प्रमोद खरेल, गायक
सरकारले नेटवर्क बनाएर राहत वितरण गरिरहेको यो समयमा हामी भने आफ्नै किसिमले पीडितहरूलाई सहयोग गरिरहेका छौं ।
सुवास रेग्मी, संगीत उद्यमी
शिव परियारले बेलायतमा पाएको पारिश्रमिक, धुर्मुस र सुन्तलीले अमेरिकामा पाएको पारिश्रमिक भूकम्पपीडितलाई दिने घोषणा गरेका छन् । महजोडी राहत बोकेर गाउँगाउँ पुगेका छन् । संगीतकार अर्जुन गोरखामा छन् । पोखराको ब्यान्ड एसोसिएसन तथा कलाकर्मीहरू राहतसहित पीडितहरूको घरदैलोमा छन् ।
योगेश काजी, गायक
आफ्ना तर्फबाट जे गर्न सक्छु, गर्दैछु । चलचित्र क्षेत्र अथवा कलाकारिता क्षेत्रले कहिले बोलाउला भनेर कुरेर बस्नुभन्दा आफ्नो क्षमताले भ्याएसम्म गरिरहेकी छु ।
प्रियंका कार्की, नायिका
अमेरिकामा सञ्चालन भैरहेका कार्यक्रमलाई बीचैमा रोकेर हामी कलाकारहरू स्वदेश फर्किएका छौं । सरसफाइ अभियानका लागि संकलन भएको करिब साढे १६ लाख रुपैयाँ अब भूकम्पपीडितहरूलाई प्रदान गर्नेछौं ।
सीताराम कट्टेल, हास्यकलाकार
मैले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँको राहत सामग्री उपलब्ध गराएँ । गायक लक्ष्मण निरौला, गायिका इन्दिरा जोशी, अर्पणा र अनन्त श्रेष्ठले पनि विभिन्न सहयोग सामग्री संकलन गरेका छन् । हाम्रो अभियानमा उद्योगपति राजेन्द्र खेतानले मारवाडी संघमार्फत थप राहत सामग्री उपलब्ध गराएका छन् । हामीले उक्त राहत सामग्री काभ्रेको कुशादेवी गाविस पुगेर वितरण गरेका छौं ।
श्रुतिसिंह ठकुरी, गायिका
अहिले कलाकारहरू एउटै ठाउँमा छैनन्, विदेशमा हुनेहरूले उतै सहयोग संकलन गर्दैछन्, नेपालका विभिन्न ठाउँमा हुनेहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्दैछन् तर राम्रो सहयोग हुन अझै बाँकी छ । मचाहिं काठमाडौंबाहिरका जिल्लामा राहत सामग्री लिएर पुगिरहेको छु । हामी गोर्खाको ऐयर डाँडाका करिब ५० घर–परिवारलाई त्रिपाल र एक हप्तासम्म खान पुग्ने खाद्यान्न वितरण गर्यौं । सरकार नपुगेको उक्त स्थानमा राहत वितरण गर्न पाउँदा सन्तोष लागेको छ ।
अर्जुन पोखरेल, संगीतकार
मैले आफ्नो ठाउँबाट सकेको गरेको छु । भत्किएको संरचना हटाउने क्रममा सकी–नसकी भए पनि घन चलाएको छु । आफूलाई स्वयंसेवामा समर्पित गरेको छु । अहिले म नातागोताको सहयोगमा धादिङको देउराली तथा दमाढुंगामा राहत सामग्री लिएर जाँदैछु ।
दीपेन्द्र के खनाल, निर्देशक
यो आपत्कालीन अवस्थामा हामी सबैले आ–आफ्ना तर्फबाट दायित्व र कर्तव्य निर्वाह गरिरहेका छौं । भूकम्पपीडितहरूलाई सकेसम्म सहयोग गरिरहेको छु ।
