नसोचेको र नभोगेको यो प्राकृतिक विपत्तिलाई धेरै नेपालीले पीडादायी घटनाका रूपमा वर्षौंसम्म सम्झिरहनेछन्, यो विध्वंसकारी घटनालाई एक जुगको बिर्सनलायक एक दिनको रूपमा लिनुबाहेक हामीसँग अरू विकल्प पनि छैन, तैपनि यो महाविपत्तिपछि देखा परेका केही राम्रा संकेतहरूतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
‘महाभूकम्पले धेरैको मन दुखाएको छ, धनजनको क्षति भयो, यस्तो समयमा अब नेपाल बन्छ भनेर सेलिब्रेसन गर्नु, खुसी मनाउनु राम्रो होइन,’ प्राध्यापक डा. अभि सुवेदीले साप्ताहिकसँग भने– ‘तर अहिले सम्भावनाका नयाँ ढोका खुलेका छन्, मलाई त कता–कता अब मुलुक बन्छ भन्ने खुसी लागेको छ । यसलाई अवसरका रूपमा लिएर हामीले पुनर्निर्माणको यात्रामा अग्रसर हुनैपर्छ ।’ डाक्टर सुवेदीका अनुसार महाभूकम्प यस्तो दशगजा हो, जसले एउटा युगको अन्त्य र अर्को सुरु भएको घोषणा गरेको छ ।
महाभूकम्पपछिका दिनहरूमा भय र आतंकले दरिलो डेरा जमाउँदा लाखौं मन अब सबै कुरा सकियो भन्ने गलत निष्कर्ष निकालिरहेका छन्, जुन एकदमै गलत भएको विज्ञहरूको धारणा छ । कठिन दु:ख र संघर्षपछि प्राप्त हुने सुखलाई स्मरण गर्दै अब राम्रा दिनहरूको अपेक्षा राख्नुपर्ने विज्ञहरू बताउँछन् । प्राध्यापक केदारभक्त माथेमाका अनुसार विगतमा हामी इतिहासमा बाँधिएका थियौं, अब आफैं इतिहास रच्ने बेला आएको छ ।’
अब राम्रा दिनहरू आउनेछन्, खुसी र सुखका दिनहरू आउनेछन्, त्यो अरू कसैको निगाहका कारण आउने होइन, हामी आफैंले यो विपत्तिलाई अवसरका रूपमा प्रयोग गर्यौं भने ल्याउन सक्छौं । राम्रो दिनहरू आउँछन् भनेर आशा गरेर मात्र पनि पुग्दैन । यो बेला हरेक क्षेत्रका व्यक्तिले दीपक हुनुपर्छ, स्वामी कमल नयनाचार्य भन्छन्– ‘तर दीपक हुन सजिलो छैन, आफू अन्धकार तथा खरानी भएर पनि अरूलाई उज्यालो प्रदान गर्छ दीपकले । त्यसैले स्वार्थरहित भएर आºना लागि नसोची अरूका निम्ति सोच्ने भावना जगाउन सक्ने हो भने राम्रा एवं सुखका दिनहरू अवश्य आउनेछन् ।’
महाभूकम्पको प्रभाव मान्नुपर्छ, अहिले नेपाली जनता एकजुट भएका छन् । पछिल्लो केही समययता नेपाली समाज एकलकाँटे हुँदै गएकबो थियो । विभिन्न कारणले नेपाली नागरिकहरूबीच निकटता कम हुँदै गएको थियो । त्यसलाई महाभूकम्पले मेटिदिएको छ । यसलाई विज्ञहरूले सकारात्मक पक्ष मानेका छन् । मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यका अनुसार मानव सेवा नै नाथको सेवा हो भन्ने भावनाको जागरण भएको छ । एकीकृत भएको यो मानव साङ्लोले मुलुकको विकासका निम्ति नयाँ बाटो पहिल्याउनेछ ।
