भूकम्प गएलगत्तै मिस नेपालमा प्रतिस्पर्धा गरेर उपाधि हासिल गरेका दुई सुन्दरी शुभेच्छा खड्का र नगमा श्रेष्ठ सिन्धुपाल्चोक पुगे । प्रारम्भमा राहत लिएर गएका उनीहरू भूकम्प भोगेका कलिला बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न अग्रसर भए । शुभेच्छा र नगमाका अनुसार कलिला मस्तिष्कलाई एउटै स्थानमा भेला गरेर शैक्षिक वातावरण प्रदान गर्दा उनीहरूको त्रास ‘डाइभर्ट’ भएको महसुस गर्यौं ।
झापाको कन्काई नगरपालिकाका युवाहरू राहत र उद्धारका निम्ति दोलखाका विभिन्न ग्रामीण क्षेत्रमा पुगे । भूकम्प गएको एक साता नबित्दै २ ट्रक सामग्रीसहित दोलखा पुगेका उनीहरू आफ्नै प्रयासमा पीडित बस्ती खोज्दै थिए । यस्तै सिक्किम नाम्चीको एक परिवारका सम्पूर्ण सदस्य सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरण गर्न भौतिक सामग्रीसहित आइपुगे । नाम्चीका अमर श्रेष्ठका अनुसार सिन्धुपाल्चोकका केही मजदुर नाम्चीमा कार्यरत थिए, उनीहरूले आफ्नो घर भूकम्पले क्षतविक्षत बनाएको र मानवीय क्षति पनि भएको बताएपछि पीडा महसुस गरेर एउटै परिवारका सदस्यबाट अर्थ संकलन गरेर सहयोगका लागि उक्त टिम नेपाल आएको थियो ।
गायिका एवं सञ्चारकर्मी कोमल वली, गायिका रेखा शाहका साथै अन्य केही कलाकारको टिम सरसफाइका निम्ति क्याम्पेनिङमा जुटेको छ । कलाकारहरूको यो टिमले भक्तपुर, काठमाडौं, ललितपुर, नुवाकोट आदि क्षेत्रमा प्रचार गरिरहेको छ । यस्तै बाग्मती सफाइ अभियानको नेतृत्व गरेका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल पनि भूकम्पग्रस्त क्षेत्रको सरसफाइमा सक्रिय छन् । भूकम्पको समयमा अमेरिकामा रहेका हास्यकलाकार सीताराम कट्टेल यतिबेला भूकम्पबाट घर गुमाएका बस्तीहरूमा शौचालय निर्माणको अभियानमा जुटेका छन् ।
यतिबेला महाभूकम्पपछिको समाजलाई नियमित जीवनशैलीमा फर्काउन सयौं सह्दयी मन सक्रिय छन् । उद्योगी–व्यवसायी, कलाकार, बैंकर्स, समाजसेवी, युवा, राजनैतिक कार्यकर्ता, पेसागत व्यवसायी, सञ्चारकर्मी दिनरात नभनी अथक मेहनतका साथ भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा जुटेका छन् । यसमा विदेशी हातहरू पनि उत्तिकै उदाहरणीय रूपमा प्रस्तुत भएका छन् । अचानक नेपालीहरूले बेहोर्नुपरेको प्राकृतिक विपत्तिलाई विश्वले आफ्नो पीडा मानेको छ । विश्वभर रहेका नेपालीहरूले त अझ आक्रामक ढंगले सहयोग कार्यक्रमहरू संचालन गरिरहेका छन् ।
भूकम्पका कारण पहिरो तथा भत्किएका घरहरूले अवरुद्ध गरेको अरनिको राजमार्ग खुलाउन चिनियाँ सेनाले गरेको प्रयास पनि उत्तिकै अनुकरणीय मानियो । राजमार्ग खुलाउन डोजर, स्काभेटर, बेल्चा र सावेल बोकेर आएका चिनियाँ सेनाले लिपिङदेखि बलेफीसम्मको सडकका भग्नावशेष हटाएको थियो । उनीहरूले भूकम्पका कारण मरेर पुरिएका पशुपन्छीको समेत व्यवस्थापन गरेका थिए ।
