टीका भण्डारी, संगीतकार
गोरखाको कार्यक्रमबाट काठमाडौं आइपुगेको थिएँ, आधा घन्टाभित्रै भूकम्प आयो । हामी घरको पाँचौं तलामा थियौं । सामानहरू झर्याम–झुरुम खसे । ढोकाको आडमा भगवानको नाम जप्दै बसें । एकचरणको भूकम्प सकिएलगत्तै हामी घर बाहिर निस्कियौं । छोरीको हातमा सानो चोट लागेको थियो । हामी परिवारका सदस्यहरू त्यसपछिको भूकम्प आउँदा एक–अर्काको हात समातेर बसिरह्यौं । त्यतिबेला अब बाँचिन्न जस्तो लागेको थियो ।
राधिका हमाल, गायिका
भूकम्प आउँदा म महांकाल मन्दिरभित्र थिएँ । यो मन्दिर कतापट्टि ढल्छ होला भनेर सोच्न थालें । धन्न मन्दिर ढलेन र बाहिर निस्कन सफल भए ।
अन्जली लामा, मोडल
म बसिरहेको घर भत्कने निश्चित छ र म च्यापिएर मर्छु भन्ने लाग्यो । मैले आफ्नो मृत्युलाई यति नजिकबाट देखेको यो नै पहिलो घटना थियो ।
टेकेन्द्र शाह, भिज्युअल एडिटर
मन र मस्तिष्क दुवै शून्यजस्तो भएको थियो तर त्यही बेला सोचेको थिएँ— म बाँचें भने कसैलाई बचाउन सक्रिय रहनेछु ।
ऋचा शर्मा, नायिका
केही समयअघि चलचित्र पिकेमा डान्सिङ कार देखेको थिएँ, भूकम्प आएपछि घर हेर्दा त्यतिबेला डान्सिङ हाउस देखें । घर नाचेको नाच्यै थियो त्यतिबेला पिकेको डान्सिङ कारको सम्झना आयो ।
दीपकराज गिरी, हास्यकलाकार
ला...... यो भूकम्पले गर्दा कति जनाको मृत्यु भयो होला र कति जना अपांग भए होलान भनेर चिन्ता लाग्यो ।
रोमा न्यौपाने, नृत्यांगना
दिमाग नै शून्य भयो अब के गर्ने भन्ने सोच्नै सकिएन, तर छोरी पनि सँगै भएकाले उसको सुरक्षाका लागि के गर्ने भन्ने चिन्ताले सतायो ।
प्रदीपकुमार उदय, निर्माता
यो भूकम्पमा परिवारसँगै मरिने भइयो भन्ने लाग्यो । यदि बाचियो भने परिवारलाई सुरक्षित स्थानमा लिएर जान्छु भन्ने पनि लाग्यो ।
रिमा विश्वकर्मा, नायिका
भुइँचालो आएको समयमा म घर बाहिर थिए । नबाचिने भइयो जस्तो लागेको थियो । घरमा भएका आमा र श्रीमतीलाई सम्झिएँ । २ घन्टापछि घर पुगें । त्यसबीच मेरो परिवारलाई सकुशल देख्न पाए हुन्थ्यो भन्ने प्रार्थना गरिरहें ।
राजेश घतानी, चलचित्रकर्मी
जिन्दगी झन्डवा फिर भी घमन्डवा, यही कुरा सम्झिएँ मैले । जहिल्यै पनि जिन्दगीलाई गीतासारमा जिउनुपर्छ भन्ने मेरो मान्यतालाई महाभूकम्पले सही प्रमाणित गरिदियो ।
दीपाश्री निरौला, हास्यकलाकार
६ तलामाथि भएको मैले जीवन–मरणको दोसाँधमा ९० साल दोहोरिएको मानें । अब के भयो होला काठमाडौं र मेरो परिवारको अवस्था भन्ने मात्र सोचिरहे ।
अर्जुन पोखरेल, संगीतकार
भूकम्प आएपछि सबैजना घर छोडेर बाहिरिएका थिए, जिन्दगीभरको कमाईको घर के भयो भन्ने भैरहेको थियो, तर मेरो मन–मस्तिष्कमा चाहिँ छोरी विदेशमा भएकाले आफूलाई केही भैहाले पनि छोरी सुरक्षित छ भन्ने कुरा आयो ।
प्रभात रिमाल, सञ्चारकर्मी
भूकम्प आउन्जेल त दिमागले काम गरेको थिएन्, त्यसपछि भगवानलाई सम्झेर भने– धन्न बाँचियो, अब घर बाहिर जानुपर्छ । त्यसपछि सबै आफन्तलाई सम्झिए ।
वर्षा शिवाकोटी, नायिका
प्रिय भगवान कृपया मेरो नेपाललाई बचाइदेऊ, भन्ने मात्र आइरहयो ।
सुमित मैनाली, चलचित्रकर्मी
अब के हुन्छ होला, काठमाडौं नै विलिन हुने भयो, बर्बाद हुने भयो भन्दै भगवान पुकार्दै छोरी समातेर बसें ।
जीपी तिमल्सिना, निर्देशक
मलाई त लाग्यो, अब यो संसार नै ध्वस्त भयो । भूकम्पको त्यो भयावह प्रकृति हेर्दा अब कतै केही बाँकी नरहने रहेछ जस्तो लागेको थियो ।
बद्री पंगेनी, लोकगायक