स्वामी कमलनयनाचार्य नेपालमा भूकम्प आउनुलाई सृष्टिको नियम मान्छन् । हरेक १ सय, २ सय, ३ सय, ५ सय र २ हजार वर्षमा प्रकृतिमा विभिन्न प्रकारका विपत्तिहरू आउँछन्, जसले युग परिवर्तनतर्फ संकेत गरेका हुन्छन् । अझ हरेक ५ हजार वर्षमा त सम्पूर्ण सृष्टिले नै विध्वंसको सामना गर्नुपर्ने आध्यात्मिक मान्यता छ । स्वामी कमलनयनाचार्यका अनुसार सूर्यको ताप र वायुको बहाव तीव्र गतिमा बढ्ने, मौसम पृथक् हुने, भूकम्प, बाढीपहिरो र ज्वालामुखीका घटनाहरूपश्चात् समय परिवर्तन भएर जान्छ । अहिलेको महाभूकम्पले सम्पन्नता र विपन्नताबीचको खाडल, सरकार र जनताबीच बढ्दै गएको दूरी तथा असहयोगी भावनाप्रति चेतावनी प्रकट गरेको छ । महाभूकम्पपछि १० करोडको महलमा बस्नेहरू १० हजारको छाप्रोमा बस्नेहरूसँग हातेमालो गर्न पुगेका छन् । सबै एकै वर्गका नागरिक भएका छन् । विगतमा देखिएको मानवतामा आएको ह्रास र घमण्डलाई यसले हटाइदिएको छ । लोपोन्मुख हुन पुगेको दया, धर्म र करुणाको भावना जागेको छ, यो सबैभन्दा सकारात्मक पक्ष हो ।
‘सुखको बिहानीका लागि दु:खको अँध्यारो रातको अस्तित्व स्वीकार्नुपर्छ,’ स्वामी कमलनयनाचार्यले साप्ताहिकसँग भने– ‘निस्पट्ट अँध्यारोलाई आत्मसात् गरिसकेपछि अब हामी सुनौलो बिहानीतर्फ अग्रसर छौं, अब विषमतालाई चिर्दै पुनर्निर्माणमा अग्रसर हुनुपर्छ । सहयोग गर्ने हातहरू बढेका छन्, अतिथि देवो भवको भावनालाई ग्रहण गर्दै ती सहयोगी हातहरूलाई अनुशासित भएर विकासमा अग्रसर गराउनुपर्छ ।’ धैर्य र परोपकारको भावले मात्र समृद्धिलाई पछ्याउन सकिन्छ । राम्रो दिन अवश्य आउँछ, त्यसका लागि हामी आत्मअनुशासित भएर अघि बढ्नुपर्छ, स्वामी कमलनयनाचार्यले थपे– ‘दु:खपछि सुख निश्चित छ, एकदमै दु:ख गरेको मानिस, भोक प्यासमा संघर्ष गरेको मानिसले केही खाद्यान्न पाउँदा त्यसलाई अमृत समान मान्छ, दु:ख र कष्ट भोगेकाले मात्र सुखलाई सही अर्थमा बुझ्छ, समृद्धितर्फ लालायित हामीले गरिबी र पीडाको तल्लो अवस्थालाई भोगेका छौं, त्यसले पाठ सिकाएको छ, त्यसैले अब राम्रा दिनको विकल्प नै छैन ।’
‘विचारको राजनीति नेपालमा धेरै भयो, अब विकासको राजनीतिमा सबै जुट्नुपर्छ, देशले मागेको यही हो,’ डा. योगी विकासानन्द भन्छन्– ‘महाभूकम्प सकियो भनेर हुँदैन, यो क्षेत्रमा कुनै पनि समय भूकम्प फेरि जान सक्छ भन्ने बुझेर मानसिक र भौतिक रूपमा हामी तयार हुन आवश्यक छ ।’