भूकम्पपीडितहरूका लागि संस्थागत तवरमा अहिलेसम्मकै ठुलो सहयोग रकम नेपाल टेलिकमले घोषणा गरेको छ । टेलिकमले सवा अर्ब अर्थात १ अर्ब २७ करोड सहयोग गर्ने बताएको छ, जसमध्ये तत्काल २५ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । टेलिकममा कार्यरत कर्मचारीहरूको तलबबाट २ करोड ७५ हजार ४ सय ७४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको छ । टेलिकमले तीन बर्षभित्रमा ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरूमध्ये प्राथमिकताका आधारमा काठमाडौंको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौंको स्वयम्भुनाथ, ललितपुर र भक्तपुरको दरवार स्क्वायर तथा भूकम्पबाट अति प्रभावित क्षेत्रका सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि १ अर्ब खर्च गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले पनि करिब ४० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । परिषद्का १ हजार ७ सय कर्मचारीको तलब कट्टा गरी उक्त रकम जुटाइएको परिषदका सदस्य–सचिव युवराज लामाले बताएका छन् ।
गायक मिलन लामाको नाम ‘त्रिपाल लामा’ मा परिणत भएको छ । घर भत्किएर शरणार्थी जीवनमा रहेका ग्रामीण बस्तीमा त्रिपालसहितको टेन्ट बनाउन सक्रिय मिलनले सहर र गाउँका घर–घर डुलेर त्रिपाल संकलन गरी पीडितहरूलाई वितरण गरिहेका छन् । यस्तै संगीतकार अर्जुन पोखरेल एकल प्रयासमै चितवन र गोर्खाका गाउँ–गाउँ पुगेर राहत तथा उद्धारमा सक्रिय छन् ।
नायक एवं चिकित्सक आयुष्मान घिमिरे भूकम्प आएलगत्तै आफ्नो परिवारका ३ जना चिकित्सक भूकम्पका घाइतेहरूको उपचारार्थका लागि यात्रामा निस्किएको बताएका छन् । चिकित्सा क्षेत्रमा संलग्न धेरै युवा घाइतेहरूको उपचारमा सक्रिय छन् । उनीहरूले आफैं औषधि व्यवस्था गरेर उपचार गरिरहेका छन् ।
भूकम्पपीडितको उद्धार, राहत एवं पुनस्र्थापनाका लागि युनिभर्सल पिस फेडरेसन र विश्व शान्ति तथा एकीकृत परिवार संघका सहसंस्थापक डा. हाक जा हान मुनले १० करोड सहयोग गरेका छन् । विभिन्न सहयोगी मनकै कारण प्रधानमन्त्री राहत कोषमा करिब २ अर्ब रुपैयाँ जम्मा भएको छ, जसलाई सरकारले राहत तथा पुनस्र्थापनामा खर्च गर्दैछ ।
भूकम्पपीडितलाई सबैले आ–आफ्नै तवरले सहयोग गरेका छन् । कोही उद्धार कार्यमा संलग्न भएर, कोही राहत सामग्री जुटाएर त कोही आफ्नै खर्चमा राहत बाँडेर पीडितको पीडामा मल्हम लगाउने प्रयास गरिरहेका छन् । केहीले राहतस्वरूप विभिन्न खालका प्रतिबद्धताहरू जाहेर गरेका छन् । पीडितले त्रिपालमुनि नै भए पनि चाउचाउ र चिउरा भए पनि ओत लाग्ने छाना र भोक मेट्ने गास पाएका छन् । अहिलेको समयमा वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीले भोजको रकम भूकम्पपीडितको राहतका निम्ति खर्चिएका छन् । भद्रगोल हास्यश्रृंखलामा ‘सिते बा’ को भूमिकामा अभिनय गर्ने मधुसूदन पाठकले विवाहको खर्च राहतका निम्ति हस्तान्तरण गरे । भरतपुरका डा. विपिन खनियाँले आफ्नो विवाह भोजका लागि भनी छुट्याएको १ लाख ११ हजार १ सय १ भूकम्पपीडितको सहयोगार्थ नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका छन् ।
भूकम्प गएको केही दिनमै प्रधानमन्त्री सुशील कोइरालालाई भेटी खेतान ग्रुपले १० करोडको चेक हस्तान्तरण गरेका थियो । ठूला व्यवसायिक संस्था मात्र होइन, व्यक्तिगत रूपमा राहत वितरण गर्नेहरूको संख्या उत्तिकै छ । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले उत्तरी मकवानपुरका कुलेखानी, चित्लाङ, टिस्टुङ, बज्रवाराही, दामन, पालुङ आसपासका १७ गाविसमा करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् ।
