रवीन्द्र समीर मुख्यत: प्रजनन् एवं वालस्वास्थ विशेषज्ञ हुन् । १० वटा पुस्तक लेखेर उनले गम्भीर साहित्यकारको परिचय बनाएका छन् । त्यसबाहेक उनी महिनामा एकपटक गाउँ–सहरमा नि:शुल्क स्वास्थ शिविर पनि चलाउँछन् । समाज मनोविज्ञानमा राम्रो दख्खल राख्ने डा. समीर वैशाख १२ गते भुइँचालो गएयता काठमाडौंमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै औषधि बाँडिरहेका छन् । गएको आइतबारसम्म १ हजार बिरामीलाई औषधि, परामर्श एवं सहयोग गरिसकेका डा. समीरसँग साप्ताहिकले भूकम्पपछिका शारीरिक, मानसिक एवं समाजमनोविज्ञानका विषयमा लामो कुराकानी गरेको थियो ।
तपाईं बालस्वास्थ्य विशेषज्ञ भएका नाताले भूकम्पपछि बालबालिकाको अवस्था कस्तो पाउनुभएको छ ?
अवस्था निकै गम्भीर छ । हामीले आफ्ना प्राचीन सांस्कृतिक एवं ऐतिहासिक धरोहर ढलेका आँखैअघि देख्यौं,तर २०–२५ वर्षपछि सम्म लगातार ढलिरहने भविष्यका धरोहर लड्न थालेको हामीले देखेका छैनौं । हामी बढी दैनिन्दिन समस्याबाट ग्रसित भएकाले भूकम्पपछिको हाम्रो भविष्य कता जाँदैछ भनेर सोच्न भ्याएका छैनौं ।म अहिलेकाबालबालिका गम्भीर समस्यामा परिरहेको देखिरहेको छु ।
कस्तो समस्या ?
जन्मदेखि दुई वर्षका शिशुको अवस्था निकै गम्भीर छ । उनीहरू के अनुभूति गरिरहेका छन्, त्यसको आँकलन कसैले गरेका छैनन् । जस्तो, भूकम्प जानुअघि उनीहरूलाई लाग्थ्यो, यो पृथ्वी उनीहरूको सहारा हो । उनीहरूको रक्षा आमा र अन्य परिवारले गर्छन् । उनीहरू बोल्न सक्दैनन्, तर अनुभव गरिरहेका हुन्छन् । जुन दिन भूकम्प गयो, त्यो दिन उनीहरूका आमा, बा र परिवारका सबै सदस्य डराए, भागे । विभिन्न किसिमका आत्तिएका स्वर निकाले । घर छाडेर बाहिर पालमा बसे ।सबैको आत्तिएको स्वरबाट उनीहरूको जीवनप्रतिको विश्वास गुम्यो । उनीहरू भन्न सक्दैनन्, तर आमा किन डराइन्, हामी किन पालमा सुतिरहेका छौं ? हिजोका सग्ला घर आज किन छैनन् ? मानिसहरूको भीड छ । उनीहरू यो सबै अनुभव गरिरहेका छन् । यसले उनीहरूको दैनिन्दिन अनुभूति भत्किन पुगेको छ । अर्को कुरा, उनीहरूको जीवनको सहारा गन्ध हो । प्रेम, वात्सल्य, बिहानको ताजा हावा, उनीहरूलाई गर्ने प्रेम इत्यादि । अहिले धूलो, धूवाँ तथा फोहोरले त्यो प्राकृतिक गन्ध हराएको छ । मानिसहरूले उनीहरूतिर ध्यान दिन छाडेका छन् । मानिसहरू मास्क लगाएर हिँडिरहेका छन् । हेर्दा यो सामान्य देखिन्छ तर यसले बालबालिकाहरूको मानसिकतामा गम्भीर असर गरिरहेको छ ।
२ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाको अवस्था कस्तो छ ?
