साप्ताहिक संवाददाता
चैत्र २१, २०७१
माइलाको व्यस्तता
प्युठानमा नक्कली धुर्मुस बनेर दर्शकलाई हँसाउँदा-हँसाउँदै काठमाडौं आएर धुर्मुससंगै 'मेरी बास्सै' मा अभिनय गर्न थालेका कलाकार बेगम नेपालीलाई दर्शकहरूले 'भटभटे माइला' का नामले चिन्छन् । मेरी बास्सैमा फतौरी बूढी (कुञ्जना घिमिरे) को नातिको भूमिकामा प्रस्तुत भैरहेका भटभटे माइला स्ट्यान्डअप कमेडीमा समेत सक्रिय छन् । काठमाडौं तथा मोफसलका महोत्सवमा एकल प्रस्तुतिमार्फत दर्शक हँसाइरहेका माइला बालबालिकामाझ लोकप्रिय छन् । काठमाडौंका विभिन्न विद्यालयमा पुगेर समेत आफ्ना प्रस्तुति दिइरहेका माइलाले गत शनिबार कुपण्डोलस्थित नाजार्गुन एकेडेमीमा सम्पन्न दीक्षान्त समारोहमा करिब आधा घण्टा विभिन्न क्यारिकेचर तथा प्रहसनमार्फत दर्शकको मन जितेका थिए ।