प्रधानमन्त्री दैवी उद्धार कोषमार्फत भूकम्पपीडितलाई सहयोग गर्नेहरू पनि कम छैन । काठमाडौं ठमेलका तामदिन दोर्जे तुलाधर एक्लैले ५० लाख रुपैयाँ सहयोग गरे । यस्तै काठमाडौं लाजिम्पाटका टासी छेतेनले २० लाख रुपैयाँ सहयोग गरेका छन् । रामेछापका किशोरकुमार सुनुवारले १ लाख रुपैयाँ सहयोग गरेका छन् भने जेएमइ रेमिटले ८ लाख १४ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै सशस्त्र प्रहरीले ६ करोड ३४ लाख २५ हजार, एनआइडिसी डेभ्लपमेन्ट बैंकले ५१ लाख, भूपालमानसिंह कार्की परिषदले १० लाख तथा प्रहरी अधिकृत र जवानहरूबाट १० करोड १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।
भूकम्पपीडितको सहयोगार्थ ग्लोबल आइएमई र रेमिट्यान्स आइएमईले २ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ, जसमध्येको ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको तथा बाँकी रकम आफैंले राहत र पुनस्र्थापनामा खर्च गरिने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । त्यस्तै एनसीसी बैंकले ८३ लाख, एभरेस्ट बैंकले १ करोड तथा एसियन लाइफ इन्सुरेन्सले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ भने सिद्धार्थ इन्सुरेन्सले २ लाख २५ हजार सहयोग गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले प्रधानमन्त्री दैवीकोषमा जम्मा हुने गरी १६ लाख २५ हजार रुपैयाँ प्रदान गरेको छ । सबै ‘क’ श्रेणीका बैंकले गरेर १४ करोड सहयोगको घोषणा गरेका छन् । भूकम्पपीडितलाई राहतस्वरूप विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले गर्ने सहयोग रकम थप हँुदै जाने बताइएको छ ।
त्यस्तै महावीर जैन सेवा केन्द्रद्वारा प्रेरित वर्धमान संस्कार धाम मुम्बईको सहयोगी संस्था सहस्त्रफणा पाश्र्वनाथ ट्रस्ट, जायन्टस ग्रुप अफ चौपाटी मुम्बईबाट नेपालको महाविनाशकारी भूकम्पग्रस्त पीडितका लागि केन्द्रमार्फत राहत वितरण भैरहेको छ । संस्थाले ६ करोड रुपैयाँसम्मको बजेट तय गरी तीन महिनासम्म राहत बाँड्ने लक्ष्य लिएको छ जसमा यसले पुनर्निर्माण कार्यक्रम पनि समावेश छ ।
नेपालका भूकम्पपीडितलाई विदेशी हातहरूबाट पनि थुप्रै सहयोग आइरहेको छ, जसमध्ये पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले उल्लेखनिय सहयोग गरेका छन् । रोनाल्डो विश्वकै सबैभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका खेलाडी हुन् । त्यस्तै साउदी अरबका राजकुमार तलाल वि अब्दुल अजिज्ले १ करोड ३१ लाख ४९ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । भारतकी प्रसिद्ध माता साध्वी ऋतम्भराले नेपाल आएर काभ्रे, सिन्धुपाल्चोकका पीडितलाई राहत वितरण गरेकी थिइन् । माता ऋतम्भराले पुनर्बासका निम्ति रकम छुट्याएको बताउँदै राहतका लागि नै करोड रुपैयाँभन्दा बढिको सहयोग जुटाएको बताएकी छिन् ।