यो धर्तीमा आज मेरो अन्तिम दिन रहेछ, अब म बाँच्दिनँ, यो घरले थिचेर म मर्छु जस्तो लाग्यो । आँखा चिम्लिए, भगवानलाई सम्झिए, आमालाई सम्झिए । आज पनि त्यो पल सम्भँmदा आङ सिरिङ हुन्छ ।
सुरविना कार्की, नायिका
भूकम्प जाँदा म पोखरामा थिए, त्यतिबेला काठमाडौं र काठमाडौंमा भएका परिवारजनलाई सम्झिए । यो विपतमा परिवार सुरक्षित रह्यो कि रहेन भन्ने चिन्ताले सतायो ।
सुदीप बराल, छायाँकार
हामी सबै घरभित्र थियौं, भुइँचालो आयो भन्ने थाहा पाउनेबित्तिकै कसरी हुन्छ परिवारलाई लिएर बाहिर निस्कन सकूँ भन्ने लाग्यो ।
केकी अधिकारी, नायिका
एकदमै डर लागेको थियो, आफू त बाँचियो घरमा के भयो होला जस्तो लाग्यो, परिवार विशेष गरी आमालाई सम्झिए । तत्कालै फोन गरे, तर लागेन् ।
ज्योति मगर, गायिका
हे ईश्वर, मेरी छोरी दिदीकहाँ गएकी छ, चाडै फर्काइदेऊ, मर्नैपरे छोरा छोरी र मसँगै मरौं भन्ने कुरा मात्र मनमा आइरह्यो ।
बिपना बस्नेत, कलाकार
भूकम्प आउँदा पोखरामा सुटिङमा थिए, त्यतिबेला परिवारको मात्र सम्झना आइरह्यो ।
निर्मल शर्मा गैंडा, कलाकार
मन–मस्तिष्क त पूरै शून्य थियो, हामी सबै बाँच्नुपर्छ भन्ने थियो, मैले परिवारको महत्व त्यतिबेला अझ बढी अनुभूत गरे ।
सन्दीप क्षेत्री, हास्यकलाकार
मलाई त अब मुलुक नै ध्वस्त हुन्छ भन्ने लाग्यो । त्यो पल एकदमै डरलाग्दो र विध्वंसक थियो ।
कोमल वली, गायिका
भूकम्प आउँदा म घरमा थिइनँ, त्यसैले घरमा भएका मेरा मामु र बहिनीलाई सम्झिएँ । उहाँहरूलाई केही त भएन होला नि भन्ने डर लागिरह्यो ।
कविता शर्मा, कलाकार
म र छोरा त्यतिबेला नुवाकोटमा थियौं, त्यसकारण सुरुमै काठमाडौंमा भएको परिवारको सम्झना आयो । कतै केही त भएन भन्ने लाग्यो ।
गजित विष्ट, नायक
भूकम्प जाँदा पोखरामा आयोजित एक तालिममा थिएँ । त्यो भवन भूकम्प प्रतिरोधात्मक हो भन्ने कुरा थाहा थियो । त्यसैले म कत्ति पनि आत्तिइन् । भूकम्प आउँदा म तालिममा सहभागी साथीहरूलाई नआत्तिन र सभाकक्षमै बसिरहन आग्रह गरिरहेको थिए ।
महेश भण्डारी, सञ्चारकर्मी
म घरमा थिए र ममीलाई अँगालो मारेर बच्चालाई जस्तो थमथम्याइरहेको अवस्था थियो । त्यतिबेला अब घर ढल्छ र यही हाम्रो अन्त्य हुन्छ भन्ने लागेको थियो तर मेरो मनको अर्को पाटोले त्यो कुरा स्वीकार गरिरहेको थिएन, बाँच्ने आशा पनि जीवित थियो ।
निशा अधिकारी, नायिका
खाना खाने तयारी गर्दा गर्दै आएको भूकम्पले अब बाँचिन्छ भन्ने लागेको थिएन । भूकम्पको कम्पन अलिक कम भएपछि घरबाहिर रहेको भाइ, श्रीमती र घर परिवारको सम्झना आयो । आफू त बाचियो अरूलाई के भयो होला भन्ने लाग्यो ।
विजय आवाज, सञ्चारकर्मी
भुइँचालो आउँदा म अत्तालिएर भागेछु, अनि एक्कासि घरमै भएकी आमालाई सम्झिए, अनि फेरि भित्र पसेर आमालाई समेत लिएर निस्किए ।
कल्याण घिमिरे, नायक
भूकम्प जाँदा म धनगडीमा भएकाले ठूलो झट्का महसुस भएन तर थाहा पाउनेबित्तिकै बहिनीलाई सम्झिए । उनी कार्यरत दन्त अस्पतालको भवन पुरानो भएकाले उसलाई फोन गरेर सकुशल भएको जानकारी पाएपछि मात्र ढुक्क भए ।
आयुश्मान घिमिरे, नायक
म कालभैरवको भक्त भएकाले कालभैरव भगवान्लाई सबैको रक्षा गर्न प्रार्थना गरें । हामीलाई बचाउनु भएकोमा धन्यवादसमेत व्यक्त गरें ।
शशि खड्का, नायिका
भुकम्पको झट्कापछि मैले मेरो देशको भविश्य सोच्न पुगे । परिवारको चिन्ता त छदैछ, मुलुकको विकास अवरुद्ध हुने भयो भन्ने लाग्यो । धनजनको क्षति र उद्धार कसरी होला भन्ने लाग्यो ।
विश्व गौतम फेसन डिजाइनर