साप्ताहिक संवाददाता
अनिशा पराजुली, त्रिचन्द्र कलेज
एसएलसीपछिको फुर्सदमा मैले न्युटन इन्स्िटच्युटबाट बि्रज कोर्स गरें । यसले मेरो फुर्सदको सदुपयोग मात्र भएन, उच्च शिक्षामा राम्रो सहयोग समेत पुग्यो । तीन महिनाको अवधिमा मैले प्लस टुमा पुगेपछि के-कस्ता विषय पढाइ हुन्छ भन्नेदेखि त्यसको आधारभूत कुरासम्म जान्न पाएँ । प्लस टुको पाठ्यक्रममा अभ्यस्त भइयो । त्यसबाहेक हामीलाई कलेजको वातावरण तथा त्यहाँ पुगेपछि पालना गर्नुपर्ने कुरा सिकाइयो ।
विद्यालय तह र उच्च शिक्षा बीच ठूलो खाडल छ । बि्रज कोर्सले त्यही खाडल पुरिदिन्छ ।
अपरिहार्य छैन
टि्वंकल अग्रवाल
काठमाडौं कलेज अफ म्यानेजमेन्ट
मैले उच्च शिक्षाका लागि बि्रजकोर्स गरिनँ । एसएलसीपछि बि्रजकोर्सबिना नै प्लस टु गरें । प्लस टु पढ्न बि्रज कोर्स गर्नैपर्छ जस्तो लागेन ।
विद्यालय तहमा राम्रोसँग अध्ययन गरेपछि उच्च शिक्षामा त्यस्तो समस्या हँुदैन । हरेक तह उक्लिएसँगै पाठ्यक्रम त विस्तृत र गहन हुने नै भयो । त्यसअनुसार हामी पनि अलि जान्ने र परिपक्क हँुदै गएका हुन्छौं । त्यसैले एउटा तहवाट अर्को तहमा जम्प गर्न बीचमा कुनै अर्को कोर्स गर्नुपर्दैन ।
पढाइको सिलसिला जोड्छ
प्रकाश दहाल, जेभियर्स
इन्टरनेशनल कलेज
मैले पनि उच्च शिक्षा सुरु गर्नुअघि इन्टेल इन्स्िटच्युटबाट बि्रजकोर्स गरेको थिएँ । गाउँबाट काठमाडौं आएपछि बि्रजकोर्सले यहाँको कलेजको वातावरण, पाठ्यक्रम आदिका बारेमा राम्रो जानकारी दियो । गाउँ र सहरको वातावरणबीच जुन ग्याप हुन्छ, त्यो महसुस हुन दिएन । बि्रजकोर्स पछि मेरो आत्मबल समेत वृद्धि भयो । एसएलसीपछि हामी त्यत्तिकै समय बर्बाद गरिरहेका हुन्छौं । त्यस अवधिमा पढ्ने, लेख्ने क्रम पनि निरन्तर हुँदैन । त्यसैले प्लस टुमा पुगेपछि पुनः पढाइमा र्फकन गाह्रो हुन्छ । यसरी अध्ययनको सिलसिला टुट्ने भएकाले एसएलसी पछिको फुर्सदमा बि्रजकोर्स गर्नु उपयुक्त हुन्छ ।
फेसन मात्र हो
कृष्ण श्रेष्ठ, ख्वप कलेज
प्लस टु भर्ना हुनुअघि बि्रजकोर्स गर्नैपर्छ भन्ने लाग्दैन । कतिपय साथीभाइको लहलहैमा लागेर बि्रजकोर्स गर्न तम्सिन्छन् । उता इन्स्िटच्युटहरू पनि यही मौका पर्खेर बसेका हुन्छन् । यो त एउटा फेसनजस्तै भएको छ । बि्रजकोर्स गर्नु भनेको अनावश्यक खर्च मात्र हो । उच्च शिक्षा अध्ययन गर्न, राम्रा कलेज र विषयमा भर्ना पाउन बि्रजकोर्स गर्नैपर्छ भन्ने छैन ।
प्लस टु भर्ना हुनुअघि घरमै बसेर आवश्यक तयारी गर्न सकिन्छ । आफ्ना दिदी, दाइहरूसँग परामर्श लिन सकिन्छ । उनीहरूले प्रत्यक्ष जानेको, भोगेको कुरा सेयर गर्न सकिन्छ । यसले पर्याप्त सहयोग पुग्छ ।
उच्च शिक्षामा सघाउँछ
अन्जान श्रेष्ठ
मदन भण्डारी मेमोरियल कलेज
मैले बि्रजकोर्स गरेको छैन । सबैका निम्ति बि्रजकोर्स आवश्यक छ भन्ने छैन । यो कोर्स नगरे पनि प्लस टुको पढाइ राम्रोसँग अघि बढाउन सकिन्छ । यद्यपी बि्रजकोर्स गर्नु नराम्रो चाहिँ होइन । यसले उच्च शिक्षाका लागि सहज वातावरण तयार गर्छ ।
बि्रजकोर्सले उच्च शिक्षाका लागि मानसिक रूपमा तयारी गराउँछ । त्यसैले कलेजमा भर्ना भएपछि त्यहाँको वातावरणसँग सहजै घुलमिल गर्न सकिन्छ । आफूले पढ्ने कलेज, वातावरण आदि कुरा थाहा पाइसकेको हुनाले त्यहाँ एडजस्ट हुन गाह्रो हुँदैन ।