उनी आफूलाई 'सादा जीवनको' पर्याय मान्छन् । खाना पकाउने, लुगा धुने, कोठा सफा गर्ने सबै काम आफैं गर्छन् । उनी कतै जानुपर्यो, पैदल हिँड्छन् । 'एउटा साधरण मान्छेको जीवन कस्तो हुन्छ' पुरानो बानेश्वरको एक कफी सपमा गफिइरहँदा उनले भने, 'मेरो पनि त्यस्तै हो ।'
स-सना झोला झ्याम्टा । केही लुगाफाटा । झ्यार्रर बल्ने स्टोभ । 'खाना पकाउँदा-पकाउँदै मटीतेल सकिन्थ्यो,' उनले सम्भिmए- 'अनि काँचै खाना खाइन्थ्यो ।' जीवनका यस्तै कठिन भोगाइहरूबाट पाठ सिक्दै राई आफ्नो बाँकी जीवन डोहोर्याइरहेका छन् ।
राई रातोपुलको एउटा फ्ल्याटमा बस्छन् । त्यहीँबाट उनको यन्त्रवत् दैनिकी आरम्भ हुन्छ । बिहान ६ बजे उठ्छन् । नुहाइधुवाइ एवं पूजापाठ गर्छन् । ध्यानमा बस्छन् । योग गर्छन् । यी सबै काम सम्पन्न गर्न १ घण्टा लाग्छ ।
'बिहान उठ्नासाथ भगवान् र पितृलाई सम्झेर पानी चढाउँछु' राई भन्छन्- 'त्यसो गर्दा मेरो आत्मालाई शान्ति मिल्छ ।' पूजापाठका लागि सानो ठाउँ छुट्याएका छन् । उनमा धर्मप्रति बढी नै आस्था छ । बायाँ हातको तीनवटा औंलामा पन्ना र नीलमको औंठी लगाएका छन् । राई साताको चार दिन माछामासु खाँदैनन् ।
पूजापाठ सकेपछि दुई कप हरियो चिया पिउँछन् । त्यसपछि भान्सातिर पस्छन् । खाना बनाउँछन् । भान्सामा सादा भात, तरकारी पाक्छ । दाल खाँदैनन् । उनको खान्कीमा नछुट्ने परिकारचाहिँ हरियो साग हो ।
खाना खाने, भाडा माझ्ने र कोठा सफा गर्ने कामसक्दा १० बजेको हुन्छ । त्यसपछिको उनको समय भेटघाट, रेकर्डिङ तथा एडिटिङमा बित्छ ।
राई फुर्सदमा फेसबुक चलाउँछन्, साथीहरूसँग च्याट गर्छन् । फूल गोडमेल गर्छन् । उनले आफ्नो डेरामा थरीथरीका फूल रोपेका छन् । अहिले उनको एकांगी जीवनमा साथी बन्न आएको छ, 'खुसी' नामको कुकुर । उनी घरबेटीले पालेको उक्त कुकुरसँग खेल्छन्, जिस्कन्छन्, रमाउँछन् । 'त्यसले मलाई एक्लो नभएको महसुस गराउँछ' राई भन्छन् ।
राई साँझ ७ बजेभित्र कोठामा फर्किसकेका हुन्छन् । साँझ पनि भगवान् र पितृको नाममा पानी चढाउँछन् । त्यसपछि आरामसाथ बस्छन्, हातमा वाइनको गिलास अनि साथमा सलाद हुन्छ । एक/दुई गिलास वाइन पिएपछि उनको धीत मर्छ । ९ बजेतिर भान्सामा पस्छन् । सादा खाना खान्छन् । ओछ्यानमा पस्नुअघि केही बेर
फेसबुकमा रमाउँछन् ।
यद्यपि सुटिङका बेला भने उनको सेड्युल पूरै फेरबदल हुन्छ । ६ वजे नै उठेर तयार भैसकेको हुनुपर्छ । त्यतिबेला उनलाई सुटिङको गाडी लिन आइपुग्छ । खटिएर काम गर्छन्, घर र्फकने कुनै टुंगो हुँदैन । कहिलेकाहीँ त रातभर पनि बस्नुपर्ने हुन्छ ।
नृत्य निर्देशक राई अक्सर कोरियन शैलीको पहिरनमा ठाँटिन्छन् । सहकर्मीले 'कति चिरिच्याट्ट परेको' भन्न थालेपछि उनी फुरुंग हुँदै पहिरनप्रति थप सजग हुन्छन् । 'अहिले म पहिरनमा निकै ध्यान दिन थालेको छु' राई भन्छन्- 'सबैले राम्रो देखियो भनेपछि जथाभावी लगाउन मन लाग्दैन ।'
छालाको ह्यान्ड ब्याग र घडी उनीसँग कहिल्यै छुट्टदिैनन् । उनीसँग केही ब्रान्डका घडी छन् । ब्यागभित्र सामसुङको ट्याब हुन्छ । प्रायः कोब्रा र एडिडासको परफ्युम प्रयोग गर्छन् ।
गोविन्द रोमान्टिक छन् । साथीभाइसँग भेटेपछि नाच्नुपर्छ, जिस्कनुपर्छ । 'मलाई एकदमै रमाइलो गर्न मन लाग्छ' राई भन्छन् । यही रसिक स्वभावका कारण उनी चलचित्रकर्मीहरूमाझ 'पि्रय' छन् । उनलाई लाग्छ, जीवनको दिगो कमाइ भनेकै इष्टमित्र हुन् । प्रायः फुर्सदमा उनी चलचित्रकर्मीहरूकहाँ पुग्छन् । मौसमी मल्ल, करिश्मा मानन्धर तथा रेखा थापासँग उनको विशेष घनिष्ठता छ । कहिलेकाहीँ आफ्नो फ्ल्याटमा साथीभाइ निम्त्याउँछन् । मीठो मसिनो पकाएर ख्वाउँछन् ।
उनलाई हेर्न मन लाग्ने खेल हो, फुटबल । केही समय यता क्रिकेट पनि हेर्न थालेका छन् । क्रिकेटबाटै नेपालले नाम कमाएपछि उनलाई लाग्यो- 'क्रिकेट हामीले बुझ्नैपर्छ, हेर्नैपर्छ ।'