साप्ताहिक संवाददाता
निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेर अलग बसेकी रेखा थापाले ओझासँगको व्यवसायिक सम्बन्ध भने कायमै राखेकी थिइन् । गएको वर्ष एक्लैले चलचित्र 'काली' निर्माण गरे पनि रिलिजका बखत भने उनले कार्यकारी निर्माताका रूपमा छविराज ओझालाई त्यसमा सामेल गरेकी थिइन । यो वर्ष भने रेखाले आफ्नो निर्देशनमा बनाइएको चलचित्र 'हिम्मतवाली'मा छविलाई सामेल गरिनन् । 'काली'देखि 'हिम्मतवाली' सम्म आइपुग्दा रेखा र छविबीचको व्यवसायिक सम्बन्ध पनि बिग्रिसकेको छ ।
छवि प्लस शिल्पा
निर्माता छविराज ओझा आफ्नै पछिल्लो खोज नायिका शिल्पा पोखरेलसँग नजिकिएको चर्चा चल्यो । रेखा थापासँग मनमुटाव भएर अलग भएका छवि शिल्पालाई रेखाको स्थान दिन तत्पर देखिए । शिल्पाले भने छविसँग आफ्नो सम्बन्ध निर्माता र नायिकाको मात्र रहेको बताउँदै आएकी छिन् ।
रेखा प्लस सुदर्शन
रेखा थापाचलचित्र 'हिम्मतवाली'को निर्माणका क्रममा उक्त चलचित्रका अभिनेता सुदर्शन गौतमसँग नजिकिएको हल्ला चल्यो । दुवै हात नभएका सुदर्शनसँग रेखाका अनेकन गसिप सुनिए पनि सुदर्शन फेरि अमेरिका पुगेपछि त्यो कुरा मत्थर भएको छ ।
मेमोरेबल श्रीकृष्ण
नायकश्रीकृष्ण श्रेष्ठ वर्षैभरि खबरमा छाइरहे । नायिका श्वेता खड्कासँगको प्रेमविवाह, विवाह लगत्तै उनको मृत्यु र मृत्युपश्चात् चलचित्र कोहिनूरले पाएको अभूतपूर्व व्यवसायिक सफलताले गर्दा श्रीकृष्ण मरणोप्रान्त पनि सबैले सम्झिरहने सेलिब्रेटी बने ।
निशा प्लस शरद
क्रिकेटर शरद भेषवाकरसँग नायिका निशा अधिकारीको निकटता पनि चलचित्रकर्मीहरूको चासोको विषय बन्यो । निशाले फेसबुकमा शरदसँगको निकटतालाई पुष्टि पनि गरिन् ।
सेकेन्ड ब्रेकअप
नायिका सुष्मा कार्कीको प्रेमसम्बन्ध भने फेरि एकपटक टुक्रिएको छ । गएकै वर्ष निर्देशक सुदर्शन थापासँगको प्रेमसम्बन्ध तोडेकी सुष्माले त्यसपछि अन्डरग्राउन्ड ब्यान्डका गायक नरेन शाहीसँगको प्रेम सार्वजनिक गरेकी थिइन् । यो वर्ष भने नरेनले पिट्न थालेकाले छाडेको भन्दै उनीसँग कुनै सम्बन्ध नरहेको बताइन् ।
नीताको प्रेम
नायिका नीता ढुंगानाले आमेश भण्डारीसँग विगत तीन वर्षदेखि प्रेममा रहेको खुलासा गरिन् । निर्देशक दिनेश डिसीको चलचित्र 'फूलैफूलको मौसम तिमीलाई'मा नीतासँग उनका प्रेमी आमेश जोडीका रूपमा देखा पर्दैछन् ।
आलोकको आत्महत्या
केही महिनाअघि किनेको हाउजिङमा आलोक नेम्बाङले गलामा पासो लगाइ आत्महत्या गरे । एक होनहार म्युजिक भिडियो तथा चलचित्र निर्देशकको अकल्पनीय देहावसानले सबै अचम्म र शोकमा परे । तनावका कारण उनले मृत्यु रोजेको बताइन्छ ।
प्रियंका र पत्रकार विवाद
नायिका प्रियंका कार्कीको भित्रीबस्त्र देखिएको समाचार प्रकाशित गरेपछि अनलाइनका पत्रकारहरूसँग नायिका कार्कीको चर्को विवाद भयो । त्यही क्रममा प्रियंकाले आफ्नो फेसबुकमा केही विवादास्पद अभिव्यक्ति लेखेको भन्ने कुराले विवाद अझ बढ्यो । अन्तत: चलचित्र पत्रकार संघको पहलमा विवाद साम्य पारियो ।