हिजोअस्ति उनीहरू टेलिभिजनमा कार्टुन हेर्थे । निस्फिक्री खेल्न पाउँथे । आज टेलिभिजनमा कार्टुन वा आफूलाई मन पर्ने कार्यक्रम हेर्न पाउँदैनन् । सबै टेलिभिजनमा भूकम्पका डरलाग्दा दृश्य हेरिरहेका छन् । भत्किएका–बिग्रिएका घर, घाइते र मृत मान्छेहरू हेर्नुपरिरहेको छ । आमा–बुबाको अनुहार डराएको छ ।सबै त्रसित छन् । यसले उनीहरूमा भयंकर ठूलो त्रास उत्पन्न भएको छ । २–५ वर्ष उमेर समूहका बालबालिका भूकम्प गएको कुरा सुन्छन्, बुझ्छन् तर यो कसरी जान्छ, किन जान्छ । भूकम्प महिना दिनमा वा वर्षमा वा सातामा एकपल्ट जाने हो कि ?
हामी पनि मर्नुपर्ने हो कि ? यस्ता प्रश्नले उनीहरूमा जीवनको मोह समाप्त पारिदिन्छ । उनीहरूले प्रश्न गरे भने हामी बुझाउन सक्दैनौ वा बुझाउने आवश्यकता मान्दैनौं । यसले उनीहरूमा गम्भीर प्रभाव परिरहेको छ ।
पाँचवर्षदेखि माथिका बालबालिकाको पनि अध्ययन गर्नुभएको छ ?
यो उमेर समूहका बालबालिका विद्यालय जान्छन् । उनीहरूमा परिवारबाहेक विद्यालय, साथी–भाइ तथा शिक्षक–शिक्षिकाको चिन्ता हुन्छ । जसरी ठूला मान्छे आफन्तहरूसँग कुरा गरिरहेका हुन्छन्, यी साना मानिस उनीहरूका मान्छेसँग कुरा गर्न पाउँदैनन् । उनीहरूको सहारा कोही हुँदैन, किनभने मानिसलाई यतातिर सोच्ने फुर्सद नै हुँदैन । मेरी छोरीले ‘बाबा हाम्रो स्कुल भत्किएको छ–छैन फोटो खिचेर ल्याउनु न ल’ भनिरहेकी थिइन् । सबै ठीक हुन्छ भन्दाभन्दै पनि पटक–पटक भुइँचालो गएपछि अभिभावकप्रति उनीहरूको विश्वास टुटिसकेको रहेछ । त्यसैले पनि फोटोमै भए पनि सग्लो विद्यालय हेर्ने उनको चाहना छ । यो मेरी छोरीको मात्र होइन, सबै बालबालिकाको हो । त्रासमा रहनु, आफूलाई माया गर्ने साथी एवं शिक्षक–शिक्षिका भेटिँदैनन् कि वा पढ्नै नपाइने हो कि भन्ने त्रास बढेको देखिन्छ । मृत्युको त्रास त छँदैछ ।
युवाहरूको अवस्था कस्तो छ ?
युवाहरूमा देश बनाउने सपना हुन्छ । उनीहरू आफ्नो भविष्य सुरक्षित छ भनेर आँकलन गरिरहेका हुन्छन् । लाखौं घर भत्किएका, हजारौं मानिस मरेका, घाइते भएका अब सबै खत्तम भयो भन्ने आवाज चारैतिर निस्कएका कारण उनीहरू विचलित छन् ।
यस्तो अवस्थामा कस्ता समस्या उत्पन्न हुन्छ ?
अनिद्रा, विषाद्, चिन्ता र नकारात्मक धारणाको बाढी नै आउँछ ।यो आशावादी हुने, केही गरेर देखाउने उमेर हो । माथि भनिएका कुराले बालबालिकादेखि युवासम्म सबैलाई कुनै न कुनै मानसिक समस्याले सताउने हुँदा उनीहरूको मस्तिष्कको सन्तुलित विकास हुन सक्दैन । यसले सबैको आनी–बानीमा परिवर्तन ल्याउँछ । मानिस या त निरास हुन्छ, या त आक्रोशित । हिजोआज सरकारलाई गाली गर्ने चलन अचानक बढेको छ । भुइँचालो सरकारले ल्याएको त होइन, सबै सहयोगमा जुुटिरहेका छन् । प्रहरी, सेना, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार कोही खाली छैनन् । बाहिरबाट पनि उत्तिकै दौडधूप छ । तैपनि सरकार निसानामा छ । यो त्यही निराशाको अभिव्यक्ति हो ।
अहिले देखिएका मानसिक समस्या के–के हुन् ?