‘यो भूकम्पले पुष्टि गरेको महत्त्वपूर्ण कुरा इन्जिनियरिङका दृष्टिकोणले हामी पूर्णत: असफल रहेछौं भन्ने हो ।’ इन्जिनियर एवं सूचना प्रविधिविज्ञ किशोर पन्थ भन्छन्– ‘चाहे परम्परागत घरको इन्जिनियरिङ होस् वा आधुनिक, हामीले योभन्दा ठूलो भूकम्प पनि सामना गर्नुपर्ने हुनसक्थ्यो, त्यो अवस्थामा हाल चर्किएका संरचना पनि ध्वस्त हुने रहेछन् । त्यसैले इन्जिनियरिङ क्षेत्रका निम्ति नेपालमा आएको विनाशकारी भूकम्प पाठ सिक्ने राम्रो मौका बनेको छ ।’
पन्थका अनुसार नेपाल र नेपालीले आफ्नो अनुहार भूकम्पीय ऐनामा हेर्ने अवसर पाएका छन् तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।
बलियो संरचना बनाउनुपर्छ, पुराना घर ढलेका छन्, जसलाई नयाँ बनाउनुपर्छ । हामीलाई गतिलो झापड चाहिएकै थियो, मानवीय क्षति भएकामा म दु:खी छु तर अहिले सबैले पाठ सिक्नुपर्ने भएको छ । पन्थ थप्छन्– ‘अब देश बनाउन १० वर्ष लाग्ला तर सचेत भएर राम्रो योजनासहित बनाउन सके अहिलेको भन्दा राम्रो बनाउन सकिन्छ । सरकारले नयाँ ढंगले व्यवस्थित बस्ती बसाउन पहल गरे, सहयोग गर्ने हातहरू तयार छन् ।’ डा. योगी विकासानन्दका अनुसार अहिले नेपालीको मन तरल छ, ठीक त्यही बेला हाम्रा लागि संसार सरल छ, यो नै समृद्धिको मूल आधार हुन सक्छ ।
०००
विकासको आधार चेतना हो, महाभूकम्पपछि नेपालीमा सामूहिक चेतना बढेको छ, डा. अभि सुवेदीका अनुसार नेपालीहरू परिश्रमी छन्, भूकम्पका कारण उनीहरूमा चेतना पनि थपिएको छ । ‘इतिहासमा नेपालीहरू संकट बेहोरेपछि अगाडि बढेका उदाहरण छन् । चाहे त्यो स्वतन्त्र राष्ट्र बन्ने अभियान नै किन नहोस्,’ डा. सुवेदी भन्छन्– हिजोसम्म जे र जो अदृश्य थियो आज दृश्यमा छन् । राष्ट्रिय एकताको भावना विकास भएको छ, यो घटनाले धेरै क्षेत्रमा ढोका खोलेको छ ।’ नेपालीले नेपालीलाई सम्मान गर्न थालेका छन्, भूगोलका हिसाबले पनि तराई, पहाड र हिमाल एक भएको छ, यसलाई सुखद् संकेत मान्नुपर्छ ।
‘भूकम्प आउँदा म एकेडेमीमा थिए, हामी सबै अन्यौलमा थियौं,’ डा. सुवेदीले भने– ‘बाहिरिने क्रममा देखियो, कहाँ–कहाँबाट भेला भएका युवाहरू उद्धारमा सक्रिय थिए, घाइतेहरूलाई अस्पताल पुर्याउँदै थिए ।’ अहिले युवाहरू स्वस्फूर्त ढंगले भूकम्पपीडितहरूको राहत र उद्धारमा सक्रिय छन् । कसले के गर्यो भन्दा पनि हामीले के गर्यौं भन्ने भावनाअनुरूप उनीहरू अहोरात्र खटिरहेका छन् । नेपालको सुन्दर भविष्य कोर्न यिनै युवा पर्याप्त भएको डा. सुवेदी बताउँछन् । डा. सुवेदी भन्छन्– भविष्य तिनै युवाहरूको हो, मलाई खुसीका साथ भन्न मन लाग्छ, भोलिका लागि हामीसँग लाखौंको संख्यामा राम्रा मानिसहरू रहेछन्, त्यसैले सही व्यवस्थापन मात्र भैदिए, राम्रा दिनहरू आउनेछन् ।’ प्राकृतिक विपत्तिपछि सूचना तथा सञ्चार प्रविधिको महत्व झल्कियो, त्यसमा पनि युवाहरू प्रविधिमैत्री भएकाले विपद् व्यवस्थापन गर्न थप सहयोग मिल्यो, वरिष्ठ प्रहरी उपरीक्षक एवं सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाका अनुसार यो ठुलो प्रविधिमैत्री संजाललाई विकासको बाटोमा राष्ट्रले अग्रसर गराउनैपर्छ । अब राम्रा दिनहरू आउँछन् भन्ने संकेतलाई युवाहरूको यो सक्रियताले पनि प्रष्ट पार्छ ।
