साप्ताहिक संवाददाता
असोज २८ गते मनाङ र मुस्ताङ जिल्लाका हिमाली क्षेत्रमा बंगालको खाडीमा देखा परेको हुदहुद आँधीको प्रभावले सिर्जना भएको हिमआँधीसँगै विभिन्न स्थानमा हिमपात र हिमपहिरोहरूको श्रृंखला देखा पर्यो, जसलाईर् अन्नपूर्ण र आसपासका क्षेत्रमा देखापरेको इतिहासकै सबैभन्दा प्रलयकारी घटनाका रूपमा लिइएको छ । उक्त हिमआँधीमा परेर विभिन्न मुलुकका कम्तीमा ४३ जना पर्यटकको ज्यान गयो । लगातार चार दिनसम्म चलेको हिमआँधी, हिमपात र हिमपहिरोका कारण ५० जना बेपत्ता भए भने १ सय ७५ जना गम्भीर घाइते भए ।
सिन्धुपाल्चोकमा भीषण पहिरो
साउन १७ गते सिन्धुपाल्चोककोे राम्चे-५ को जुरेमा राति २ बजे गएको पहिरोलाईनेपालको सन्दर्भमा आजसम्मकै भीषण पहिरो मानिएको छ । उक्त पहिरोमा परी राम्चे, मांखा, टेकनपुर र तौथली गाविसका १ सय ५६ जनाले ज्यान गुमाए । जम्मा ३३ शवमात्र फेला परे पनि १ सय २३ जनालाई बेपत्ता घोषणा गरियो । उक्त पहिरोका कारण सुनकोसी नदी थुनिएपछि करिब ३ किलोमिटर लम्बाइ, करिब ५ सय मिटर चौडाइ र ९० मिटर गहिरो कृत्रिम ताल बनेको थियो, जुन ३५ दिनपछि भदौ २२ गते अकस्मात् फुट्यो र ९० प्रतिशतभन्दा बढी पानी बगेर गयो । यसरी सुनकोसी थुनिँदा अरनिको राजमार्गको दुई किलोमिटर सडक खण्ड ध्वस्त भयो भने माथिल्लो भोटेकोसीलगायत सातवटा विद्युत् आयोजनाबाट उत्पादित ६७ मेगावाटविद्युत् आपूर्ति बन्द भयो ।
सगरमाथामा १२ शेर्पाको मृत्यु
वैशाख ५ गते सगरमाथा आरोहणमा खटिएका १२ जना 'क्लाइम्बिङ शेर्पा' को हिमपहिरोले पुरिएर मृत्यु भयो,४ जना बेपत्ता भए भने अन्य ४ जना घाइते भए । उनीहरू आधार शिविरबाट पहिलो क्याम्पतर्फ जाने क्रममा अचानक हिमपहिरोमा परेका थिए ।
मनास्लु हिमपहिरोमा ९ पर्यटकको निधन
असोज ७ गते गोरखास्थित मनास्लु हिमालको बेस क्याम्पमा गएको हिमपहिरोमा परी ९ जना पर्यटकको निधन भयो भने १२ जना घाइते भए । त्यतिबेला मनास्लु हिमालको २ र ३ नम्वर बेस क्याम्पमा बिहान ५ बजे हिमपहिरो गएको थियो ।
अर्घाखाँची बस दुर्घटनामा १९ को मृत्यु
वैशाख १६ गते अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा परी १९ जनाको मृत्यु भयो । नरपानी-५ जगत भन्ने स्थानमा लु १ ख ६२३१ नम्बरको बस र लु १ ख ७८२७ नम्बरको ट्रक एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै १० जनाएको मृत्यु भएको थियो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो ।
काभ्रेमा ६ को निधन
वैशाख २० गते काभ्रेमा भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ यात्रुको निधन भयो ।
भेरीमा बस खस्दा ४७ जनाले ज्यान गुमाए
मंसिर ७ गते जाजरकोटको भुर-७ रावत गाउँस्थित भेरी नदीमा बस खस्दा ४७ जनाले ज्यान गुमाए । ७० भन्दा बढी यात्रु लिएर जाजरकोट खलंगाबाट सुर्खेतको राकमका लागि हिँडेको बस रावतगाउँमा सडकबाट ७० मिटर तल भेरी नदीमा खसेको थियो ।
जुम्ला बस दुर्घटनामा १७को निधन
गत चैत १ गते जुम्लाको सदरमुकामबाट कालीकोटको नाङमा गैरहेको बस रारालिही भन्ने स्थानमा दुर्घटना हुँदा १७ जना यात्रुको निधन भयो । दुर्घटनाका क्रममा बस सडकबाट करिब २ सय मिटर तलको तिला नदीमा खसेको थियो ।
कैलाली बस दुर्घटनामा १२ ले ज्यान गुमाए
चैत १० गते कैलाली, सहजपुरको खाँनीडाँडामा डोटीको दीपायलबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आइरहेको महाकाली यातायातको ना ५ ख ५४२० नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त हुँदा १२ जनाले ज्यान गुमाए ।
सुर्खेत बस दुर्घटनामा १८ को निधन
चैत ११ गते सुर्खेतको पोखरीकाँडा गाविसस्थित कालेखोलामा कालिकोटबाट कैलालीको टीकापुरतर्फ गैरहेको ना ४ ख ६८५७ नम्बरको बस दुर्घटना हुँदा १८ जना यात्रुको निधन भयो । उक्त दुर्घटनामा ४८ जना घाइते भए ।