भीम लिम्बू, गायक
मैले घाइते व्यक्तिहरूलाई समयमै अस्पताल पुर्याउने कार्यमा सहयोग पुर्याउन सकें । यसबाहेक राहत कार्यमा पनि उत्तिकै सक्रिय छु ।
गीता अधिकारी, नायिका
व्यक्तिगत रूपमा आ–आफ्नो ठाउँबाट कपडा, खानेकुरा, पानी आदि पठाएर सहयोग गरिरहेका छौं । यसबाहेक पोखराका कलाकारहरूले नगद संकलन गरेर विभिन्न सामग्री पीडितहरूसमक्ष पुर्याउने योजना बनाइरहेका छौं । हामी चाँडै नै पोखरामा राहत संकलनका लागि एउटा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गर्दैछौं ।
इतु जोजिजू, गायिका
विदेशमा भए पनि मन नेपालमै छ त्यसैले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरिरहेकी छु ।
प्रजिता गेलाल, गायिका
चलचित्र निर्देशक समाज तथा चलचित्र पत्रकार संघको आयोजनामा विभिन्न कलाकारले संयुक्त रूपमा रक्तदान गरेका छौं ।
नवल नेपाल, निर्देशक
मेरो सबैभन्दा ठूलो सम्पत्ति भनेकै मेरो आवाज हो । भूकम्पमा परेर मर्नेहरू त मरिसके, तर बाँच्नेहरूका लागि आफ्नो मेरो ठाउँबाट अलिकति भएपनि सहयोग गर्न सक्छु कि भनेर परिवारलाई यस्तो कठिन घडीमा पालभित्र छाडेर लन्डन आएको छु । अहिले म लन्डनमा भूकम्पबाट बाँच्न सफल नेपालीहरूका लागि आर्थिक सहयोग जुटाउने अभियानमा सक्रिय छु ।
शिव परियार, गायक
हामीले विभिन्न तरिकाले पीडितहरूलाई सहयोग गरिरहेका छौं । हामीले स्थानीय स्तरमा राहत संकलन अभियान सञ्चालन गरेका छौं ।
आरके सुवेदी, सञ्चारकर्मी
भूकम्पका कारण ज–जसले आफन्त गुमाउनुभयो, घरवास गुमाउनुभयो, त्यो क्षति त कसैले पनि पूर्ति गर्न सक्दैन, तैपनि पीडितहरूलाई जसले जसरी सकिन्छ त्यसरी सहयोग गरौं । मचाहिं अहिले नवज्योति एफएमका तर्फबाट राहत संकलन तथा वितरणको कार्यमा सक्रिय छु ।
जानकी पन्त, गायिका
सिस्नुपानी नेपालले सिन्धुपाल्चोकमा उद्धार र राहतको कार्यक्रम सञ्चालन गर्दैछ ।
मनोज गजुरेल, व्यंग्यकार
हामीपूर्वका कलाकारहरू राहत संकलनका लागि सांगीतिक कार्यक्रम सञ्चालन गर्दैछौं । त्यसका लागि कलाकार संयोजन जुटिरहेको छु ।
गुरुङ सोल्टी, कलाकार
भूकम्पले सबैभन्दा बढि क्षती पुर्याएको मेरो आफ्नै गृह जिल्ला सिन्धुपाल्चोकका विभिन्न गाउँमा राहतका लागि खटिएको छु, खाना–पानी तथा त्रिपाल पुर्याइरहेको छु ।
जितु नेपाल, हास्यकलाकार
सबैले आ–आफ्नो ठाउँबाट केही न केही गरेका छन् । फरक यति हो, कसैले अरूलाई देखाउन गर्छन् त कसैले आफ्नो मनले अर्हाएर गर्छन् । मैले यसो गरें भनेर प्रचार गर्नु आवश्यक छैन ।
दीपक आचार्य, चलचित्रकर्मी