हाम्रो मुलुकले विकासको बाटो पछ्याउन नसक्नुको मुल कारण हो, भ्रष्टाचार । युवादेखि विभिन्न क्षेत्रमा सक्रिय नागरिएक एवं राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासम्मले महाविपत्तिपछि प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा नगर्नुको पछाडि अविश्वास नै मूल कारण थियो । नीति निर्माण तहमा रहेकाहरू नै भ्रष्टाचारी भएकाले किन सहयोग गर्ने भन्ने प्रश्न उठ्यो, जसका कारण आफू पारदर्शी रहने भनेर सहयोगका निम्ति सरकारले याचना नै गर्नुपर्यो । अब समृद्ध नेपाल बनाउन भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्नुपर्ने विज्ञहरू बताउँछन् । महाभूकम्पपछि समृद्धितर्फ लागेका अन्य मुलुकले एकद्वार नीति अवलम्बन गरेर पुनर्निर्माणमा सक्रिय भएकाले अब नेपालले पनि त्यही मोडल अपनाउनुपर्ने देखिन्छ । डा सुवेदी भन्छन्– नेताहरूसँग कुनै उपाय नै छैन, सकारात्मक सोच भएका लाखौं जनता एकजुट भएका छन्, यस्तो अवस्थामा नेताले जनमुखी काम गरेनन् भने उनीहरू सकिने निश्चित छ ।’ डा. सुवेदीका अनुसार नीति निर्माण तह र व्यवस्थापकीय नेतृत्वमा रहेकाहरूले बुझे हुन्छ, यो देशका नागरिक अब सचेत भैसकेका छन् उनीहरूलाई चित्त बुझ्दो नीति तय गरेर विकासको सिद्धान्त अवलम्बन गर्नुपर्छ ।
डा. भोला रिजालका अनुसार संसारमा अचानक आइपर्ने विनाशकारी विपत्तिले चेतनाको सञ्चार गराउँछ । ‘जो मिलेर बस्न जान्छ, त्यसको भविष्य उज्वल हुन्छ, हामी अहिले सबै एकजुट भएका छौं, परेको बेलामा सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।’ डा. रिजाल भन्छन्– ‘इन्डोनेसियादेखि दक्षिण कोरियासम्मले विध्वंसपछि नै काँचुली फेरे, हामीले पनि यो कुरा बुझ्न आवश्यक छ । डा. रिजालका अनुसार मुलुक गरिब होइन मानसिकता मात्रै गरिब हो । उन्नतशील, विवेकशील नेपालीसँग विविधतापूर्ण भौगोलिक संरचना छ । राजनीतिक उथलपुथलमा मात्र सीमित भएकाले देशले विकासको गति लिन सकेको छैन, अब नागरिकहरूको उचित सहभागितामा राम्रो र समृद्ध नेपाल बनाउन सकिन्छ । ‘मैले सुनौलो भविष्य देखेको छु, तर दुर्भाग्य हामी सुनको थालीमा भिक्षा मागिरहेका छौं’ डा रिजालले थपे– ‘इच्छाशक्ति हुने हो भने हामी आफ्नो देश आफैं बनाउन सक्छौं ।’
विकासका लागि के गर्ने ?