भूकम्प गएपछि तत्काल देखिने समस्या भनेको मृत्युको डर हो । यसले मुटुको ढुकढुकी बढ्ने, निद्रा नलाग्ने, रमाइलो गर्न मन नलाग्ने, काम गर्न मन नलाग्ने, नकारात्मक सोचको विकास हुने, आत्महत्या गर्न मन लाग्ने, त्यसका लागि योजना बनाउने र प्रयास गर्ने जस्ता काम हुन्छन् ।
भूकम्पलगत्तै सीतापाइला र गोंगबु क्षेत्रमा दुई जनाले आत्महत्या गरे । ती घटनासँग भूकम्पको कुनै साइनो छ ?
गहिरो साइनो छ । पहिलो कुरा, सीतापाइला र गोंगबु दुवै अत्यधिक भूकम्प प्रभावित क्षेत्र हुन् । जब उनीहरूका घर ढले, आफन्त मारिए, तत्काल उनीहरूले कुनै सुरक्षा अनुभूति गरेनन् । उनीहरूलाई जीवन व्यर्थ छ भन्ने लाग्यो । दुवैले विष खाएर आत्महत्या गरे । यसका दुईवटा कारण छन् । पहिलो, योभन्दा अघि पनि जीवन छ भनेर अनुभव गर्न सकेनन् । जीवनभर कमाएर बनाएको घर ढलेको छ, भूकम्पमा आफन्तहरू परेका छन् । उनीहरूलाई अब जीवन सकियो भन्ने लाग्यो । भूकम्पमा जोगिएको जीवन विषमा सके । अचानक आएको मानसिक विचलनले यस्तो बनाएको हो । दोस्रो कुरा,भूकम्पपछि उनीहरूले असहाय अनुभवगरे । मेरा कोही छैनन्, मलाई कसैले हेर्दैन भन्ने भाव आयो, त्यसैले उनीहरूले आत्महत्या गरे ।
मुख्य कुरा, दुईजनाले आत्महत्या गरेको देखियो तर आत्महत्या गर्न खोजिरहेका अर्थात् निराश मान्छे धेरै छन् । उनीहरूको अवस्था हामीले चिन्न सकेनौं भने ढिलो–चाँडो यस्ता घटना धेरै ठाउँमा दोहोरिन्छ । आत्महत्या नै नगरे पनि जीवनभर रोगी भएर बस्नेहरू धेरै हुन्छन् ।
यो अलि काल्पनिक कुरा भएन र?
यो काल्पनिक होइन, विगतमाभएका अनुसन्धानका आधारित कुरा हो । धेरै ठाउँमा ठूलो भूकम्प गएको केही समयपछि मानिसले आत्महत्या गरेका घटना छन्, यहाँ पनि त्यही दोहोरियो । लाखौं मानसिक रोगी भेटिएका थिए, यहाँ पनि डर, आक्रोश, चिन्ता, पीडाका घटना जताततै देखिएको छ । मैले भूकम्प गएयता १ हजारभन्दा बढी बिरामीलाई नि:शुल्क औषधि र परामर्श दिइसकेको छु । ती सबैमा मैले मानसिक समस्या देखिरहेको छु । २०६८ सालमा गएको भूकम्पपछि मेरो क्लिनिकमा अनिद्रा, चिन्ता, डर र मुटुको ढुकढुकी बढ्ने विरामीको संख्या ह्वात्तै बढ्यो । सोधखोज गर्दै जाँदा भूकम्पपछि यस्तो समस्या आएको पाएँ । विशेष गरीबालबालिका, उमेर पुगेका पाका व्यक्तिहरू, सानो कुरामा पनि संवेदनशील हुने व्यक्तिहरूमा यस्ता समस्या देखिन्छन् ।
यसलाई रोक्ने उपाय के–छ?