चलचित्रकर्मीको जम्बो टोली तीन दिनसम्म सडकमा खट्यो । चलचित्र विकास बोर्डको संयोजनमा हामी चलचित्रकर्मीहरू राहत र उद्धार कार्यमा संलग्न छौं ।
सुरेश दर्पण पोखरेल, निर्देशक
मेरो बुवा पनि यही बेला ब्रेन हेमरेजका कारण दिवंगत हुनुभयो । म शोकमा भए पनि १३ दिने क्रियाकर्ममा लाग्ने खर्च कटाएर त्यसको ५० प्रतिशत भूकम्पपीडितका लागि दिने निधो गरेको छु ।
सविन श्रेष्ठ, नायक
सेवा गर्नेले नाम खोज्दैनन् । पीडितहरूका लागि के गर्न सकिन्छ भन्ने कुरामा म केही समय रणभुल्लमा परेँ । त्यसपछि साथीहरूका साथ मोटरसाइकलमा सिन्धुपाल्चोकको बाह्रबीसे पुगेँ र त्यहाँबाट केही घण्टाको दूरीमा रहेको कलथारी गाउँमा पीडितहरूका लागि राहत कार्यक्रम सञ्चालन गरे । अहिले पनि म भूकम्पपीडितहरूका लागि धेरै ठाउँमा खटिइरहेकी छु ।
नम्रता श्रेष्ठ, नायिका
चलचित्र ‘होस्टल रिटर्नस’को प्रदर्शन मिति सारेर सबैभन्दा पहिले साँखुनजिकै नाङ्लेभारे गाविसमा हामीले १ सय ५० वटा ब्ल्याङ्केट, १ सयवटा त्रिपाललगायत विभिन्न खानेकुरा बाँड्यौं । अहिले पनि म आफ्नो चलचित्रको टिमसहित राहत कार्यमा सक्रिय छु ।
सुनिल रावल, निर्माता
सक्दो समय राहत तथा जनचेतनामा लगाइरहेकी छु । स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै हामी कलाकारहरू काठमाडौं, भक्तपुर र ललितपुरमा औषधी वितरण गर्दै सम्भावित महामारीविरुद्ध जनचेतना अभियानमा खटियौं । त्यसपछि हामी त्यही कार्यक्रम लिएर बाग्मती अञ्चलका विभिन्न स्थान पुगिरहेका छौ ।
झरना थापा, नायिका
यस्तो बेला पनि कलाकारहरू सक्रिय भएनन् भन्ने आरोप सुनेर मेरो मन खिन्न भयो । सरकार नै उदासीन भएका बेला हामी सानातिना कलाकारले मात्र गरेर हुने केही होइन, तर पनि मैले व्यक्तिगत रूपमा सबैभन्दा पहिले आफू वरपरका पीडितहरूका लागि आवश्यक सामान जुटाउन थालेकी थिएँ । त्यसपछि कलाकारहरू एकजुट भएर राहत वितरण तथा सरसफाइमा जनचेतना अभियानमा खटेका छौं ।
केकी अधिकारी, नायिका
हामी सिन्धुपाल्चोक, काभ्रे र धादिङका विभिन्न प्रभावित क्षेत्रमा राहत सामग्री, लत्ताकपडा, औषधी, त्रिपाल आदि वितरण गरिरहेका छौं ।
कुमार कट्टेल ‘जिग्री’, हास्यकलाकार
सबैभन्दा पहिले कलाकार अनुरागमान सिंह कुँवरका साथ हामी उपत्यका नजिकैको सांगला गाविस पुगेर केही खानेकुरा बाँड्यौ । यस्तो अवस्थामा गाउँहरूमा सरकारको उपस्थिति नदेख्दा चकित भयौं अनि फेरि दीपकराज गिरीसहित अरू कलाकार साथीहरूसँग हामी महामारी फैलिन नदिन स्वास्थ्य सचेतनामा लागेका छौ ।
दीपाश्री निरौला, हास्यकलाकार
