लक्ष्मण बस्नेत, प्रहरी निरिक्षक
शसस्त्र प्रहरी बल
सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारमा कार्यरत लक्ष्मण बस्नेत महाभूकम्पक आएको दिन काठमाडौं आएका थिए । त्यस दिन उनको बिदा थियो । भूकम्प आएपछि भने उनलाई लगत्तै ड्युटीमा बोलाइयो । उनीहरूलाई जहाँ–जहाँ जीवित उद्धार गर्न सकिन्छ त्यही खट्नु भनेर निर्देशन दिइएको थियो । उनको टिम नयाँ बसपार्क क्षेत्रमा खटियो । भग्नावशेष भएको नयाँ बसपार्कमा रहेको नौतले सयपत्री गेस्टहाउसमा बस्नेतको टिमले काम थाल्यो । पाँचौं तलाको ढलान काट्दै उनीहरू अन्तिम तलामा पुगे र अर्घाखाँचीका ऋषि खनालको जीवितै उद्धार गरे । त्यतिबेला ऋषिको कम्मर पर्खालले च्यापिएको थियो र खुट्टा बिमले थिचेको थियो । कठिन अवस्था पार गरेर उनको टिमले ऋषिको उद्धार गर्यो भने सँगै जोडिएको हिल्टन गेस्ट हाउसमा पनि लगत्तै काम थाल्यो । साहसिलो र दयालु मन भएका लक्ष्मणको समूह साततले हिल्टनमा ६ घण्टासम्म निरन्तर खट्यो । त्यहाँ रहेको मोटरसाइकल र सटरको ग्यापमा लडिरहेका नुवाकोटका १५ वर्षीय पेम्बा लामालाई १ सय २० घण्टापछि उद्धार गरियो । यसअघि पनि अर्का एक जनालाई जीवितै उद्धार गरेर लक्ष्मण बस्नेतको टिमले महाभूकम्पपछि तीन जनाको जीवितै उद्धार गरेर चर्चा बटुलेको छ ।
गणपतिलाल श्रेष्ठ, समाजसेवी युवा
गणपतिलाल श्रेष्ठ महाभूकम्पबाट ध्वस्त भएको सम्पदास्थल वसन्तपुर नजिक झोंछेका रैथाने हुन । महाभूकम्प आउँदा उनी क्षेत्रपाटीमा थिए । लगत्तै उनी झोंछेतर्फ दौडिए । घरपरिवारको अवस्था बुझेर उद्धार सामग्री बोकी वसन्तपुर क्षेत्रमा आए । त्यहाँको अवस्था क्षणभरमै कहालीलाग्दो भैसकेको थियो । कतिपय मानिस पुरिएर चिच्याइरहेका थिए । तालिमप्राप्त गणपतिले क्षणभरमै तीन जनाको उद्धार गरे । भूकम्पको झड्का आइरहेको थियो र मानिसहरू दौडिरहेका थिए । उनी भने ज्यानको बाजी राखेर उद्धारमा खटिरहेका थिए । लक्ष्मीनारायण मन्दिरको बारले थिचिएका एक जना मानिसको उद्धार गर्दा गर्दै उनी फेरि आएको झड्काले ढले । शरीरमा ठूलो चोट लागेन, तर उनले आफ्ना सहयोगी साथीहरूलाई भेला पारेर च्यापिएका व्यक्तिलाई सकुशल निकाले । यता काष्ठमण्डपमा पुरिएका एक व्यक्ति टाउको फुटी गिदी निस्किएर मरेका रहेछन् । उक्त शव निकाल्दा ज्याकेटमा मासुको टुक्रा तीन दिनसम्म टाँसिएर बसेछ, पछि थाहा भयो । श्रेष्ठले काष्ठमण्डपमै अन्य पाँच जनालाई प्रहरीको सहायतामा उद्धार गरे । त्यसपछि लगातार दुई दिनभित्र तीन जनाको शव निकाले । ओमबहालमा तीन तलामाथि च्यापिएर चिच्याइरहेको एक बालकलाई उनीलगायत तीन जनाले उद्धार गरे । रेडक्रस र स्काउटसँग आबद्ध श्रेष्ठ यतिबेला वसन्तपुर क्षेत्रमा भग्नावशेष भवनहरूको उद्धारमा दैनिक २० घण्टा खटीरहेका छन् ।
