यसै साता सम्पन्न पाँच दिने इन्डिया फेसन विक-२०१५ मा नेपाली जीवित देवी कुमारीबाट प्रेरित पहिरन पनि प्रस्तुत भयो । उक्त फेसन सप्ताहको दोस्रो दिन गत बिहीबार भारतीय डिजाइनर सामन्त चौहानले आफ्नो 'राजपुताना कुमारी' शीर्षकको कलेक्सनबाट उक्त पहिरन प्रस्तुत गरेका थिए । महिला शक्ति, शान्ति तथा स्नेहको स्वरूपमा जीवित देवी कुमारीको उपासना गर्ने नेपाली संस्कृतिलाई आफ्नो सिर्जनात्मक शैलीमा ढाल्ने क्रममा डिजाइनर चौहानले देवीका विभिन्न सात रूप प्रस्तुत गरेका थिए । डिजाइनर चौहानको यो कलेक्सनको प्रारम्भमा नेपाली संस्कृति झल्कने भिडियोसमेत प्रदर्शन गरिएको थियो । त्यसपछि पृष्ठभूमिमा बजेको 'नमस्ते' उच्चारण भएको धुनसहित सानी बालिकालाई कुमारीको स्वरूपमा प्रस्तुत गरिएको थियो भने मोडलहरूले चौहानको सिर्जनालाई पालैपाले रनवेमा प्रदर्शन गरेका थिए ।