स्टेफेन हकिङ बोल्न सक्दैनन्, तर उनले यति धेरै कुरा दुनियाँलाई बुझाएका छन् कि अहिलेको विज्ञान उनकै वरिपरि घुमिरहेको छ । हाम्रै झमककुमारी घिमिरेजस्ता स्रष्टाहरूका कुरा पढ्दा पनि थाहा हुन्छ, अभिव्यक्तिका लागि जिब्रो नै प्रयोग हुन्छ भन्ने छैन, तर किन भनिन्छ— हाड बिनाको जिब्रो लट्पटिइहाल्छ नि !
अब आउनुहोस्, जिब्रोका बारेमा रियल कुरा गरौं, गजुरियल स्टाइलमा ! जिब्रोको मुख्य काम स्वाद लिनु हो । यस अर्थमा 'अल्छी तिघ्रो, स्वादे जिब्रो', 'जिब्रो रसायो', 'जिब्राले पानी निकाल्यो' जस्ता उक्तिलाई सही मान्न सकिन्छ । जिब्रो थिएन भने मिठाई खानुहोस् कि माटो खानुहोस्, केही फरक पर्दैनथ्यो । जिब्रोमा प्लास्टिकले बाँधेर गोबर खानुहोस् कि गुँदपाक, स्वादमा कुनै भिन्नता आउँदैन तर विचार, बोली र भनाइलाई आधार मानेर त्यसलाई जिब्रोसँग जोड्नु सरासर गलत हो भन्ने गजुरियल ठम्याइ छ ।
निर्दोष जिब्रोमाथि युगौंदेखि थुप्रै मिथ्या आरोप लाग्दै आएको छ । नेताले कुरा लुकाए भने 'जिब्रो चपाए' रे ! अभिनेताले बोली बिगारे पनि 'जिब्रोमा लगाम लगाएनन्' रे ! मन्त्रीले दोधारे कुरा गरे, 'दुई जिब्रे कुरा' रे ! कसैको बोली मन परेन भने 'जिब्रो सम्हालेर बोल्नु' रे ! धेरै बोल्यो भने 'जिब्रोमा ब्रेक पुगेन' रे !
हेर्नोस्, जिब्रो लोभी छ तर पापी पटक्कै छैन । एक पटक अमेरिकन र नेपाली बसेर सोमरस पिउन आँटेछन् । अमेरिकनले सोमरसमा जलरस थपेर पिएछन्, नेपालीले नथपी निट तन्काएछन् ! अमेरिकनले सोधे कि, 'के तिमीहरू पानी किन थप्दैनौ ?' नेपाल्ाीको जवाफ थियो, 'हि्वस्की देख्दैमा हाम्रो जिब्रोमा यति धेरै पानी आउँछ कि पानी थप्नै पर्दैन ।' यस अर्थमा जिब्रोलाई लोभी भन्नचाहिं मिल्छ तर 'जिब्रो थुत्ने' खालको पापीचाहिं हुँदै होइन ।
त्यसो भए आफ्नो बोलीको ठेगान नहुनेहरू किन जिब्रोमाथि दोष थोर्पछन् ? यसको जवाफ खोज्न सबैभन्दा पहिले शब्दको निर्माण कसरी हुन्छ भन्ने बुझ्नु आवश्यक छ । हाम्रो विचार सबैभन्दा पहिले मन -भाव) मा बन्छ । मनले बनाएको शब्दलाई मस्तिष्कले शब्दमा रूपान्तर गर्छ । मस्तिष्कले बनाएको शब्दलाई बुद्धिले सम्पादन गर्छ । यी तीनले बनाएको वाक्य स्वरनलीले ध्वनिमा परिणत गर्छ । यी चार तत्त्वले तयार पारेको शब्द बल्ल हाम्रो जिब्रोले अभिव्यक्त गर्ने हो ।
यसलाई प्राविधिक भाषामा बुझ्नुहोस् । मिक्स्चर अरू नै छ । इन्जिन अरू नै, इन्जिन सञ्चालन गर्ने विद्युत् अरू नै छ । कन्ट्रोलर अरू नै छ, तार अरू नै छ । जिब्रो भनेको त मात्र स्पिकर हो । एकैछिनका लागि कल्पना गर्नुहोस् । स्वरनली र जिब्रोको सम्बन्ध-विच्छेद गराइदिनुहोस् । निधारमा डिजिटल साउन्डबक्स जडान गर्नुहोस् । स्वरनलीलाई निधारको स्पिकरमा फिट गरिदिनुहोस्, बोली त त्यहाँबाट पनि आउँछ क्यारे !
गजुरियल ठम्याइ छ, बोल्दा जिब्रो लट्पटिएको होइन, हाम्रो बोली लट्पटिएको हो । त्यसो भए बोली किन लट्पटिन्छ
त ! किनभने हाम्रो बोल्ने भाव निर्माण हुने मन अस्थिर छ । शब्द तयार बन्ने मस्तिष्क अशान्त छ । सम्पादन गर्ने बुद्धि मन्द छ । बोलीलाई व्यवस्थित बनाउने विवेक अस्वस्थ छ । अतः जिब्रोलाई दोष दिनुको सट्टा अज्ञानता, अस्थिरता र अन्यौलतामा अल्भिmएको आफ्नो 'आन्तरिक स्वायत्त प्रदेश' लाई शान्त बनाउनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।
www.facebook.com/majurel