दीपक राई, सुवेदार नेपाली सेना
विपत् व्यवस्थापन गण सुन्दरीजलमा कार्यरत नेपाली सेनाका सुवेदार दीपक राईलगायतको समूह भक्तपुरमा खटिएको थियो । भग्नावशेषबाट मानिसहरूलाई जीवितै उद्धार गर्न सकिन्छ कि भनेर सेनानी गंगाबहादुर विष्टको अगुवाइमा उनी मूलढोकामा खटिएका थिए । उनीहरू खटिएको क्षेत्रमा बालक बेपत्ता भएको स्थानीय बासिन्दाहरूले बताएपछि टोलीले उत्खनन् थाल्यो, तर पहिलो दिन रातभर भूकम्पको झड्काका कारण काम गर्न गार्हो भयो । सपनामा बालकको जीवितै उद्धार गरेको देखेका दीपकले बिहानैदेखि काम थाले । पाँचतले घरको बच्चा भएको दोस्रो तलामा उनी आफैं माटो खन्दै र टोलीलाई पन्छाउन लगाउँदै बच्चा भएको स्थानसम्म पुगे । बच्चा रोएको आवाज पहिल्यै सुनेकाले उनले जोखिम मोलेर शिशुलाई हातमा लिए । उल्टिएको फलामको कुर्सीले किचिरहेको अवस्थामा उक्त शिशुको उद्धार गरेर उसलाई पुनर्जीवन दिए ।
डा. फिलिपराज रञ्जितकार
बी एन्ड बी अस्पताल, ग्वार्को
डा. फिलिप शनिबारको महाभूकम्प गएका बेला सानेपास्थित आफ्नै घरमा बिहानीको खाना खान पुगेका थिए । महाभूकम्प आएलगत्तै उनी आफ्नो मोटरसाइकल लिएर अस्पतालतर्फ दौडिए । मोटरसाइकलमा दौडिरहेका बेला दोस्रो झड्काले उनी सडकमै ढले, तर स्थिति केही साम्य भएपछि उनी पुन: अस्पताल पुगे । अस्पताल पुग्दा लगभग दिउँसोको एक बजेको थियो । त्यसपछि अस्पतालमा भूकम्पबाट घाइतेहरूको घुइँचो लाग्यो । २१ जना डाक्टर साथै नर्स तथा अन्य सहयोगीहरूका साथमा फिलिप घाइतेहरूको उपचारमा भात–पानी नभनी सक्रिय भए । दर्जनौंलाई मृत्युको मुखबाट बचाए भने कतिपयलाई बचाउने प्रयासमा छन् । शनिबार यतादेखि उनी दैनिक १८ घण्टा खटिरहेका छन् । उनीहरूले करिब १ हजारभन्दा बढीको बिरामीको नि:शुल्क उपचार गरिसकेका छन् । अस्पतालकै डाक्टर तथा नर्सहरूको समूहले सरकार नपुगेको स्थानमा पुगेर घाइतेहरूको उपचार पनि गरिरहेको छ । फिलिप शनिबारयता पटक–पटक आएका झड्का इमरजेन्सी कक्षमा बसेर सामाना गरिरहेका छन् ।
लोचनी बज्रचार्य, नर्सिङ विद्यार्थी
काठमाडौं ओमबाहलकी लोचनी बज्राचार्य प्राथमिक उपचारमा सक्रिय युवती हुन् । प्राकृतिक विपत्ति आउँदा उनी फस्ट एन्डको बाकस बोकेर दौडिएको तीन वर्ष बितिसकेको छ । महाभूकम्पले सबैभन्दा धेरै विपत्ति निम्त्याएको वसन्तपुर क्षेत्रमा उनले दिएको प्राथमिक उपचार यतिबेला घाइतेहरूका निम्ति वरदानसरह भएको छ । कुनै व्यवसायमा आबद्ध नभएकी लोचनी स्टाफ नर्स पढेर सिकेको ज्ञानलाई महाविपत्मा बेला सदुपयोग गरिरहेकी छिन् । उनी वैशाख १२ गते शनिबारको १ बजेदेखि दैनिक १८ घण्टा खटिरहेकी छिन् । हनुमानढोका क्षेत्रमा उनले २ सयभन्दा बढीको प्राथमिक उपचार गरेर गरिसकेकी छिन् ।
नम्रता झा, एयर हेस्टेज