बेलायती नायिका तथा मोडल जोहाना लुम्लेले पनि भूकम्पपीडित नेपालीहरूका लागि राहत जुटाएकी छिन् । पछिल्लो जानकारीअनुसार उनको प्रयासबाट ५ अर्व ७ करोडभन्दा बढी रकम संकलन भैसकेको छ । लुम्लेको अभियानलाई बेलायती महारानी एलिजावेथ तथा युवराज चाल्र्सले समेत साथ दिएका छन् । यस्तै फेसन डिजाइनर प्रबल गुरुङले १० करोड रुपैयाँ जुटाएर आफ्नो जन्मभूमिमा नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपालका भूकम्प पीडितहरूका लागि अमेरिकाले २ अर्ब ६० करोड सहयोग गरेको छ । अमेरिकी अन्तराष्ट्रिय गैरसरकारी संस्थामार्फत धेरै रकम खर्च हुने अमेरिकी दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पहिले १० करोड रुपैयाँ मात्र सहयोग गरेको अमेरिकाले पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालमा कार्यरत चाइना गेजुवा ग्रुपले २ लाख अमेरिकन डलर अर्थात प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ प्रदान गरेको छ ।
भारतीय मुलका बेलायती धनाड्य श्रीप्रकाश लोहियाले कुनै एउटा गाउँ नै निर्माण गरिदिने घोषणा गरेका छन् । कुनै समय नेपालमा बसेर व्यवसाय गरेकाले नेपालप्रतिको आत्मियता रहेको बताउँदै त्यसका निम्ति नेपाल सरकारको रेस्पोन्सको प्रतीक्षामा रहेको लोहियाले उल्लेख गरेका छन् । बेलायतको बिल्डिङ टेक्नोलोजीसम्बन्धी मल्टिनेसनल कम्पनी सिस्मोका प्रबन्ध निर्देशक मुकेश कुमार सेहगलले पनि लन्डनस्थित नेपाली दूतावासमा पुगेर एक हजार घर बनाइदिने प्रस्ताव पेस गरेका छन् । चिनियाँ अर्बपति व्यवसायी लिका सिङले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड ७ लाख रुपैयाँ जम्मा गरेका छन् । फोब्र्सले प्रकाशित गर्ने विश्व अर्बपतिको सूचीमा लि १७ औं स्थानमा छन् । लि र उनको परिवारको सुरक्षामा खटिएका अंगरक्षक अधिकांश नेपाली छन् । फोब्र्सको सूचीमा रहेका एकमात्र नेपाली अर्बपति विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले १० हजार अस्थायी घर बनाउने घोषणा गरेको छ । उनको समुहले २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । सामाजिक सञ्जाल फेसबुकले भूकम्पपीडितका लागि २ दिन अभियान चलाएर १ अर्ब रुपैयाँ संकलन गरेको छ भने त फेसबुकका संस्थापक मार्क जकरबर्ग स्वंयले २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
महाविपत्तिलाई सहयोग गर्नेमा गैह्रआवासिय नेपाली नेताहरू पनि अग्रणी छन् । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले फूलकुमारी महतो ट्रष्टमार्फत १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले २ करोड तथा उपाध्यक्ष भवन भट्टले १ करोड रुपैयाँ उद्धार र राहतमा सहयोग गर्ने घोषणा गरेका छन् । यसबाहेक एनआरएनले १० करोड रुपैयाँ राहत संकलन गरेर सहयोग गर्ने बताएको छ । जापान बस्दै आएका काभ्रेका भुवन अधिकारीले ४० लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै व्यवसायी तोयानाथ पोखरेलले २४ लाख ४० हजार सहयोग गरेका छन् । एनआरएनले सबै रकम आफैंले खर्च गर्ने बताएको छ ।
सहयोगी र मनकारी हजारौं मनहरू यतिबेला महाभूकम्पको शिकार भएका नेपालीहरूको राहत, उद्धार, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग गरिरहेका छन् । स्वस्फूर्त भावनाले रकम संकलन गरेर नेपाल सरकार तथा विभिन्न संघसंस्था एवं आफ्नै पहलमा यस्तो सहयोग जुटाइएको हो । नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी भावना घिमिरेले भूकम्पपीडितको सहयोगार्थ आफ्नो ३ महिनाको तलब बुझाएकी छिन् । यसरी व्यक्तिगत पहलमा सहयोग गर्नेहरूको संख्या पनि उल्लेख्य छ ।