सम्पदा ढले, त्यसको पुनर्संरचना गर्न सकिन्छ, गरिन्छ पनि । पैसा र मन भए त्यो गाह्रो कुरा होइन । नदेखिएको कुरा, मान्छेको मन नराम्रोसँग भत्किएको छ । त्यसको पुनर्संरचना गर्नुपर्छ । यो बेला मीठो बोली, हौसला जगाउने शब्द, हामी छौं भन्ने आश्वासनले ठूलो काम गर्छ । मानव मनको संरचना बुझ्न सकिएन भने भोलि मानिस जोखिमपूर्ण काम गर्न चाहँदैन । जुन समाजमा मानिसहरू जोखिमको काम गर्न डराउँछन्, त्यो समाजको प्रगति ठप्प हुन्छ ।
तपाईं चिकित्सक पनि भएका नाताले तत्काल देखिएका स्वास्थ्य समस्या के–के हुन् ?
लामो समय मानिस खुला ठाउँमा पालमा बसे, अझै बसिरहेका छन् । मृतकका लास गन्हाइरहेका छन् । चौपायाहरू पनि कुहिरहेका छन् । त्यही समयमा पानी परिदियो । यसबाट तत्काल झाडापाखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ तथा खाद्यविकार (फुड प्वाइजनिङ) जस्ता समस्या उत्पन्न हुन्छन् । त्यसैगरी हावाबाट सर्ने स्वाइनफ्लु, भाइरल फ्लु, क्षयरोगजस्ता समस्या देखिन्छन् । यो अकाट्य सत्य भएकाले जो होसियारीपूर्वक बस्यो, ऊ स्वस्थ्य हुन्छ नत्र सबै रोगी हुन्छन् ।
तपाईं समाजमनोविज्ञ पनि हुनुहुन्छ, समाज अहिले कस्तो अवस्थामा छ ?
सहयोग गर्न मानिसहरू तँछाडमछाड गरिरहेका छन् तर सहयोग पुगिरहेको छैन । कोही पनि सरकारको खातामा पैसा दिन तयार छैनन् । गएको साता प्रधानमन्त्री दैवीउद्धार कोषमा पैसा नभएर कतिपय ठाउँको काम रोकियो । सहयोग दिन चाहने मानिस धेरै हुनु तर सरकारसम्म पैसा नपुग्नुको अर्थ के हो भने जनतालाई सरकारप्रति कुनै विश्वास छैन । यो भयंकर डरलाग्दो मनोविज्ञान हो । सरकारमा हुने सबै फटाहा हुन्छन् भन्ने मनोविज्ञानले कति ठूलो जरो गाडेको रहेछ भन्ने एउटा उदाहरण मात्र हो । त्यसबाहेक हरेक व्यक्ति आफै जस लिन चाहने, आफैले गर्नुपर्ने, अरूलाई विश्वास नगर्ने प्रवृत्ति पनि देखियो । अरूलाई गाली गर्नु नै आफू ठीक हुनुको प्रमाण हो भन्ने जस्तो देखियो । यो असफल समाजको संकेत हो ।
भूकम्पपछि देश कति वर्षपछि धकेलियो भन्ने मान्नुहुन्छ ?
भिजन भएको नेता हुने हो र आएको सहयोग राम्रोसँग सदुपयोग हुने हो, जनतालाई विश्वासमा लिने हो अनि आफ्नो राजनीतिक धारणा केही समयका लागि धान्को लागाउने हो भने नेपालले १० वर्षमै आफ्नो कायापलट गर्नसक्छ । हाम्रा नेतामा गर्छु भन्ने भावना छ, तर व्यवस्थापकीय कमजोरी छ । जनताको विश्वास पनि उतिधेरै छैन। यस्तो बेला जनतामा राम्रो छवि बनाएका महजोडी र उनीहरूजस्ता हजारौंको टिमलाई आएको सहयोगलाई व्यवस्थित गर्ने जिम्मा दिनुपर्छ । उनीहरूकै अगुवाइमा भत्किएका सम्पदा बनाउने, घर पुनर्निर्माण गर्ने, राहत वितरण गर्नेजस्ता दीर्घकालीन कामको जिम्मा दिन सरकार हच्किनु हुँदैन । उनीहरूले जस पाउँछन् भनेर सरकार डरायो भने नेताहरूअझ अलोकप्रिय हुन्छन् । त्यसो हुन सकेन भने पनि सरकारले राम्रो गर्छ भन्ने विश्वास हामीले गर्न सक्नुपर्छ । जनता बढी शंकालु हुने र नेताहरूले भूकम्पलाई राजनीति गर्ने हतियार बनाउँदा हामी थप १० वर्ष पछाडि पुग्छौं ।