साप्ताहिक संवाददाता
क्रिकेटको बढ्दो प्रभावका कारण नेपालमा अरू खेल ओझेलमा पर्न थालेको अनुभव पनि यही वर्ष गरियो । यो वर्ष लगभग क्रिकेटले नै नेपाली खेलकुदलाई छोपेको देखियो । भारत, पाकिस्तान र श्रीलंकामा त क्रिकेट नम्बर एक खेल थियो नै, बंगलादेशमा पनि अहिले यसका अगाडि अरू सबै खेल पछाडि पर्ने गरेका छन् । के क्रिकेटको बढ्दो लोकप्रियताका कारण नेपालमा पनि अरु खेलहरू ओझेलमा पर्दैछन् भन्ने कुराको संकेत त होइन ?
वर्षको अन्त्यमा सुन्न पाइयो, नेपाली खेलकुद इतिहासमैै सबैभन्दा ठूलो प्रायोजक क्रिकेटले पाएको छ । यसअघि फुटबल र गल्फले करोडभन्दा माथिका प्रायोजन पाउने गरेका थिए, अहिले क्रिकेटमा त्योभन्दा पनि ठूला प्रायोजन आउन थालेका छन् । नेपाल टेलिकमले नेपाली क्रिकेटसँग तीन वर्षका लागि गरेको ४ करोड रुपैयाँभन्दा बढीको प्रायोजनले त्यसैतर्फ संकेत गरेको छ । नेपाली क्रिकेटसँग अरू धेरै प्रायोजक छन्, अरु प्रायोजक थपिने क्रम जारी नै छ । प्रायोजनको यो श्रृंखलाका पछाडि राष्ट्रिय टिमले प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलता नै प्रमुख कारण हो भन्ने कुरामा कुनै सन्देह छैन । नेपालले वर्ष ०७१ को सुरुमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री जित्यो । नेपालले डिजिभन थ्रीको उपाधि जितेको यो लगातार दोस्रो अवसर हो र यसको एउटा कारण डिभिजन टुबाट रेलिगेसनमा परेको पीडा थियो ।
नेपालले मलेसियामा भएको डिजिभन थ्रीको फाइनलमा युगान्डालाई ६२ रनले हराएको थियो । यसअघि लिग चरणको खेलमा नेपाल पाँच खेलमध्ये चारमा विजयी रहेर शीर्ष स्थानमा थियो । डिजिभन थ्रीमा नेपाल आफ्ना विपक्षीहरूमाथि पूर्णत: हावी भएको थियो । त्यही सफलताले नेपालका लागि डिभिजन टुको बाटो पनि खोल्यो । नामिबियामा सम्पन्न डिभिजन टुमा एक समय उपाधिका लागि नेपालको चुनौती कायम थियो, तर लिग चरणको अन्त्यमा नेपाल तेस्रो स्थानमा झर्यो । त्यसपछिको प्ले अफमा नेपाल केन्यासँग पराजित हुँदै चौथो स्थानमा कायम भयो, तर यसले नेपाललाई विश्व क्रिकेटको त्यो स्थानमा पुर्यायो, जुन स्थान टेस्ट मान्यता प्राप्त देशहरूपछिको स्थान हो । यसैकारण अब नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पयनसिप खेल्न पाउने भएको छ, जसमा सफलता प्राप्त गर्न सके नेपालका लागि एक दिवसीय विश्वकपको ढोका खुल्नेछ ।
उमेर समूहमै नेपालले मलेसियामा भएको एसीसी यू-१६ को उपाधि पनि जित्यो । यी सबबीच नेपाल क्रिकेट संघ -क्यान) मा विवाद पनि देखा पर्यो । नेतृत्व तह भ्रष्टाचारको आरोपबाट गुज्रँदै अदालतमा समेत तानियो, क्यानमा दुई समानान्तर कमिटी देखिए । नेपाली क्रिकेटको घरेलु संरचना कमजोर छ भन्ने आरोपबाट पनि क्यान मुक्त हुन सकेन ।
क्रिकेटको बढ्दो प्रभावका बीच फुटबल भने ओझेलमा पर्न थालेको छ । यसपछाडि नेपाली फुटबलको लगातारको असफलताले पनि प्रमुख भूमिका खेलेको छ । वर्ष ०७१ मा नेपाली फुटबलले फेरि एकपल्ट विश्वकप छनोटमा आफ्नो चुनौती पेस गरेको थियो, तर उक्त चुनौतीलाई पहिलो चरणमै भारतले समाप्त गर्यो । यसपल्टको विश्वकप एसियाली प्रारम्भिक छनोट चरण एसियाकपको पनि छनोट थियो । भारतसँग दुई लेगमा बेहोरेको हारले नेपालका लागि एसियाकप छनोटको बाटोमा पनि पूर्णविराम लगायो । क्रिकेटको तुलनामा नेपाली फुटबलको घरेलु संरचना निकै व्यस्त र बृहत् छ, तर समस्या के छ भने लगातारको प्रतियोगितापछि पनि नेपाली फुटबलले दक्षिण एसियाली स्तरमा खासै ठूलो सफलता पाउन सकेको छैन ।
वर्ष ०७१ मै नेपाली खेलकुद दुई अरू ठूला अवसरबाट गुजि्रयो । एउटा अवसर थियो, दक्षिण कोरियाको इन्चेनमा भएको एसियाली खेलकुद र अर्को दक्षिण एसियाली आमन्त्रण महिला भलिबल ।
इन्चेन एसियाली खेलकुद नेपालका लागि निराशाजनक रह्यो । नेपालको सहभागिता संख्या ठूलो थियो, खेल, खेलाडी र पदाधिकारी सबैको भिड इन्चेनमा देखियो, तर नेपालको हातमा एक कांस्य मात्र पर्यो ।
यसबाहेक वर्ष ०७१ मा नेपाली महिला भलिबल टिम पनि चर्चामा रह्यो । काठमाडौंमै सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबलमा नेपालले दोस्रो स्थान हासिल गर्यो । आमन्त्रण प्रतियोगिता भएकाले यसमा सबै दक्षिण एसियाली टिम सहभागी थिएनन् । सहभागी टिम पनि पूर्ण राष्ट्रिय टिम थिएनन्, तैपनि नेपाली टिमको प्रदर्शनले भविष्यमा ठूलो अर्थ राख्ने पक्का छ ।