भूकम्पले आहत बनेको गुजरातको भुज सहर कसरी पुनर्निर्माण भयो भन्ने उदाहरणबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले भूकम्पका कारण जर्जर बनेको कच्छ क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समग्र गुजरातको विकास अभियानको नेतृत्व गरे, जसलाई अहिले उदाहरणीय गुजरात मोडल भनिन्छ । भूकम्प प्रभावित भुजमा अहिले व्यवस्थित सहर बसेको छ । जहाँ ठूला–ठूला औद्योगिक कलकारखाना निर्माण गरिएका छन्, जसले गर्दा कुनै बेला भूकम्पले त्यो ठाउँलाई ध्वस्त बनाएको थियो भन्ने विश्वास लाग्दैन ।
डा. रिजालका अनुसार सहभागितामूलक विकास कार्यक्रमलाई अब युद्धस्तरमा अगाडि बढाउने सही नेतृत्व हामीलाई चाहिएको छ । डा. बाबुराम भट्टराई र रामचन्द्र पौडेलजस्ता नेताले आफ्नो लेखमा उल्लेख गरेजस्तै समृद्ध नेपाल बनाउनका निम्ति सबै नेता प्रतिबद्धतासहित जुट्नुपर्ने डा. योगी विकासानन्द बताउँछन् । ‘अब हामी दूरदर्शी भएर अगाडि बढ्नुपर्छ,’ डा. रिजाल भन्छन्– ‘उपयोग हुन नसकेका साधन र स्रोतलाई हामीले प्रयोगमा ल्याएर अघि बढ्नुपर्छ । हामी अपार सम्पत्तिको मालिक भएर पनि गरिब छौं तर हामीलाई नै दोहन गरेर कतिपय मुलुक धनी भएका छन् भन्ने बुझ्ने नेतृत्व चाहिएको छ ।’
चिलीको उदाहरण
चिलीमा सन् १९६० मा ९ दशमलव ५ रेक्टरस्केलको महाभूकम्प ९ मिनेटसम्म आयो । त्यसले ६ हजारभन्दा बढी मानिसको ज्यान लियो । लाखौं घरवारविहीन बन्न पुगे । भूकम्पीय दृष्टिकोणले अति प्रभावित क्षेत्र मानिएको चिलीले सन् २०१० मा फेरि ८ दशमलव ८ रेक्टरस्केलको महाभूकम्प भोग्नुपर्यो । सुनामी आयो, तर करिब ५ सयको मात्र ज्यान गयो । २०७० चैत १९ मा चिलीले फेरि ८ दशमलव २ रेक्टरस्केलको सुनामीसहितको भूकम्पको सामना गर्यो, जसमा ५ जनाले मात्र ज्यान गुमाए । तीमध्ये पनि ४ जनाको ह्दयाघातका कारण मृत्यु भएको थियो । त्यसबेला त्यहाँ ८ दशमलव २ रेक्टरस्केलको भूकम्प आएको पर्सिपल्ट ७ दशमलव ७ रेक्टरस्केलको पराकम्पन पनि आएको थियो । चिलीको यो विवरणले के देखाउँछ भने, महाभूकम्पको पटक–पटकको आक्रमणलाई चिलीका जनताले आफ्नो अनुकूल बनाएका छन् । महाभूकम्पपछि सचेत बनेर उनीहरूले तय गरेको यात्राले अहिले जस्तोसुकै भूकम्प आउँदा पनि उनीहरू त्यसलाई सहज रूपमा सामना गर्न सक्ने भएका छन् । डा. योगी विकासानन्द भन्छन्– ‘हामीले चिलीको उदाहरणलाई बुझे मात्र पनि पुग्छ । नेपालमा अब महाभूकम्प आउँदैन भन्ने छैन, भूकम्पीय दृष्टिकोणले हामी अति प्रभावित क्षेत्रमै छौं, तर चिलीलाई हेर्दा भूकम्पले मानिस मर्ने होइन रहेछ भन्ने बुझ्न सकिन्छ, मर्ने भनेको हाम्रै हेलचेक्र्याइँका कारण हो ।’
