डिजेइङमा महिला सहभागिता बढ्न थालेपछि डान्स पार्टीको रौनकसमेत बढ्न थालेको छ । नयाँ वर्ष २०७२ लाई स्वागत गर्ने उद्देश्यले काठमाडौंमा आयोजित विभिन्न डान्स पार्टीमा महिला डिजेहरूले धुम मच्चाएका थिए । तीमध्ये सबैभन्दा बढी सफल भइन् डिजे मैच्याङ । लामो समयदेखि डिजेइङ गर्न थालेकी मैच्याङले न्यू इयर इभको अवसरमा एभरेस्ट होटलमा नेप्लीज फेसन होमले आयोजना गरेको 'शुभारम्भ-२०७२' शीर्षकको डान्स पार्टीमा मध्यरातसम्म कर्पोरेट क्ष्ाेत्रका व्यक्तिहरूलाई नचाइन् । 'पिरतीको छाता' गीतमा नृत्य गर्ने अनुरोध दोहोरिएपछि मैच्याङले आधा दर्जन पटक उक्त गीत बजाइन् । चलचित्रकर्मी तथा मोडलहरूको समेत बाक्लो सहभागिता रहेको उक्त कार्यक्रम राति १ बजेसम्म जारी थियो । न्यू इयर इभकै दिन आयोजित 'ठमेल स्टि्रट फेस्टिभल' मा भने डिजे तेन्जिङ हावी भए । साँझ ६ बजेदेखि ठमेलको मुख्य सडकमै सञ्चालित महोत्सवमा राति १ बजेसम्म नृत्य गर्ने युवायुवतीको भीड घटेको थिएन । डिजे तेन्जिङले युवापुस्ताको रोजाइका गीत छनाैट गरेपछि नयाँ वर्षको स्वागत गर्न भेला भएका करिब १० हजार युवा-युवतीको भीडले मध्यरात कटेको पत्तै पाएनन् । डिजेले स्टेजबाटै नयाँ वर्षको काउन्टडाउन प्रारम्भ गरेपछि डान्सपार्टीमा केही मिनेट मौनता छायो । घडीले १२ बजाएपछि सहभागीहरू अझ जोस्सिएर नृत्य गर्न थालेका थिए ।