वर्ष २०७१ को पूर्वार्द्धमै नेपाली तारा-२ का विजेता गायक सन्तोष लामाले गीता मोक्तानलाई जीवन संगिनी बनाए । यसैगरी दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी मोडल अन्जु निरौलाले वैशाख २५ गते सुनिल कार्कीसित लगनगाँठो कसिन् ।
सेलिब्रिटी विवाहको दृष्टिले असार महिना व्यस्त रह्यो । यो महिना तीनवटा चर्चित वैवाहिक समारोह सम्पन्न भए । उमेरले ५० कटेकी वरिष्ठ अभिनेत्री मिथिला शर्माले ७४ वषर्ीय पूर्व आईजीपी मोतीलाल बोहोरालाई असारमै जीवनसाथी बनाइन् भने नाट्यकर्मी, चलचित्र निर्देशक एवं अभिनेता अनुप बराल तथा अभिनेत्री दिया मास्केले पनि यही महिना लगनगाँठो कसे ।
असार महिनामै गायकद्वय विवश पौडेल तथा विधान श्रेष्ठ पनि वैवाहिक जीवनमा बाँधिए । कान्तिपुर टेलिभिजनमा संगीत संयोजकका रूपमा कार्यरत विवशले करुणा बस्नेतलाई तथा विधानले पद्यमा श्रेष्ठलाई जीवनसाथी बनाए । वर्ष २०७१ को लगन नछुटाउनेमा गायक भरत सिटौला, सूर्य रुम्बा र फुर्वा शेर्पा पनि रहे । सिटौलाले यसै वर्ष रेजिना भट्टराईसँग लगनगाँठो कसे भने रुम्बाले दोलखाकी सुजाता तामाङसित विवाह गरे ।
फेसन डिजाइनर शुभेच्छा भँडेल पनि यही वर्ष विवाह बन्धनमा बाँधिइन् । भँडेलले आफ्नो जीवनसाथीका रूपमा अमेरिकाको टेक्सासमा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत सन्दिपकुमार ब्याँजुलाई रोजिन् ।
यसै वर्ष नेपालका पाँचजना क्रिकेट खेलाडी पनि विवाह बन्धनमा बाँधिए । यसरी विवाह बन्धनमा बाँधिनेमा कप्तान पारस खड्का, प्रदीप ऐरी, सञ्जम रेग्मी, अमृत भट्टराई तथा ललित भण्डारी छन् । कप्तान पारस खड्काले आफ्नी प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग विवाह गरे भने प्रदीप ऐरीलाई ज्योति खड्काले बोल्ड गरिन् । त्यसैगरी सञ्जम रेग्मी सरस्वती गौतमको स्वीङ बलमा बोल्ड भए भने अमृत भट्टराईको विकेट लिने श्रेय रचना भुसालले पाइन् । उता ललित भण्डारी अञ्जली पन्तको हाइस्पिड बलमा आउट भए ।
वर्ष २०७१ कै अन्त्यतिर अभिनेत्री सुमिना घिमिरेले आफ्ना पाइलट प्रेमी रोशन सापकोटासँग लगनगाँठो कसिन् भने ३४ वर्षीया अभिनेत्री झरना बज्राचार्य मलेसियन नागरिक राहुल अग्रवालसँग विवाह-बन्धनमा बाँधिइन् ।