साप्ताहिक संवाददाता
सहयोगी र उदार मनका सलमान खानबाट सहयोग पाउने कुरामा उनका नेपाली प्रसंसक अति उत्साहित थिए, तर जब सलमानको उक्त खण्डन आयो सबैले उनका बारेमा नकारात्मक टिप्पणी गर्न थाले । अक्षय कुमारले समेत उनको चलचित्र ‘गब्बर इज ब्याक’को पहिलो दिनको कमाइ नेपालका भूकम्पपीडितहरूलाई प्रदान गर्ने हल्ला सामाजिक सञ्जाल र अनलाइनहरूमा व्याप्त भयो । अक्षय कुमारले भने उक्त चलचित्रको निर्माता आफू नभएको र एक दिनको कमाइ दिन सक्ने अधिकार आफूसँग नरहेकाले हल्लाको पछाडि नलाग्न सबैसँग आग्रह गरेका छन् । एकाथरी व्यक्तिहरूको भनाइमा नेपालका भूकम्पपीडितका लागि सहयोग गर्नु वा नगर्नु कसैको व्यक्तिगत चाहनामा भर पर्ने कुरा हो । फलानो सेलिब्रेटीले सहयोग गर्दैछन् भनेर हल्लाको खेती गर्नेहरूको कुकृत्यका कारण उनीहरू बिनाअपराध बदनाम भैरहेका छन् ।
वास्तवमा बलिउडकर्मीहरूको केही चासो नेपालप्रति रहेको महाभूकम्पपश्चात् उनीहरूले समाजिक सञ्जालहरूमा गरेका पोस्टबाट पनि थाहा हुन्छ । गत वर्ष नेपालमा बलिउडका कलाकारहरूको आगमन बाक्लै भएको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपालको भ्रमणमा आएपछि बलिउडकर्मीमा नेपालप्रतिको चासो बढेको अनुमान गर्न सकिन्छ । गत बर्ष राष्ट्रसंघीय नियोगको दूतका रूपमा नेपाल आएका अभिनेता अमिर खानले ट्विटरमा लेखे ‘बढ्दो मृतकको संख्याले मलाई दु:खी बनाएको छ । कृपया प्रभावित बालबालिकाहरूलाई सहयोग गरौं ।’ यसैगरी बलिउडका ७२ वर्षीय मेघास्टार अमिताभ बच्चनले महाभूकम्प लगत्तै आफ्नो फेसबुक, ट्विटर र ब्लगमा छिमेकी मूलुक नेपालमा भूकम्पको महाविपत्ति परेकाले सहयोगका लागि आग्रह गरेका थिए । अमिताभको उक्त स्ट्याटस र ट्विटपछि केही भारतीय अनलाइनले ‘सस्तो प्रचारका लागि अमिताभको निर्णय’ भन्दै त्यसको खिल्लीसमेत उडाए । त्यसपछि यी मेघास्टारले आफ्नो ब्लगमा लेखे ‘छुद्र टिप्पणी गर्नेहरूको मन तुच्छ विचारले भरिएको हुन्छ । त्यस्ता विचार राख्नेहरूलाई बेलैमा ठेगान लगाउनुपर्छ ।’
बलिउड स्टार रणवीर कपुरले युट्युबमा सन्देश अपलोड गर्दै छिमेकी हुनुको महत्व जताए । उनले युट्युबमा नेपालका लागि सहयोगको अपिल गर्दै भनेका छन् ‘आउनुहोस्, हाम्रो छिमेकीको आँसु पुछौं ।’ गत वर्ष पशुपतिनाथको दर्शनका लागि काठमाडौं आएका दक्षिण भारतीय अभिनेता चिरञ्जीवीका स्टार पुत्र राम चरणले भने आफ्ना बाबुको नाममा स्थापित चिरञ्जीवी च्यारिटेबल ट्रस्टमार्फत अपोलो अस्पतालसँग मिलेर नेपालमा राहत सामग्री पठाएको कुरा भारतीय पत्रिका मिड डेले उल्लेख गरेको छ । यसैगरी मिड डेमा उल्लेख भएबमोजिम अभिनेत्री दिया मिर्जाले बलिउडमा रहेका ग्ल्यामर फोटोग्राफर राकेश श्रेष्ठका ग्ल्यामर फोटोग्राफर पुत्र रोहण श्रेष्ठमार्फत राहत सामग्री पठाएकी छिन् । उक्त पत्रिकाका अनुसार निर्देशक तथा निर्माता महेश भट्ट तथा उनकी स्टार सुपुत्री आलिया भट्टले मुम्बईमा नेपालका लागि सहयोग जुटाउने कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनीहरूले उक्त सहयोग अभिनेत्री मनीषा कोइरालामार्फत नेपाल पठाउने भएका छन् । अभिनेता कुणाल कपुरले ट्विटरमा सहयोग संकलनका लागि ‘ज्वाइन ह्यान्ड्स फर नेपाल’ क्याम्पेन सञ्चालन गरेका छन् । केही महिनाअघि नेपाल आएका शाहरूख खान तथा बलिउड स्टारहरू प्रियंका चोपडा, अनुष्का शर्मा आदिले पनि सामाजिक सञ्जालमा भूकम्पपीडित नेपाल र नेपालीहरूका लागि प्रार्थना गरेका छन् ।
एकातिर भारतीय समाचार च्यानलका रिपोर्टरहरूले नेपालका बारेमा अतिरञ्जित समाचार संप्रेषण गरेको भन्दै तीव्र आलोचना भैरहेका बेला भारतीय मनोरञ्जन च्यानलहरूमा भने कलाकारहरू भूकम्पपीडित नेपालीहरूलागि प्रार्थना गरिरहेका छन् । करण जौहर, किरण खेर र मलाइका अरोरा खान निर्णायक रहेको डान्स इन्डिया डान्सको पछिल्लो एपिसोडमा उनीहरूले महाभूकम्पका कारण ज्यान गुमाएका नेपालीहरूका लागि कार्यक्रममै एक मिनेट मौनधारण गरे । यसैगरी केही महिनाअघि मात्र नेपाल भ्रमणमा आएका अभिनेता कपिल शर्माले आफ्नो चर्चित कार्यक्रम ‘कमेडी नाइट्स विद कपिल’मा पोखरामा केही श्रृंखला छायांकन गरेको एमटिभीको चर्चित रियालिटी सो ‘एमटिभी रोडिज’का निर्णायकहरूका साथ अभिनेत्री इशा देवललाई निम्त्याएका थिए । उक्त एपिसोडमा हालै पोखरा भ्रमणमा रहेकी इशा तथा रोडिजका अन्य निर्णायकहरूका साथ कपिलले भूकम्पपीडित नेपालीहरूका लागि प्रार्थनाका साथ सहयोगको विशेष अपिल गरेका थिए ।