पोखराको लोकप्रिय सांगीतिक समूह 'कन्दरा' करिब ८ वर्षपछि पुन: श्रोतामाझ आउने भएको छ । लोक पप गीतका कारण श्रोताहरूको रोजाइमा परेको यो समूहको पाँचौं एल्बमलाई स्टेरियो रेकर्ड्सले जेठको अन्तिम साता बजारमा ल्याउँदैछ । कन्दरामा गायक विवेक श्रेष्ठसहित दुई संगीतकर्मी सुनिल थापा तथा बोधराज बज्राचार्य आबद्ध छन् । २१ वर्षअघि पोखरामा स्थापना भएको यो ब्यान्ड 'लेककी हे माया', 'हङकङ पोखरा', 'तिमी पारी', 'डाँडा पारी', 'तगारोमा रुमाल राखी', 'चञ्चले कान्छी' आदि लोकप्रिय गीतका कारण चर्चामा आइसकेको छ । यसबीच कन्दराले आफ्नो नयाँ एल्बमको नयाँ गीत 'भेडी गोठैमा' को ज्याम अप भर्सन युट्युबमार्फत सार्वजनिक गरेको छ ।