घाइतेहरूको संख्या बढिरहेको र अस्पतालमा रगतको अभाव हुन सक्ने अवस्थामा म अध्यक्ष रहेको चलचित्र निर्देशक समाज तथा चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघको संयुक्त आयोजनामा रेडक्रस सोसाइटीमा रक्तदान कार्यक्रम सम्पन्न गरियो, जसमा ७५ जना चलचित्रकर्मीले रक्तदान गरे । उक्त कार्यक्रमपछि म राहतका विभिन्न कार्यक्रममा सहभागी भैरहेको छु ।
दिनेश डिसी, चलचित्र निर्देशक
जिटुवान प्रोडक्सनमार्फत हामीले चामल, चिउरा, दाल, पाउरोटी, बिस्कुट, पानी तथा जुसहरू संग्रहित गरेर संगीतकार राजन इशान, गायक सञ्जीव सिंह, लेखक विजय अधिकारी, नायक संजोग कोइराला, मोडल वर्षा राउत, गीतकार नरेशदेव पन्त, निर्माता असिम शाह, चलचित्र सम्पादक लोकेश बज्राचार्य, गायक सुगम पोखरेल, योपेश प्रधान, विधान राजभण्डारीसहितको समूह मिलेर विभिन्न स्थानमा राहत वितरण गरिरहेका छौं ।
आसिफ शाह, निर्देशक
भूकम्पपीडितहरूका लागि म र मेरा केही साथी अप्रेसन रिलिफ संस्थासँग आबद्ध भै राहत संकलन तथा वितरणको कार्य गरिरहेका छौं । मेरो विचारमा यतिबेला प्रार्थना गर्ने ओठभन्दा काम गर्ने हातको खाँचो छ ।
निश्चल बस्नेत, निर्देशक
राहत बाँड्ने नाममा जे पायो त्यही बोकेर जानुभन्दा के आवश्यक छ, अध्ययन गरेर जानु उपयुक्त हुन्छ । तपाईंले भूकम्पपीडितका लागि के गर्नुभयो ? भनेर सोध्नुभन्दा मैले के गरिरहेको छु ? भनेर आफैंसँग प्रश्न गर्नु राम्रो हुन्छ ।
केदार घिमिरे ‘माग्नेबूढॉ, कलाकार
मह सञ्चार तथा सीएनआईद्वारा स्थापित नागरिक राहत कोषमार्फत सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा रहेका भूकम्पपीडितहरूका लागि राहत सामग्री पुर्याइसकेका छौं भने अझै त्यो कार्य जारी छ । सबैले आ–आफ्ना तर्फबाट सहयोग गरे मात्र भूकम्पपीडितहरूले राहत पाउनेछन् ।
महजोडी, कलाकार
भारत पुगी त्रिपाल किनेर नेपालका भूकम्पपीडितहरूलाई बाँड्ने काम गर्नुका साथै अन्य राहत सामग्री संकलन एवं वितरणमा खटिएको छु ।
विल्सनविक्रम राई, हास्यकलाकार
रगतको आवश्यकता महसुस गर्दै चलचित्र पत्रकार संघ तथा निर्देशक समाजको आयोजनामा सम्पन्न कार्यक्रममा रक्तदान गरेँ । यो दु:खद घडीमा राहत संकलन तथा वितरणमा प्रत्यक्ष–अप्रत्यक्ष सहभागी भैरहेको छु ।
आर्यन सिग्देल, नायक
भूकम्पबाट घरबारविहीन भएका बन्दीपुर, मगराती गाउँ, देप्चे डाँडा तथा कुसुले गाउँका ३८ परिवारलाई राहत वितरण गरियो । त्यसबाहेक अरूतिर पनि राहत वितरण गर्दैछु ।
दीपेन्द्र भण्डारी, वृत्तचित्र निर्माता