डा. अभि सुवेदीका अनुसार अहिलेको भूकम्पले सबैमा चेतना जागृत गराएको छ । चिली मात्र होइन, महाभूकम्पकै कारण क्षतविक्षत बनेका जापान, इन्डोनेसिया, गुजरातले त्यसपछि कसरी समृद्धिको बाटो समाते भन्ने उदाहरणको थुप्रैले चर्चा गरिरहेका छन् । कुशल व्यवस्थापन गर्न नसक्दा महाभूकम्पकै कारण हाइटी झनै गरिबीतर्फ धकेलिएको उदाहरण पनि हाम्रा सामु छ । त्यसैले अब नेपालले जापान, चिली, इन्डोनेसिया, गुजरातझैं समृद्धिको बाटो रोज्ने कि हाइटीको दुर्दशा भोग्ने, निर्णय लिने बेला आएको छ ।
अब सम्भव छ, स्मार्ट सिटी र इको भिलेज
डा. योगी विकासानन्द ध्वस्त काठमाडौं, भक्तपुर, ललितपुर र अन्य सहरहरूलाई स्मार्ट सिटीमा रूपान्तरण गर्ने सुअवसर आएको बताउँछन् । नयाँ एवं कडा आवास नीति बनाएर मात्र पनि पुग्दैन, समृद्धिलाई चुम्न स्मार्ट सिटीको अवधारणामा जानैपर्छ । अब बन्ने नेपालको खाका कोर्दा खुला ह्दय बनाएर सहयोग गर्न चाहने विदेशी मित्रहरूलाई ठोस योजनासहितको कार्यसम्पादनका निम्ति अपिल गरिनुपर्छ । पछिल्लो समयमा चीन, जापान, बेलायत, भारतजस्ता मुलुक नेपालले दिने सही योजनामा लगानी गर्न इच्छुक भएको बताइरहेकै छन् । ‘यो सहर बनाउने सुवर्ण अवसर नै हो,’ डा. योगी विकासानन्द भन्छन्– ‘जो कोही नेपाली अहिले सरकारको आकर्षक योजना मान्न तयार हुनेछन् । यस्तै ग्रामीण क्षेत्रलाई इको भिलेज बनाउने र व्यवस्थित बसोबासमा लैजाने योजना पनि साकार गर्न सकिन्छ ।’ स्वामी कमलनयनाचार्यका अनुसार यो समय आफ्ना असल विदेशी मित्र को रहेछन् भन्ने चिन्ने अवसर पनि हो । त्यसकारण सचेत भएर सहयोगका निम्ति अपिल गर्ने हो, प्रस्ट योजना दिने हो ।
ग्रामीण क्षेत्रमा व्यवस्थित बसोबास गराउने उद्देश्यसहित निजी क्षेत्रबाट हजारौं घर निर्माण गर्ने आकर्षक प्रस्ताव आएका छन् । तिनलाई पनि सही आवास र बस्ती नीति बनाएर लागू गर्न अब सरकार अग्रसर हुनैपर्छ । भुइँचालो समस्या होइन, समस्या डर र घरमा छ, डा. योगी विकासानन्दका अनुसार सही स्थानमा बनेका बलियो संरचना नै भूकम्प, पहिरो र बाढीबाट बचाउने आधार हुन् ।