विनाशकारी भूकम्पबाट पीडितहरूलाई राहत प्रदान गर्न सरकारले पनि विभिन्न तयारी गरेको छ । तत्कालिन राहतका साथै भौतिक निर्माणका लागि सरकारले विशेष संकल्प लिएको छ । मृतक परिवारलाई प्रतिमृतक ४० हजार किरिया खर्च र तत्काललाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । त्यस्तै आफ्नो घर मर्मत गरी बस्न चाहनेका लागि प्रति परिवार २५ हजार रुपैयाँ र ऋणीको आर्थिक अवस्था अनुसार ५० हजारसम्मको साँवा ब्याज मिनाहा गरिने भएको छ ।
त्यस्तै २ प्रतिशत सहुलियत ब्याजमा उपत्यकाभित्र २५ लाखसम्म तथा उपत्यका बाहिर १५ लाखसम्मको विशेष कर्जा उपलब्ध गराइने भएको छ । घर पूर्ण रूपमा क्षति भएर आफैले बनाउन चाहेको खण्डमा २ लाखसम्म अनुदान दिने व्यवस्था गरिएको छ । भौतिक पुनर्निमाणका लागि २ सय अर्बको राष्ट्रिय पुनर्निर्माण कोषको स्थापना गरिने भएको छ । प्रभावित जिल्लामा जिल्ला दैविप्रकोप समितिको संयोजकको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाई राहत वितरण तथा पुनर्निर्माण गरिने भएको छ । त्यस्तै भूकम्प स्मृति स्तम्भ निर्माण गर्ने पनि सरकारी संकल्प छ । रामदेवको पतञ्जली योगपीठले भूकम्पबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शु:ल्क शिक्षा तथा आश्रयको व्यवस्था गर्ने जनाएको छ ।
कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोष
कान्तिपुर मिडिया ग्रुपद्वारा प्रवद्र्धित कान्तिपुर फाउन्डेसनले भूकम्पपीडितहरूको सहयोगका लागि सञ्चालन गरेको कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोष (कान्तिपुर स्पर्श) मा साप्ताहिकको यो अंक प्रेसमा जाँदासम्म १ करोड ७५ लाख ३६ हजार ४ सय ११ रुपैयाँ संकलन भैसकेको छ र सहयोगको क्रम निरन्तर जारी छ । कान्तिपुर फाउन्डेसनको यो अभियानमा विभिन्न संघसंस्था तथा नागरिकहरूले सहयोग गरिरहेका छन् । कान्तिपुर फाउन्डेसन र सेन्चुरी बैंकले १०–१० लाख रुपैयाँ जुटाएर सुरु भएको सहयोग कोषका लागि पिइए एसोसिएसनले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, सर्वोत्तम सिमेन्टले ११ लाख रुपैयाँ, काठमाडौं फन भ्यालीले १० लाख रुपैयाँ र निस्ट फाउन्डेसनले १० लाख रुपैयाँ जुटाएर यो अभियानका लागि साझेदारी गरिरहेका छन् । १० लाख रुपैया वा त्योभन्दा बढी सहयोग गर्ने व्यक्ति वा संस्थालाई यो अभियानमा साझेदारका रूपमा संलग्न गराउने नीति लिइएको छ ।
कान्तिपुर पब्लिकेसन्स प्रा.लि.का एजिएम महेश स्वार भन्छन्— कान्तिपुर मिडिया ग्रुपले सुरु गरेको यो अभियानलाई नागरिकहरूको स्वस्फूर्त सहयोग देखिएको छ । सानोभन्दा सानो रकम पनि जम्मा गर्न मिल्नु यो कोषको सबल पक्ष हो । यो कोषमा जम्मा भएको रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार राहत कोषमा जानेछ । सहयोग कोषमा रकम सहयोग गर्ने दाताहरूको नाम कान्तिपुर पब्लिकेशन्सका पत्रिकाहरूमा प्रकाशन तथा कान्तिपुर टेलिभिजनमा स्क्रलिङ भैरहेको छ भने रेडियो कान्तिपुरबाट समेत दाताहरूको नाम वाचन भैरहेको छ । कोषलाई नेपालबाहिर रहेका नेपाली तथा विदेशीहरूले समेत सहयोग गरिरहेका छन् । स–साना सहयोगी हातलाई एकजुट गर्दै बलियो आर्थिक कोष खडा गर्ने लक्ष्यअनुरुप कान्तिपुर फाउन्डेसनले विपत्तिको समयमा यो कोष सञ्चालनमा ल्याएको हो ।
