यो मेगाप्याड सन् २०१५ को सुरुमा मेगाप्याड बजारमा आउने बताइएको छ ।
— भोला महतो