साप्ताहिक संवाददाता
बल्थली इको हिल रिसोर्ट
पनौतीबाट सात किलोमिटरको दूरीमा अवस्थित बल्थली गाउँ प्राकृतिक एवं संस्कृतिक रूपले सम्पन्न छ । यही स्थानमा खुलेको बल्थली इको हिल रिसोर्ट पाहुनाहरूको सत्कारका लागि अब्बल मानिन्छ । समुद्री सतहबाट १ हजार ५ सय ८० मिटर उचाइमा रहेको यो रिसोर्टमा ३० वटा आरामदायक कोठा छन् । ती कोठा ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा रात बिताउन सकिन्छ । कोठामा बस्न नचाहनेहरूका लागि 'ले-टेन्ट'का साथै सफारी टेन्टको पनि व्यवस्था छ । काठमाडौंबाट ३९ किलोमिटर दक्षिण-पूर्व्ामा रहेको बल्थली पर्यटकीय सम्भावनाको क्षेत्र हो । त्यहाँ पुग्न काठमाडौंबाट पनौती वा खोपासीसम्म बस यात्रा गर्नुपर्छ भने त्यहाँबाट पैदल डेढ घण्टा हिँड्नुपर्छ । मोटरसाइकल व जिप छ भने बल्थलीसम्मै पुग्न सकिन्छ ।
न्यू दक्षिणकाली भिलेज रिसोर्ट
काठमाडौंको बल्खुबाट १३ किलोमिटर यात्रा गरेपछि दक्षिणकाली भिलेज रिसोर्ट पुगिन्छ । दक्षिणकाली मन्दिर नजिकैको यो रिसोर्टलाई आधार बनाएर चम्पादेवी हाइकिङ गरी बेलुकी बास बस्न रिसोर्टमै र्फकन सकिन्छ । यो रिसोर्टमा स्वीमिङ पुलका साथै खेलकुदका सुविधाहरू उपलब्ध छन् । आसपास घना जंगल तथा गुम्बाहरू पनि भएकाले यहाँ समय बितेको पत्तो पाइँदैन । यो रिसोर्टका कोठाको मूल्य २ हजार ५ सय रुपैयाँभन्दा माथि छ ।
वृन्दावन गोदावरी रिसोर्ट
वृन्दावन गोदावरी रिसोर्ट काठमाडौंबाट १५ किलो मिटर दक्षिण-पूर्वमा रहेको गोदावरी घुम्न पुग्नेहरूलाई स्वागत गर्नसदैव तत्पर छ । ध्यान तथा योगको विशेष व्यवस्था गरिएको यो रिसोर्ट उमेर ढल्किएका फिरन्ताहरूको रोजाइमा पर्छ । रिसोर्टलाई बासस्थल बनाएर गोदावरी बोटानिकल गार्डेनका साथै वरिपरीका स्थानहरूमा छोटो हाइकिङको मज्जा लिन सकिन्छ । यहाँ सामान्यत: १ हजार ५ सय रुपैयाँदेखिका कोठा उपलब्ध छन् ।
पातले वन भिनयार्ड रिसोर्ट
काठमाडौंबाट १६ किलोमिटर टाढा रहेको बडभन्ज्याङस्थित पातले वन रिसोर्ट क्षेत्रमा गरिएको अंगुर खेती प्रख्यात छ । लटरम्म फलेका अंगुरको स्वाद आफ्नै हातले टिपेर लिन पाइने भएकाले यहाँ पर्यटकहरू झुम्मिन्छन् । स्थानीय अंगुरको वाइनले धेरैको मन लठ्याउँछ । पातले बनमा रहेको भिनयार्ड रिसोर्टका २९ वटै कोठाबाट लाङटाङ, गणेश, मनास्लु तथा अन्नपूर्ण हिमश्रृखंला अवलोकन गर्न सकिन्छ । रिसोर्टबाट अढाई घण्टा हिँडेर इन्द्र दहसम्म हाइकिङ गर्न सकिन्छ । यो रिसोर्टका कोठाहरूको मुल्य क्षमताअनुसार ४ हजार ५ सय रुपैयाँसम्म पर्छ ।