पटक–पटकको भूकम्पका कारण पीडित नेपाली नागरिकहरूलाई मल्हम लगाउन नेपाली र विदेशी मनहरू निरन्तर सहयोगमा जुटिरहेका छन् । मोरङ जिल्ला प्रशासनमार्फत स्थानीय राजनैतिक दल, विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी र कर्मचारीका तर्फबाट संकलन गरिएको ९३ लाख रुपैयाा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको छ । यस्तै इलाम जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट भुकम्पपिडितका लागि डेढ करोड रुपैयाँभन्दा बढी राहत संकलन भएको छ । उक्त रकम पनि प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।
सल्यान जिल्लाले भूकम्पपीडितका लागि ७५ लाख रुपैयाा संकलन गरेको छ । निजामती कर्मचारी, शिक्षक, दैवी प्रकोप उद्धार समितिको अभियान र कैदी बन्दीबाट उक्त रकम संकलन गरिएको हो । उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भैसकेको छ । सूर्य नेपालले १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । यसअतिरिक्त ५० लाख रुपैयाँ बराबरको टेन्ट र खाद्यान्न लगायतका सामग्री प्रभावित जिल्लामा वितरण गरिएको सूर्य नेपालले जनाएको छ ।
हुन्डाई मोटर कम्पनीले महाभूकम्पबाट पीडितहरूका लागि ३ करोड रुपैयाँ सहयोग नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ भने रुसलान भोड्काले १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको छ । बिमा समितिले प्रधानमन्त्री राहत कोषमा १ करोड ४ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको छ भने राष्ट्रिय बिमा संस्थानले १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताएको छ । यस अतिरिक्त बिमा संस्थानले भूकम्पपीडित जिल्लाहरूमा १५ लाख बराबरको खाद्यान्न वितरण गरेको जनाएको छ ।
विश्वप्रसिद्ध अभिनेता ज्याकी चानले पनि १ करोड रुपैयाँ सहयोग गरेका छन् । चानले सिंगापुरमा हालै आयोजित एक च्यारिटी कार्यक्रममार्फत उक्त सहयोग गरेका हुन् । भूकम्पपीडितहरूलाई सहयोग गर्ने उद्देश्यले सुवास ग्रुप अफ कम्पनीले रसुवामा १० लाख रुपैयाँबराबरको औषधी वितरण गरेको बताएको छ । उक्त ग्रुपका लागि नायक आर्यन सिग्देलको नेतृत्वमा सहयोग अभियान संचालन गरिएको छ ।
अमेरिकाको डाइरेक्ट रिलिफ नामक ह्युमेनिटेरियन मेडिकल एडले नेपालका लागि उपलब्ध गराएको करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको औषधी एवं उपचार सामग्री नेपालका तर्फबाट नायक राजेश हमालले ग्रहण गरेका छन् । यी सबै औषधी एवं उपचार सामग्री स्वास्थ्य मन्त्रालयमार्फत वितरण हुनेछ । भूकम्पपीडितका लागि उदाहरणीय सहयोग गर्ने युवाहरूको संस्था हो, नेपाल युवा संस्था संजाल (आयोन) । यो संस्थाअन्तर्गत ९२ वटा युवा संस्थाले भूकम्पपीडितलाई सहयोग गरेका छन् । यो संस्थामार्फत सयौंले १४ घन्टाभन्दा बढी समय काम गरिरहेका छन् ।