मैतीदेवीकी नम्रता झा ओमान एयरवेजमा काम गर्छिन् । नेपालमा आएको महाभूकम्पपछि उनलाई रातभर निन्द्रा लागेन । परिवार सकुशल रहेको पत्ता लागेपछि उनले लगत्तै एउटा अभियान थालिन् । त्यसै रात उनले फेसबुकमार्फत राहतका लागि विश्वभरका साथीहरूलाई आह्वान गरिन । आह्वान गरेको दुई दिनमै करिब १० लाख संकलन भयो । कार्यालयमा बिदा मिलाएर केही साथीका साथ उनी नेपाल आइन् । संकलित रकमले खाना, औषधी, कपडाहरू खरिद गरेर झा अहिले ललितपुरका विकट गाउँमा पुगेर राहत बाँडिरहेकी छिन् ।
मन्जिल हमाल, स्वयंसेवक
बानेश्वरका मन्जिल हमाल कुनै व्यस्त व्यवसायी होइनन्, तर महाभूकम्प आएलगत्तै उनले दर्जनभन्दा बढी साथी भेला गराएर बानेश्वर आसपासका सयौं घाइतेलाई बोकेर अस्पताल पुर्याए । जागरूक युवा क्लब सञ्चालन गरिरहेका हमाल यतिबेला राहत संकलन गरेर दुर्गम जिल्लाहरूमा पुर्याइरहेका छन् । उनले देशभर रहेका आफूजस्तै युवाहरूको सहयोगमा राहत संकलन गरेर दुई गाडी सामान आफैं दुर्गम स्थानमा पुगेर वितरण गरिसकेका छन् । जहाँ सरकारी टोली पुगेको छैन, त्यस्तै ठाउँ खोजेर हाम्रो स्वयमसेवी टोली पुगिरहेको छ र थोरै भए पनि राहत वितरण गरिरहेको छ, –हमालले भने ।
निश्चल खरेल, सामाजिक कार्यकर्ता
महाभूकम्प पछि काठमाडौं बुद्धनगरका निश्चल खरेललाई सबैभन्दा बढी चिन्ता बालबालिकाको मनोविज्ञानमा परेको असरप्रति छ । बुद्धनगरका ८० परिवारका लागि शौचालय निर्माण गरेर निश्चलको करिब २५ जना युवाको टोली यतिबेला साँखुको लम्बुडाँडा पुगेर बालबालिकाहरूलाई उत्साहित गराउने नयाँ कार्यमा जुटेको छ । निश्चलको टिमले भत्किएका दर्जनौं घरको भग्नावशेष हटाउने र नमुना गाउँका रूपमा विकास गराउने उद्देश्यले काम गरिरहेको छ । उनीहरू राहतभन्दा पनि मानिसहरूको मनोवैज्ञानिक त्रास कम गर्न शिक्षा प्रदान गरिरहका छन् । सोसियल वर्कका विद्यार्थी निश्चलसँगै डा. प्रकाश भट्टराई, मोनिका चौलागाई, सुस्मिना बैद्य, देवराज भारद्वाज आदिले मनावैज्ञानिक त्रास न्यूनीकरण गर्न प्रचार गरिरहेको छ ।
कपिल कार्की, प्रहरी जवान
सशस्त्र प्रहरीका जवान कपिल कार्कीको सिन्धुपाल्चोकस्थित घर महाभूकम्पले ध्वस्त पारेको छ । त्यतिमात्र होइन, उनले ६ महिनाका छोरा पनि गुमाएका छन् । उनकी भाउजूको पनि मृत्यु भएको छ । बाबु–आमा बारीको पाटामा शरणार्थी जीवन बिताइरहेका छन् । तैपनि कपिल महाभूकम्प आएलगत्तै काठमाडौंको सामाखुसीमा अन्य सयौं पीडितको उद्धार गर्न जीउज्यान दिएर क्रियाशील छन् । उनले कतिलाई जिउँदै बचाए भने कतिपयको शव निकालिरहेका छन् । आफ्नो पीडा लुकाएर खट्ने कार्कीजस्ता अनेकौं जवान आफन्त, परिवार तथा घरबास गुमाएर पनि उद्धारमा क्रियाशील छन् । उनीहरूको एउटै भनाइ छ, ‘हामीलाई गार्हो पर्दा देशले हेर्यो, देशलाई गार्हो पर्दा हामीले हेर्नुपर्छ ।’