साप्ताहिक संवाददाता
भक्तपुरबाट नगरकोट जाने बाटोको पश्चिमतर्फ अलि अग्लो ठाउँमा बसेको छ, थपाहा बस्ती । भूकम्पले यो बस्तीका ५३ घरमध्ये २६ घर पूर्ण रूपमा नष्ट गरेको छ । भूकम्पपीडितहरूको अवस्था आँकलन गर्न साप्ताहिक टिम उक्त गाउँमा पुग्दा गाउँलेहरू आत्तिरहेका थिए । गाउँमा जाने खानेपानीको पाइप फुटेकाले पानीको समस्या परेको रहेछ । हामी पुग्नेबित्तिकै उनीहरूले खाने पानी मागे । साप्ताहिककर्मीले भूकम्प उद्धार एवं राहत कोषको फोनमा सम्पर्क गरेर पानीको ट्यांकर पठाउन आग्रह गरेपछि उनीहरूमध्येका एक जना हामीसँग कुराकानी गर्न राजी भए ।
‘मेरो नाम ज्ञानेन्द्र सिन्केमनी हो । हाम्रा हजुरबाहरू भक्तपुर बजार छाडेर खेती गर्न यो गाउँ आएका हुन् । यहाँ राम्रो खेती हुन्छ, खान–लाउन समस्या थिएन । यस्तो भूकम्प आउला, सबै अन्न पुरिएला, पानी नै खान नपाइएला भन्ने सोचेकै थिएनौं । हजुरबा र बुवाले बनाएका घरहरू थिए । हामी पाँचभाइका २६ परिवार एकै ठाउँमा बस्छौ । घर पुरानो भए पनि राम्रै थिए, संयुक्त परिवार भएकाले बिस्तारै बनाउँला भन्ने सोच थियो, तर अहिले भूकम्पले सबै तहसनहस पारेको छ ।
भगवान्को कृपाले भूकम्प राति आएन, अन्यथा यो गाउँका कोही नबाँच्ने रहेछन् । गाउँको के कुरा, देशकै सबै मान्छे मर्थे होलान् । दिउँसो भएकाले हामी सबै खेतमा थियौं । केटाकेटी बाहिर खेलिरहेका थिए । बुबा र एक जना भाउजू मात्र घरभित्र हुनुहुन्थ्यो । उहाँहरू भागेर बाहिर आएकाले जोगिनुभयो । आँखैअघि हाम्रा सबै घर गल्यामगुर्लुम ढले । गाउँका अरू मानिसका पनि पुराना सबै घर ढले । भूकम्पले एक मिनेटमै सबै तहस–नहस बनायो ।
भूकम्पले पानीको पाइप ठाउँ–ठाउँ फुटाइदिएको छ । गाउँमा पानी बाँड्न सरकारले एउटा ठूलो प्लास्टिकको ट्याङ्की राखिदिएको थियो, त्यो पनि फुट्यो । त्यसपछि त पानीको हाहाकार भैहाल्यो । एक–दुई दिन घरका भाँडामा भएका पानीले काम चलायौं । त्यसपछि भूकम्पअघि घरबाहिर जम्मा गरिएको फोहोर पानी पिउनुपर्यो । हामीसँग अर्को कुनै विकल्प थिएन । एक दिन एउटा राहत टोली चाउचाउ र चामल बोकेर आयो । हामी खेती–किसान गर्ने मान्छेलाई चामल किन चाहियो, चाउचाउ पनि आवश्यक थिएन । हामीलाई त पानी चाहिएको थियो । राहतका नाममा अहिले यस्तै नचाहिने कुरामा खर्च भएजस्तो लागेको छ । हाम्रो पानी सकिएको तीन दिनपछि तपाईंहरू आउनुभएको छ । आशा छ, हामीले पानी पिउन पाउनेछौं ।
पानी खान पाएपछि हाम्रो चिन्ता कसरी घर बनाउने भन्ने नै हो । खेती–किसानी गर्ने भएकाले हामीसँग घर बनाउने पैसा छैन । सहरमा भाडा लगाएर पैसा कमाउने उद्देश्यले धेरैले कमजोर घर बनाए । अहिले ती घर भत्किएर धेरै मानिस मरे । त्यस्ता मानिसलाई सरकारले सुविधा दिनुहुँदैन । हामी र उनीहरूमा फरक छ । उनीहरूले पैसा कमाउन घर बनाएका थिए । हामी त १० लाख रुपैयाँ पाए राम्रो घर बनाउँछौं । त्यति भए हामी सरकारको जय गान गाउँछौं । अहिले हामी छौं भनेर धेरै मान्छे आउँछन्, कुरा सुन्छन् र जान्छन् । कोही चिउरा, कोही चाउचाउ दिन्छन् । यो चाउचाउ बाँडेर पैसा खर्च गर्नुभन्दा आवश्यकताअनुसार खर्च गरे हाम्रो घर बन्थ्यो कि ?